जेन–जी आन्दोलनपछि शिथिल बनेको नेपालको पुँजी बजारले जननिर्वार्चित नयाँ सरकार गठनसँगै गति लिने लगानीकर्ताले आशा गरेका छन् । निर्वाचत हुने निश्चित भएपछि पछिल्ला ६ करोबार दिन नेप्से परिसूचक लगातार बढ्यो । जनताले एकल बहुमतसहितको सरकार बनाउन सक्ने गरी अभिमत दिएका छन् । यसले राजनीतिक स्थिरता र आर्थिक स्थायित्वको आधार बनाएको भन्दै लगानीकर्ताले अब नयाँ सरकार गठनसँगै सेयर बजारले ‘टेक अफ’ गर्ने बताएका छन् ।
जेन–जी आन्दोलमा ९८ अर्बबराबरको क्षति भएको छ । आन्दोलनमा कुल ७६ जनाले ज्यान गुमाए । त्यो राजनीतिक घटनाक्रमसँगै पुँजी बजारमा पनि उतारचढाव देखियो । अन्तरिम सरकार गठनसँगै खुलेको सेयर बजार नमज्जाले घट्यो । त्यसपछि पनि सेयर बजार माथि उठ्न सकेको छैन । तर, बिहीबार सफलतापूर्वक चुनाव सम्पन्न भएसँगै अब मुलुकले छिट्टै निर्वाचित सरकार पाउनेछ । त्यसपछि भने सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षामा लगानीकर्ता छन् ।
जेन–जी आन्दोलनपछिको सेयर बजार
जेन–जी आन्दोलन हुनुअघि बजार क्रमश: घट्दै गइरहेको अवस्था थियो । २३–२३ मा प्रदर्शन भएपछि त्यसको करिब एक हप्ताअघिदेखि बजार घट्न थालेको थियो । भदौ १२ र १५ मा बजार क्रमश: ३८.१० र ३१.१७ प्रतिशतले घटेको थियो । ती दिन नेप्से क्रमश: २७८१ र २७४९.८३ विन्दुमा बन्द भएको थियो । त्यसको अर्को दिन अर्थात् भदौ १७ मा बजार १२.०३ अंकले बढेर २७.६१ विन्दु कायम भयो । त्यसपछि लगातार घट्न थालेको बजार एकैपटक असोज २ गतेसम्म निरन्तर घटिरह्यो । भदौ १२ मा २,७८१ रहेको नेप्से परिसूचक २ असोजमा २६९ अंकले घट्यो । असोज २ मा त बजार एकै दिन १६०.३३ अंकले बढेको नेप्सको तथ्यांक छ ।
जेन–जी आन्दोलनको अघिल्लो कारोबार दिन २,६७२.२५ विन्दु रहेको सेयर बजार फागुन २,७१२.४९ अंक कायम भएको छ । आन्दोलनपछि उतारचढाव भोगेको बजार केवल ४०.२४ अंकले बढेको छ । सात महिनाको अवधिमा बढेको ४० अंकलाई बजार बढेको भन्न नमिल्ने लगानीकर्ता बताउँछन् ।
कुन महिना कति ?
भदौ १ मा नेप्से परिसूचक २,७६१.२२ मा रहेकामा महिनाको अन्तिम कारोबारमा २,६७२.२५ कायम भयो । अर्थात्, भदौमा बजार ८८.९७ अंकले घट्न पुग्यो । त्यसपछि असोजमा दसैँलगायत सार्वजनिक बिदा परे । सो महिना जम्माजम्मी १४ दिन सेयर बजार खुल्यो । सो महिना बजार बढ्नेभन्दा घट्ने क्रम बढी चल्यो । २६७२.२५ मा असोज अन्तिमको कारोबारसम्म पुग्दा बजार १८५ अंकले घट्यो । असोज महिनामा नेप्से परिसूचक २४८७.१७ मा झर्यो । यता, कात्तिकमा पनि तिहार, छठलगायतका पर्वले गर्दा बजार हप्ता दिनभन्दा बढी बन्द भयो । कात्तिकको पहिलो कारोबार दिन २५०३.८५ अंक रहेको नेप्से सो महिनाको अन्तिममा २५४५.७३ मा बन्द भयो । उक्त महिना बजार ४१.८८ अंकले बढ्यो । त्यसपछि मंसिरमा ५५.८८ अंक र पुसमा ३९.४३ अंकले बढ्यो । यस्तै, माघमा २९.६४ अकंले बढेको बजार फागुनमा (पछिल्लो कारोबार) ४१.४२ अंकले बढी २७१२.४९ अंक कायम भएको नेप्सेले जनाएको छ ।
अब बजारमा सकारात्मक प्रभाव पर्ने आशा छ : लगानीकर्ता रौनियार
लगानीकर्ता छोटेलाल रौनियारले पनि चुनावपछि सेयर बजारमा सकारात्मक नतिजा देखिने आशा गरेको बताए । आन्दोलनअघि साँच्चिकै निराशाको अवस्था थियो । आन्दोलनमा ठुलो जनधनको क्षति भए पनि त्यसमा उठेका मुद्दा ठिक छन् । त्यो क्षतिका कारण समग्र मुलुकको अर्थतन्त्र प्रभावित भयो । त्यसको असर सेयर बजारमा पनि स्वाभाविक रूपमा पर्यो । उक्त परिवर्तनसँगै बिहीबार चुनाव सम्पन्न भएको छ । अब बन्ने सरकारले आर्थिक विकासको काम गर्छ भन्ने आशा छ । त्यसले गर्दा अब सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने आशा छ । बैंकहरूलाई पनि सेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ ।
सेयर बजार बढ्ने आधार भएको बताउँदै उनले लगानीकर्ता अझै घाटामा रहेको बताए । अहिले सेयर बजार न्यून विन्दुमा छ । ३२ सयको हालसम्मकै उच्च विन्दुलाई नेप्से इन्डेक्सले छुनै पर्नेछ । यो चार वर्षको ब्याजसमेत जोड्दा लगानीकर्ताको लगानी उठ्न सेयर बजार झन्डै ४२ सय विन्दुमा पुग्नुपर्छ । सरकारले राम्रो आर्थिक नीति ल्यायो र पुँजी बजारलाई प्रोत्साहन गर्यो भने त्यो सम्भव छ । सेयर बजार घट्ने र बढ्ने नियमित प्रक्रिया हो । समग्रमा सेयर बजारमा स्थिरता आउनुपर्छ भन्ने हाम्रो माग हो ।
नयाँ सरकारबाट लगानीकर्ताको आशा के ?
पुँजी बजार मात्रै होइन, निजी क्षेत्र नै राजनीतिको सिकार बनिरहेको छ । यो वा त्यो बहानमा निसानामा परिरहेको छ । देशमा राजनीतिक स्थिरता नहुँदा, निजी क्षेत्रमैत्री राज्य नहुँदा यसको प्रत्यक्ष प्रभावमा पुँजी बजार परेको लगानीकर्ता बताउँछन् ।
चुनावी म्यान्डेट पाएको कार्की सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको छ । निर्वाचन सकिएसँगै देशले नयाँ नेतृत्व पाउनेछ । त्यो नेतृत्वले समग्र देश र बजारलाई कता लैजान्छ हेर्न बाँकी छ । तर, आशा हुने ठाउँ पनि उत्तिकै रहेका छन् ।
चुनावी सरकार भएको वेलामा सेयर बजारको विषयमा मात्रै होइन । समग्र अर्थतन्त्रबारे स्पष्ट मार्गदर्शन सरकारबाट आउन सकेन । त्यसले गर्दा लगानीकर्ता उत्साहित थिएनन् । तर, चुनावपछि सही र स्पष्ट आर्थिक नीति आउने र शिथिल सेयर बजारले पनि ‘टेक अफ’ लिने अपेक्षा गरिएको छ ।
‘राजनीतिक दलहरूले घोषणापत्रमा आर्थिक एजेन्डालाई प्राथमिता दिएका छन् । त्यसले गर्दा अब बन्ने सरकारले आर्थिक एजेन्डालाई महत्व दिनेछन् भन्ने आशा छ । त्यो अवस्थामा सेयर बजार पनि स्वत: लाभान्वित हुनेछ,’ एक लगानीकर्ताले भने, ‘घोषणापत्र सेयर बजारसम्बन्धी विषयवस्तु पनि समेटिएका छन् । त्यसले गर्दा पनि हामी आशावादी छौँ ।’
उक्त लगानीकर्ताले अब स्थायी सरकार चाहिने र पुँजीबजारमैत्री नीति हुनुपर्ने बताए । पछिल्लो समयमा तीव्र उतारचढाव भोगेको सेयर बजारलाई दीर्घकालीन रूपमा बलियो बनाउन स्पष्ट नीति, सुरक्षा र नीतिगत मार्गचित्र ल्याउनुपर्ने उनीहरूको भनाइ छ । नयाँ सरकारले आर्थिक सुधार, बैंकिङ प्रणालीमा रहेको अत्यधिक तरलता व्यवस्थान र लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने उनीहरूको जोड छ ।