पहिलोपटक राष्ट्रिय टोलीलाई प्रशिक्षण दिँदै एरेना

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण
  • पछिल्लोपटक लाओसको यू–२३ टोली हेरेका इटालियन गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले इटालीका गुग्लिएल्मो एरेनालाई राष्ट्रिय फुटबल पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । प्रो लाइसेन्स प्राप्त एरेनाले प्रशिक्षण करिअरमै पहिलोपटक राष्ट्रिय फुटबल टोली हेर्ने जिम्मेवारी पाएका हुन् । यसअघि उनले लाओसको यू–२३ टोली हेरेका थिए । लाओसको उमेर समूहलाई प्रशिक्षण दिलाएको नै एरेनाको माथिल्लो लेभलको टोली हो ।

प्रशिक्षक एरेनासँग चार महादेशका विभिन्न क्लबमा प्रशिक्षण दिएको अनुभव छ । एरेनाले सन् २००३ देखि शीर्ष डिजिभन क्लबहरूलाई मात्र प्रशिक्षण गर्दै आइरहेका छन् । फिफा र एएफसीले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बनाउन प्रो लाइसेन्स अनिवार्य बनाएको छ । 

यही आधारमा एन्फाले प्रो लाइसेन्सधारी एरेनालाई नेपालको टोलीको जिम्मेवारी दिइएको हो । एन्फाले बिहीबार एरेनासँग सम्झौता गरेको छ । एन्फा महासचिव किरण राईले एरेनालाई नियुक्तिपत्र दिएका छन् । एरेनाको नेतृत्वमा नेपालले अब १२ चैतमा हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ । 

नेपालले एक वर्षमा दोस्रोपटक हङकङसँग खेल्न लागेको हो । गत वर्ष जुनमा नेपालले हङकङमा गोलरहित बराबरी खेलेको थियो । एएफसी एसियन कपको तेस्रो चरणको छनोटमा नेपालले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ । लगातार पाँच खेलमा पराजित नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालले अन्तिम खेल लाओससँग खेल्नेछ । १७ चैतमा हुने खेल होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । 

राष्ट्रिय लिगको निरीक्षण
एरेना गत साता मात्र नेपाल आएका हुन् । कागजी प्रक्रिया पूरा नगरेका कारण एन्फाले उनलाई मुख्य प्रशिक्षकका रूपमा सार्वजनिक गरेको थिएन । कागजी प्रक्रिया पूरा भएपछि एन्फाले एरेनालाई मुख्य प्रशिक्षकको पत्र दिँदै सार्वजनिक गरेको हो । एक सातामा एरेनाले दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा चलिरहेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको निरीक्षण गरेका छन् । अस्ट्रेलियाका म्याट रोसले राजीनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन थियो । यस अवधिमा नेपालका पूर्वकप्तानसमेत रहेका हरि खड्का अन्तरिम प्रशिक्षक थिए । 

खाडी क्लबहरूमा केन्द्रित एरेना
एरेनासँग २४ वर्षको प्रशिक्षण अनुभव छ । स्विट्जरल्यान्डमा जन्मेका उनले क्लबस्तरीय फुटबल मात्र खेलेको तथ्यांक छ । इटालीको नागरिकता लिएका उनले अन्तर्राष्ट्रिय लेभलको प्रतिस्पर्धा भने गरेनन् । उनले आफूलाई प्रशिक्षणमा केन्द्रित बनाए । सन् २००३/०४ मा उनले येनेग्गालाई प्रशिक्षण दिए । यहीँबाट एरेनाको करिअर सुरु भएको हो । यस अवधिमा उनले विभिन्न क्लब हेरे ।

सन् २०११ मा पहिलोपटक सिंगापुरको इटोलिए एफसीका प्रशिक्षक बन्दा उनी युवा प्रशिक्षकको समूहमा चर्चित भए । त्यसको एक वर्षपछि उनी अल्जेरियन क्लब सिआर बेलाउसँग आबद्ध भए । सआरमा राम्रो काम गरेपछि एरेनालाई स्विट्जरल्यान्डको शीर्ष डिभिजन क्लब वुडकोन एफसीले मुख्य प्रशिक्षकको नियुक्ति दियो । करिअरमा उनी मध्यपूर्वी एसियन क्लबमा व्यस्त देखिए ।

मध्यपूर्वी एसियन क्लबहरूले राम्रो पारिश्रमिक दिने हुँदा उनले ११ वर्ष यही क्षेत्रलाई पहिलो रोजाइमा राखेका थिए । टेक्निकल डाइरेक्टरका रूपमा उनले अल हरियाह क्लबमा ५४५ दिन बिताए । प्रशिक्षकका रूपमा उनले धेरै समय काम गरेको येनेन्गासँगै हो । उनले यस क्लबलाई ४५६ दिन प्रशिक्षण गरेका रेकर्ड छ । प्रशिक्षकका रूपमा उनी खेलाडी परिवर्तन गर्न रुचाउँदैन् । नेपालका नयाँ प्रशिक्षक एरेनाको रणनीति ४–२–३–१ हो ।

See More On

सुझावित समाचार