एन्फाको निर्वाचन आगामी १३ चैतमा

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण
  • निर्वाचन समितिले शुक्रबार आगामी १३ चैतमा हुने एन्फा निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ

अखिल नेपाल फुटबल संघ (एन्फा)को पटक–पटक स्थगित हुँदै आएको निर्वाचन आगामी १३ चैतका लागि तय गरिएको छ । एन्फाको निर्वाचन समितिले शुक्रबार नयाँ निर्वाचनतालिका प्रकाशन गर्दै १३ चैतमा चारवर्षे कार्यकालका लागि चुनाव गर्ने घोषणा गरेको हो । नयाँ तालिकाअनुसार उम्मेदवार तथा मताधिकार प्रतिनिधिको नामावली प्रकाशन गर्नेछ । यसैगरी, २८ फागुनसम्ममा उम्मेदवार तथा मताधिकार प्रतिनिधिविरुद्ध दाबी–विरोध गर्न पाउनेछन् । २९ फागुनमा पुनरावेदन समितिले त्यसमाथि निर्णय गर्ने र ३० फागुनमा दाबी–विरोधको पुनरावेदनपछिको अन्तिम नामावली प्रकाशन हुने एन्फाले जनाएको छ । 

निर्वाचन समितिका सदस्यसचिव लोकेन्द्र ओलीले जारी गरेको सूचनामा समितिले आवश्यकताअनुसार निर्वाचन कार्यतालिका संशोधन गर्न सक्ने भनेको छ । समितिले प्रकाशन गरेको उम्मेदवारको सूचीअनुसार अध्यक्षमा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र उपाध्यक्ष दीर्घबहादुर केसीको उम्मेदवारी मात्र परेको छ । वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा तथा एनआरटी क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशीबिच प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरूबाहेक अन्यले उम्मेदवारी दिएका छैनन् ।

लामाले नेम्वाङ तथा जोशीले केसीको प्यानलबाट उम्मेदवारी दिएका हुन् । खतिवडा भने स्वतन्त्र उम्मेदवार हुन् । एन्फामा चार उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ । एन्फाको वर्तमान कार्यसमितिका सदस्यहरू विकासनारायण श्रेष्ठ, मनीष जोशी, अनिल मल्ल, पेमा डोल्मा लामा र महेन्द्र क्षेत्री तथा फ्रेन्ड्स क्लबका अध्यक्ष विश्वासविक्रम शाह, मच्छिन्द्रका अध्यक्ष अनिल श्रेष्ठ, सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारी, मनाङ मस्र्याङ्दीका अध्यक्ष विजय घले र कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेशबहादुर चन्द छन् ।

२८ जनाको उम्मेदवारी
कार्यकारी सदस्यको १३ पदका लागि दुवै प्यानल तथा स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी परेको एन्फाले जनाएको छ । सदस्यमा उम्मेदवारी दिनेमा प्रवीण सुवाल, पुरुषोत्तम थापा, भोजराज शाही, मणिराज विष्ट, दीपेन्द्र धिमाल, प्रवीण यादव, प्रमोद मानन्धर, भरत बुढाथापा, टीकाराम लामा, सागर मैनाली, नीरजबहादुर राउत, जयकृष्ण श्रेष्ठ, रमेश ब्यञ्जनकार, सत्यभक्त पालिखे, राजु ह्याजु र लोकेन्द्र गुरुङ छन् । यसैगरी, कपिल रानामगर, सेतबहादुर पुन, बाबुकाजी बस्नेत, सञ्जीव बुढाथोकी, कल्याणकुमार खड्का, विनोद गुरुङ, केशवकुमार कार्की, देवनारायण चित्रकार, भगवानबहादुर दर्लामी, ठाकुर सुस्लिङ, मणिकुमार लिम्बू र सञ्जात धितालले सदस्यमा उम्मेदवारी दिएका छन् । दुई महिला सदस्यका लागि सरिला श्रेष्ठ, विन्द्रा देवान, कमला हिराचन र लीलामाया थापा गरी चारजनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले सबै डिभिजन क्लब, जिल्ला फुटबल संघ, खेलाडी, महिला, रेफ्री र प्रशिक्षक संघलगायत गरी मताधिकारप्राप्त ८७ जनाको नाम पनि सार्वजनिक गरेको छ ।

पटक–पटक स्थगन
निर्वाचन आयोगले गत ६ फागुनमा एन्फा निर्वाचन रोक्न निर्देशन दिएको थियो । पूर्वतालिकाअनुसार एन्फा निर्वाचन २८ फागुनमा तय भएको थियो । आयोगका कानुन अधिकृत मोहनराज जोशीले एन्फालाई पत्र लेख्दै तत्काल सबैखाले निर्वाचन प्रक्रिया रोकेर त्यसको जानकारी आयोगमा गराउन निर्देशन दिएका थिए । अन्यथा निर्वाचन आचारसंहिताबमोजिम कारबाही गर्ने चेतावनी पनि जोशीले दिएका थिए । 

निर्वाचन आचारसंहिता लागू भइसकेको सन्दर्भमा संघ–संस्थाको निर्वाचन नगर्न आयोगले ८ माघमा सूचना जारी गर्नुका साथै एन्फालाई पनि पत्राचार गरेको थियो । अदालतमा परेको मुद्दाका कारण ६ माघमा अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सबै प्रक्रिया स्थगित गरिसकेको एन्फाले जनाएको थियो । 

आगामी ०८३ असार ४ गतेसम्म कार्यकाल रहे पनि एन्फा नेतृत्वले गत २८ माघमा चारवर्षे कार्यकालका लागि चुनाव गर्ने तयारी गरेको थियो । यसविरुद्ध पाटन उच्च अदालतले २८ पुस र ४ माघमा अन्तरिम आदेश जारी गरेको थियो । यद्यपि, एन्फाले उम्मेदवारी दर्तासम्मको प्रक्रिया सम्पन्न गरेर ६ माघमा निर्वाचन स्थगित गरेको सूचना जारी गरेको थियो । 

See More On

सुझावित समाचार