प्रधानमन्त्री कार्कीको ऐतिहासिक सफल नेतृत्व

प्रधानमन्त्री सुशीला कार्कीलाई नेपालको राजनीतिक इतिहासमा कठिन परिस्थितिलाई सम्हाल्न सक्ने सफल नेतृत्वकर्ताका रूपमा सम्झिइनेछ

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

कहिलेकाहीँ कसैलाई नसोचिएको ऐतिहासिक जिम्मवारी सम्हाल्नुपर्ने परिस्थिति आइपर्छ । यस्तै एक असाधारण तथा विषम परिस्थितिमा सक्रिय राजनीतिभन्दा टाढा रहेकी र न्यायपालिकाको सर्वोच्च पदमा पुगिसकेकी एक महिलाले अचानक नेपालको कार्यकारी नेतृत्व सम्हाल्नुपर्यो । २७ भदौ ०८२ का दिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्री पदमा आगमन केवल औपचारिक संवैधानिक प्रक्रिया मात्र थिएन, त्यो समयको जटिलता, राजनीतिक अन्योल र राज्य संयन्त्रमा देखिएको गतिरोधलाई निकास दिने एक विकल्प थियो । उनको प्रधानमन्त्रीमा नियुक्ति प्रक्रिया तत्कालीन अवस्थामा जे–जस्तो बाध्यात्मक परिस्थिति भए पनि संकट व्यवस्थापन, संयमित निर्णय क्षमता र संस्थागत मर्यादाप्रति उनको प्रतिबद्धताले त्यो अध्यायलाई केवल संक्रमणकालीन व्यवस्था नभई उत्तरदायित्व र सेवाभावको एक सफल पाठका रूपमा इतिहासमा अंकित गराएको छ । 

संकटको कालो बादल र निकासको विकल्प :  कार्की प्रधानमन्त्री कुन प्रक्रियाबाट नियुक्त भइन् र मुलुकका लागि के गरिन् भन्ने प्रश्नको खोजी गर्नुअघि उनी कस्तो अवस्थामा प्रधानमन्त्री भइन् भन्ने कुरा मनन गर्नुपर्छ । २३ र २४ भदौको जेन–जी आन्दोलनले देशलाई पूरै झकझकायो । शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका युवा संसद् भवन घेर्न पुगेपछि १९ जना युवाको प्रहरीको गोलीबाट मृत्यु भएपश्चात् जनआक्रोश भड्कियो । सयौँ प्रदर्शनकारी युवा घाइते भए । सडकमा क्रोध उत्पन्न भयो, हरेक अनुहारमा पीडा र आक्रोश पैदा भयो । २४ भदौमा सरकारविरुद्ध जनआक्रोश झनै चर्किंदा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, सुरक्षा निकायका कार्यालय, निजी घर र व्यापारिक प्रतिष्ठानमा आगजनी र तोडफोड भयो । लोकतन्त्रको घर भनिएको सिंहदरबार खरानीमा परिणत भयो । न्यायको मन्दिर सर्वोच्च अदालतमा समेत आगो झोसियो । 

परिस्थिति झन् खराब बन्ने भएपछि प्रधानमन्त्रीले राजीनामा दिए । सुरक्षाका लागि उनलाई निवासबाटै नेपाली सेनाले उद्धार गर्नुपर्यो । राजनीतिक दलका नेता भूमिगत भए । अस्पताल सयौँ घाइतेले भरिए । दुई दिनको अवधिमा देशका विभिन्न ठाउँमा गरेर सुरक्षाकर्मीसहित ७६ जनाको ज्यान गयो । जेलका कैदी भागे । सुरक्षाकर्मीका सयौँ हतियार र सुरक्षा सामग्री लुटियो । प्रहरी कार्यालयमा आगो लगाइयो । शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी आफैँ असुरक्षित भयो । प्रहरीसँग बस्ने भवन थिएन, बर्दी थिएन, सवारीसाधन थिएनन् । सबै खोसियो, जलाइयो । प्रहरीको मनोबल गिरेको थियो । देश हजारौँ टन बम बर्साइएजस्तै अवस्थामा पुग्यो । 
देशभर एउटै प्रश्न गुन्जिरहेको थियो, अब के हुन्छ ? लोकतन्त्रको भविष्य के होला ? संविधान जोगिन्छ कि जोगिँदैन ? यही अत्यासलाग्दो परिस्थितिमा राजा फर्कने हल्ला फैलियो । नेपाली सेनाले कस्तो भूमिका खेल्ला भन्ने चिन्ता र उत्सुकता थियो । विदेशी शक्तिको प्रतिक्रिया के हुने हो भन्ने त्रासले वातावरण झनै भयावह बनेको थियो । यस्तो कालो बादल छाएको परिस्थितिमा प्रधानमन्त्री को बन्ला भन्ने कुतूहल र संशय सुरु भयो । 

कार्कीको नेतृत्व पहिलो महिला प्रधानमन्त्री बन्नुको गौरवमा सीमित छैन । उनको विशेषता संकटको घडीमा संयम, संवेदनशीलता र संवैधानिक निष्ठालाई सँगै अगाडि बढाउनुमा छ ।

जिम्मेवारीको भारी बोक्ने साहस :  देश यसरी बनाउनुपर्छ भनेर अगाडिदेखि नै विचार विमर्श गर्ने व्यक्तिलाई जेन–जीले प्रधानमन्त्री बनाउन चाहेनन् वा उनीहरूले चाहना राखेनन् । राज्य सञ्चालनसँग अनुभव भएका र युवाले विश्वास गरेका तथा अलिक आसलाग्दा व्यक्ति त्यो विषम परिस्थितिको जिम्मेवारी सम्हाल्न कोही तयार भएनन् । त्यहीवेला युवाको समर्थनमा सुशीला कार्कीलाई प्रस्ताव भयो र उनले त्यो कहालीलाग्दो क्षणबाट देशलाई निकास दिने प्रण गरिन् । 

कार्कीका लागि त्यो पद अवसरभन्दा बढी जिम्मेवारी थियो र सत्ता प्राप्तिको क्षण मात्र नभएर इतिहासको कठोर परीक्षा पनि थियो । उनको स्वीकृतिले एउटा सन्देश दियो कि संकटको घडीमा पदभन्दा उत्तरदायित्व ठुलो हुन्छ । सो समयमा संविधान, लोकतन्त्र तथा जनाधिकार संरक्षण गर्ने र युवाको विश्वास जित्ने अभिभारा उनको काँधमा आएको थियो । न्यायालयको उनको अनुभव र परिवर्तनप्रतिको झुकावले गर्दा उनीप्रति युवाको विश्वास देखियो । सम्भवतः त्यतिवेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विकराल परिस्थितिमा देशलाई राजा वा सेनाको शासनबाट जोगाउन कार्की नै उपयुक्त व्यक्ति हुन् भन्ने ठानेर नै उनको नाम सिफारिस गरेका थिए । 

कार्की प्रधानमन्त्रीमा नियुक्ति हुँदै गर्दा देशको परिस्थिति निकै जटिल थियो । देश रगत, खरानी र आँसुमा डुबेको थियो । सिंहदरबार र सर्वोच्च अदालतमा लागेको आगो राम्ररी निभिसकेको थिएन । जलेर खरानी भएका भवन र गाडीको थुप्रोले बमबारी भएको स्थानजस्तो देखिन्थ्यो । प्रधानमन्त्री बस्ने भवन र कार्यकक्षसमेत थिएन । उनले पाएको मूलः जिम्मेवारी ६ महिनाभित्रमा चुनाव गराउनु थियो । यस्तो अवस्थामा मुलुकमा चुनाव गराएर लोकतन्त्र पुनस्र्थापित गर्ने हिम्मत गर्नु साँच्चै साहसको काम थियो । भौतिक क्षतिको पुनर्निर्माण मात्र होइन, विभाजित राजनीति, खण्डित समाज, चुलिएको जनआक्रोश र असीमित जनआकांक्षा धानेर अगाडि बढ्नु खुकुरीको धारमा हिँड्नु जस्तै थियो । 

पीडितको शिरमा राखिएको ममताको हात :  २३ र २४ भदौको घटनाको सबैभन्दा ठुलो प्रभाव मानवीय क्षति र त्यसबाट सिर्जित मनोविज्ञान र भावनामा थियो । धेरै युवाको ज्यान गएको थियो । सयौँ घाइते अस्पतालमा छट्पटाइरहेका थिए । मृतक र घाइतेका आफन्त शोक र आक्रोशमा थिए । तिनलाई सान्त्वना र आशा मात्र होइन, जीवनको भरोसा पनि दिन आवश्यक थियो । 

प्रधानमन्त्री बनेलगत्तै उनले घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई राहतको घोषणा गरिन् । तर, त्यो केवल प्रशासनिक निर्णय थिएन । उनी आफैँ अस्पताल पुगिन् । शय्यामा सुतिरहेका घाइतेको निधारमा हात राखेर स्वास्थ्य अवस्थाको जानकारी लिइन् । राजनीतिक भाषणभन्दा त्यो स्पर्श शक्तिशाली थियो । त्यो स्पर्शले सरकार र नागरिकबिचको दूरी घटायो । त्यो एक व्यक्तिमा गरिएको स्नेह मात्र नभएर समग्र पीडितप्रति देखाएको मातृत्वभाव थियो । साथै, राज्य निर्दयी छैन, संवेदनशील छ भन्ने सन्देश थियो । 

जनअपेक्षा र संवैधानिक सीमाको सन्तुलन :  आन्दोलनमा सहभागी युवाले नै रोजेको व्यक्ति प्रधानमन्त्री भएपछि केहीले देश पूरै युवाको सत्तामा गयो, अब युवाले भनेजस्तो हुन्छ, पुराना सत्ताधारी तत्काल पक्राउ पर्छन् भन्ने आकांक्षा राखे । तर, देशको संविधान, कानुन र संस्थागत निकाय यथावतै रहेको अवस्थामा जनआक्रोशकै आधारमा काम गर्न सकिने अवस्था थिएन । त्यसो गरिएको भए देश झन् ठुलो द्वन्द्वमा फस्न सक्थ्यो । 

यस सवालमा उनको नेतृत्वको अर्को परीक्षा आयो– आक्रोशलाई सम्मान गर्दै कानुनी प्रक्रियाबाट पछि नहट्ने वा जनआक्रोशबमोजिम प्रक्रिया थाल्ने । सो परिस्थितिमा सरकारले जनअपेक्षाको सम्मान गर्दै परिस्थितिलाई शान्ति र एकताको माध्यमबाट सामान्य बनाउनुपथ्र्यो । त्यसैले, सरकारले जेन–जी आन्दोलनमा भएको दमन र क्षतिको अवस्था यकिन गर्न तत्काल छानबिन समिति गठन गरी छानबिन थाल्यो । छानबिनका नाममा कसैलाई गैरकानुनी रूपमा पक्राउ गरेर स्थिति भड्काउने काम भएन । कानुन र विधिभित्रै रहेर सूचना संकलन गरियो । यससँगै युवा र सरकारबिच वार्ताका क्रममा युवा समूहमै अनेक मतान्तर हुँदा परिस्थिति निकै जटिल बनेको थियो । त्यो परिस्थितिमा पनि सरकारले युवा समूहसँग वार्ता गरी सम्झौता ग¥यो । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा पनि निकै चर्काचर्की भयो, तर परिस्थितिलाई परिपक्व ढंगले चलाउँदा नकारात्मक परिणाम आएन । 

आलोचना, लाञ्छना र धैर्यको मार्ग :  लोकतन्त्र र संविधान आफ्नो नियन्त्रणबाहिर जान लागेपछि बचाउने आसमा कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति दिएका दलहरू, उनै कार्कीले सहज वातावरण तयार गरेर लोकतन्त्र बौरिएपछि कडा आलोचना र विरोधमा उत्रिए । कसैले विदेशीको इसारामा सरकार बनेको भने, कसैले लोकतन्त्रविरोधी भएको आरोप लगाए, कसैले गैरसंवैधानिक ठहर गरे । त्यति मात्र होइन, प्रधानमन्त्रीको उमेर र स्वास्थ्य अवस्थालाई लिएर व्यक्तिगत लाञ्छना र खिसिट्युरीसमेत भयो । सरकारले गरेका हरेक काममा असहयोग र प्रतिकारको धम्की दिन थालियो । 

कार्कीसँग दुई विकल्प थिए । केही युवाले भनेजस्तै दलका नेता र कार्यकर्तालाई तत्काल कारबाही गर्न प्रक्रिया अगाडि बढाउने वा आलोचनालाई सहेर संयमपूर्वक चुनावको तयारी थाल्ने । उनले प्रतिशोधको बाटो रोजिनन् । नेताहरूसँग व्यक्तिगत द्वेष नराखी संवादलाई अगाडि बढाइन् । लोकतन्त्रमा असहमति शत्रुता होइन र आलोचना असफलता होइन भन्ने सोचबाट अगाडि बढिन् । उनले चुनावलाई नै अन्तिम समाधानका रूपमा अघि सारिन् । सबै दलको सहकार्यलाई चुनावको अनिवार्य सर्त मानेर सबैको सहभागितालाई प्राथमिकतामा राख्दै चुनावी वातावरण तयार गर्न लागिपरिन् । आफूले गर्न सक्ने कामबाटै आलोचनाको भद्र प्रतिकार गर्दै छलफल र संवादलाई रोजेर अगाडि बढ्दा नै ऐतिहासिक जिम्मेवारी पूरा गर्ने अनुकूल वातावरण तयार भयो । 

अभाव र रिक्तताको परिपूर्ति :  मुलुकले अर्बौंको क्षति व्यहोरेपछि आर्थिक अभाव नहुने कुरै भएन । तर, यससँगै सामाजिक एकता सुरक्षाको पनि अभाव थियो । समाज नयाँ र पुरानो भन्ने मनोविज्ञानबाट विभाजित थियो । जेलका कैदी भागेपछि र सुरक्षाकर्मीका हतियार लुटिएपछि समाजमा असुरक्षाको त्रास फैलिएको थियो । अर्कोतर्फ सरकार नै संवैधानिक कि असंवैधानिक भन्ने कानुनी प्रश्न अदालत पुगेको थियो । 

चुनावका लागि उम्मेदवारको मनोनयन खुलेपछि त झन् समस्या गहिरियो । चुनाव गराएर घर जाने भनिरहेका मन्त्रीसमेत उम्मेदवार बन्न धमाधम राजीनामा दिएर हिँडे । अभाव आफ्नै मन्त्रिपरिषद्मा रह्यो, आफैँले बनाएका मन्त्रीबाटै असहयोग भयो । यही क्रममा बिबिसी न्युज सर्भिसले चुनावको मौन अवधि सुरु हुनुभन्दा केही दिनअघि मात्रै जेन–जी आन्दोलनका क्रममा बाहिर आएका भिडियोहरू समेटेर तयार पारेको एक डकुमेन्ट्री सार्वजनिक गर्दै तत्कालीन सरकार र सुरक्षा निकायका प्रमुखले नै जेन–जी युवालाई गोली हान्न आदेश दिएको भन्ने समाचार बाहिर ल्यायो । त्यसले राजनीतिक क्षेत्र र सामाजिक सञ्जालमा ठुलो हलचल पैदा गर्यो । चुनाव नै भाँडिन्छ कि भन्ने त्रास फैलियो । यस्तो अवस्थालाई हतासिएर वा निराश भएर समाधान खोज्ने अवस्था थिएन । सरकार अडिग बनेर चुनावमा केन्द्रित भयो । 

ऐतिहासिक उपलब्धि : अन्ततः चुनाव सम्पन्न भयो । देशले पुनः लोकतान्त्रिक बाटो समात्यो । कार्कीको नेतृत्व केवल पहिलो महिला प्रधानमन्त्री बन्नुको गौरवमा सीमित छैन । उनको विशेषता संकटको घडीमा संयम, संवेदनशीलता र संवैधानिक निष्ठालाई सँगै अगाडि बढाउनुमा छ । गम्भीर स्वभाव, दृढ निर्णय क्षमता, सहनशीलता र दूरदृष्टिपूर्ण सोचले नै उनलाई सफल बनायो । अबको नेतृत्व र पुस्ताले उनीमाथि सतही टिप्पणी गर्नुभन्दा संकटबाट जोगाएर उनले सकुशल हस्तान्तरण गरेको संविधान र लोकतन्त्रलाई इमान्दारीपूर्वक आत्मसात् गर्नु आवश्यक छ । उनले अपनाएका कुशल रणनीति भावी पुस्ता र नेतृत्वका लागि उदाहरण बन्न सक्छन् । इतिहासले उनलाई केवल पहिलो महिला प्रधानमन्त्री भनेर मात्र होइन, कठिन परिस्थितिलाई सम्हाल्न सक्ने सफल नेतृत्वका रूपमा सम्झनेछ ।

सुझावित समाचार