दैलेखका दुईवटा निर्वाचन क्षेत्रमा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ । दैलेखका विभिन्न दुर्गम स्थानहरूबाट राति अबेरसम्म मतपेटिका ल्याउन समय लागेपछि शुक्रबार बिहानबाट मतगणना गर्ने सहमति दलहरूबिच भएको थियो ।
दैलेख जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि ४७.२८ प्रतिशत मत खसेको छ । जिल्लाभर कुल एक लाख ६१ हजार २०४ मतदाता रहेकामा ७६ हजार १६१ मत खसेको निर्वाचन कार्यालय दैलेखले जानकारी दिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा ४१ हजार ५५ मत खसेको छ । जुन ५०.५१ प्रतिशत हो । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा ३५ हजार १०६ मत खसेको छ, जुन ४३.०७ प्रतिशत हुन आउँछ । निर्वाचनमा भाग लिएकामध्ये नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीबिच प्रतिस्पर्धा हुने देखिएको छ ।