- पटक–पटक वार्ता तथा सडक संघर्षका बाबजुद खेलाडीका माग बेस्वास्ता गरेपछि एन्फा मुख्यालयको मूलगेटमा अनिश्चितकालका लागि तालाबन्दी
खेलाडीका मुख्य माग
- सहिद स्मारक डिभिजन लिग सञ्चालनको निश्चितता, जसमा ‘ए’ डिभिजनको मिति तोक्नैपर्ने (एन्फाले वचन दिएको मितिभित्र)
- खेलाडी अक्षय कोषको विस्तृत विवरण (गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाखसहित)
- खेलाडीको तलब–भत्ता तथा पुरस्कार रकम उपलब्ध गराउनुपर्ने (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब–भत्ता), जुन हालको कार्यसमिति बैठकबाट पनि पास गरिएको थियो
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा ताला लगाएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार धर्ना बसेर खेलाडीहरूले अनिश्चितकालीन तालाबन्दी गरेका छन् । आफ््ना माग पूरा नगरेको, पटक–पटक भएका छलफलअनुसार काम नगरेको र सडक संघर्षलाई समेत बेवास्ता गरेको आरोप खेलाडी संघले लगाएको छ । आफ्ना जायज माग पूरा गराउन बाध्य भएर एन्फा मुख्यालयमै ताला लगाउनुपरेको अध्यक्ष विक्रम लामाले बताए ।
ताला लगाउन काठमाडौंमा चलिरहेको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहभागी खेलाडी नै सहभागी भएका छन् । एन्फा कार्यालयभित्र प्रवेश गर्ने मुख्य ढोकामा ताला लगाएपछि खेलाडीले तीनबुँदे माग राखेका छन् । खेलाडीहरूले भित्र रहेका कर्मचारीलाई निकाल्दै ताला लगाएका हुन् । त्यसअघि वार्ता गर्न प्रशिक्षक संघका अध्यक्ष राजेन्द्र तामाङ, महासचिव राजेश शाही र सचिव उर्जन श्रेष्ठलगायत मध्यस्थकर्ता आएका थिए ।
स्वार्थमा रहेको प्रशिक्षक संघसँग नभएर नेतृत्वसँगै वार्ता गर्ने र नेतृत्व नै मुख्यालयमा आउनुपर्ने माग खेलाडी संघले राखेको छ । केही समय एन्फापरिसरभित्र वादविवाद पनि भयो । ताला लगाउनुअघि खेलाडीको एक समूह अध्यक्ष पंकजविक्रम नेम्वाङको कार्यकक्षमा प्रवेश गरेको थियो । मुख्यालयभित्र अध्यक्ष नेम्वाङ र महासचिव किरण राई नदेखेपछि ताला लगाइको हो । ‘पटक–पटक वार्ता र सडक संघर्षका बाबजुद पनि जायज माग बेवास्ता गरेका कारण एन्फा मुख्यालयमा तालाबन्दी गर्ने निर्णय गरेका छौँ,’ खेलाडी संघका अध्यक्ष लामाले भने, ‘मागहरूको उचित कार्यान्वयन नहुँदै सहमति नगरी ताला खोलेमा भविष्यमा आउने सम्पूर्ण क्षतिको जिम्मेवारी एन्फाले नै लिनुपर्नेछ ।’
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीले ताला लगाउनु चिन्ताजनक भएको बताए । ‘खेलाडी नेपाली फुटबलका मेरुदण्ड हुन् । उनीहरूको जायज मागलाई बेवास्ता गर्दै जाने हो भने त्यसले समग्र फुटबल क्षेत्रलाई नै नकारात्मक असर पार्नेछ,’ शेर्पा भने, ‘वर्तमान एन्फा नेतृत्वलाई खेलाडीको जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न आग्रह गर्दछु ।’ ताला लगाउने खेलाडीमा देशलाई १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिताएका कप्तान लामासँगै गोलरक्षक विकेश कुथू, पूर्वकप्तान विराज महर्जन, विशाल श्रेष्ठ, वर्तमान टिमका रोहित चन्द, सनिस श्रेष्ठ, रूपेश केसी, देवेन्द्र तामाङलगायत ४० भन्दा धेरै खेलाडीको उपस्थिति थियो ।
डिएसपीको नेतृत्वमा प्रहरी परिचालन
खेलाडीले ताला लगाउने संकेत पाएपछि एन्फा नेतृत्वले प्रहरी अतिरिक्त महानिरीक्षक (डिएसपी)को नेतृत्वमा प्रहरी नै परिचालन गरेको थियो । उनीहरूले खेलाडीलाई मुख्यालयबाट निकाल्न खोजेका थिए, तर खेलाडी मुख्य गेटमै धर्नामा थिए । समाधानका लागि भन्दै एन्फा उपाध्यक्ष दावा लामा, सदस्य विकासनारायण श्रेष्ठ, पुरुषोत्तम थापालगायत एन्फापरिसरमा आएका थिए । तर, अन्तिमसम्म पनि खेलाडीले ताला खोलेनन् ।
यसअघि एन्फाका पूर्वअध्यक्ष गणेश थापाले पनि एन्फाभित्र देखिएको भ्रष्टाचारविरुद्ध २५ फागुनमा आन्दोलन गर्ने घोषणा गरेका थिए । तर, अघिल्लो दिन (आइतबार) खेलाडी संघले आन्दोलन गर्ने जानकारी पाएपछि उनले तत्काललाई आफ्नो कार्यक्रम रोकेका छन् । पछिल्लोपटक एन्फाले १३ चैतमा चुनावी साधारणसभा गर्ने निर्णय गरेको छ । प्रदेश र जिल्लाको निर्वाचन नगरी वर्तमान कार्यसमिति नै पुन: दोहोरिने देखिएपछि चारैतर्फबाट विरोध हुन थालेको छ । यही कार्यसमितिले नेपाली फुटबललाई ध्वस्त बनाएको आरोप लाग्दै आएको छ ।