अमेरिकी आक्रमणपछि विश्वकपमा इरानको सहभागिता अन्योल

आगामी जुन–जुलाईमा हुने विश्वकपमा इरानको सहभागिता अनिश्चित बनेको इरानी फुटबल महासंघको भनाइ

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण
  • विश्वकपको समूह ‘जी’मा रहेको इरानले अमेरिकी सहरमा न्युजिल्यान्ड, इजिप्ट र बेल्जियमविरुद्ध प्रतिस्पर्धा गर्ने खेल तालिका छ

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ आयोजना गर्दै छन् । विश्वकप आगामी जुन–जुलाईमा हुनेछ । विश्वकपमा सहभागी राष्ट्रमध्ये इरान पनि हो । तर, अमेरिकाले इरानमाथि गरिएको आक्रमणका कारण मध्यपूर्वी एसियाका राष्ट्रको सहभागिता अन्योल बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशासनले गत शुक्रबार इरानमा आक्रमण गरेको थियो । जसका कारण यी दुई राष्ट्रबिचको सम्बन्ध थप चिसिएको छ । आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका थिए । 

बढ्दो सुरक्षा र अन्तर्राष्ट्रिय तनावका कारण इरान विश्वकपमा सहभागी हुने वा नहुनेबारे प्रश्न उठेको बिबिसीले जनाएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले इरानको अवस्थालाई नजिकबाट निगरानीमा राखिएको जनाएको छ । फिफाका महासचिव मातियास ग्राफ्सट्रोमले वार्षिक साधारणसभामा विश्व परिस्थिति नजिकबाट हेरिएको भए पनि ठोस निर्णय गर्ने समय नभएको बताएका छन् । 

‘हामीले इरान र अमेरिकाबिचको परिस्थिति नजिकबाट हेरेका छौँ । अहिलेको अवस्थामा केही पनि निर्णय लिन सक्ने अवस्थामा फिफा पुगेको छैन,’ ग्राफ्सट्रोमले भने, ‘आगामी दिनमा कस्तो वातावरण बन्छ । त्यहीअनुसार निर्णय हुनेछ ।’ विश्वकपको सहभागी राष्ट्रहरूको ‘ड्र’ भइसकेको छ । विश्वकपमा फिफाको पहिलो प्राथमिकता सुरक्षित रूपमा आयोजना गर्ने महासचिव ग्राफ्सट्रोमले बताए । ‘ड्र’अनुसार इरान समूह ‘जी’मा छ । 

यस समूहमा इरानले इजिप्ट, बेल्जियम र न्युजिल्यान्डको सामना गर्नेछ । इरानको पहिलो खेल नै लस एन्जलसमा न्युजिल्यान्डसँग छ । यसै सहरमा इरानले बेल्जियमको सामना गर्नेछ । समूह चरणको अन्तिम खेल उसले इजिप्टविरुद्ध सियाटलमा खेल्नेछ । अहिले इरानले पनि अमेरिकाविरुद्ध प्रतिशोध लिने क्रममा छिमेकी राष्ट्रमा मिसाइल आक्रमण तीव्र बनाउँदा उसले विश्वकप सहभागी सम्बन्धमा कस्तो निर्णय लिन्छ भन्ने विश्व फुटबल समुदायको रहेको छ । 

ट्रम्पको अभिव्यक्ति संवेदनशील 
अमेरिकी राष्ट्रपति ट्रम्पले हालै दिइएको केही अभिव्यक्ति र निर्णयले पनि विश्वकपको वातावरण थप संवेदनशील बनेको बिबिसीले जनाएको छ । ट्रम्पले केही युरोपेली देशहरूमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए । ग्रिनल्यान्डलाई लिएर दिएको अभिव्यक्ति र इरानसँग सम्बन्धित सैन्य कारबाहीले अन्तर्राष्ट्रिय सम्बन्धमा तनाव बढाएको छ । 

इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले हालैको अमेरिकी आक्रमणपछि इरानको विश्वकप सहभागिता ‘असम्भव’ हुन सक्ने बताएका छन् । ‘अहिले जे भयो र अमेरिकाबाट भएको आक्रमणपछि हामी विश्वकपबारे आशावादी हुन गाह्रो छ,’ ताजले भने, ‘तर अन्तिम निर्णय खेलकुद निकायले गर्नेछन् ।’ इरानले विश्वकपबाट नाम फिर्ता लिने वा नलिने आधिकारिक निर्णय गरेको छैन । कुनै पनि सहभागी टोलीले विश्वकप सुरु हुनुअघि नाम फिर्ता लिँदा फिफा नियमअनुसार अर्को टोलीलाई खेलाउने सकिने प्रावधान छ । यस्तो अवस्थामा इरान विश्वकपमा छनोट भएको समूहको दोस्रो स्थानमा रहने टोलीले फिफा विश्वकप खेल्न पाउनेछ । अमेरिकामा इराकको भिसा प्रक्रिया जटिल बन्दा युएईले विश्वकप खेल्ने मौका पाउनेछ । युएई विश्वकप छनोटबाट बाहिरिएको थियो । युएईले मौका पाउने वा नपाउने विषयमा इरानको निर्णयमाथि निर्भर रहने छ । यसैबिच, इरानी महिला फुटबल टोलीले एसिया कपको तयारी गरेको बिबिसीले जनाएको छ । 

अस्ट्रेलियामा हुने एसिया कपमा इरानले आफ्नो पहिलो खेलका लागि प्रशिक्षण गरेको हो । एएफसीले पनि इरानी महिला पु्mटबल टोलीको सहभागिता निश्चित भएको जनाएको छ । ‘पछिल्लो समयमा मध्यपूर्वी एसियामा जे जस्तो घटना भए पनि इरानी महिला टोलीले एसिया कपमा भाग लिँदे छ,’ एएफसीले भनेको छ, ‘हामी उनीहरूको सवै सुरक्षा व्यवस्था मिलाउँछौँ ।’ 

इरान फुटबल महासंघको चेतावनी
महासंघले विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुनु भनेको राष्ट्रियताविरुद्ध हुने जनाएको छ । अमेरिकी आक्रमणमा इरानी सर्वोच्च नेता अली मारिएका थिए । आफ्ना नेता मारिएको शोकमा रहेको इरानले ४० दिन शोक मनाउने निर्णय गरेको छ । यस्तो अवस्थामा इरानले अमेरिकाले आयोजना गर्ने विश्वकपमा सहभागी हुनु भनेको नेताप्रति घात गर्नु बराबर भएको महासंघले जनाएको छ । ‘अमेरिकाले हामीमाथि आक्रामण गरेकाे छ । यसमा हामीले आफ्नो अभिभावक गुमाएका छौँ । यसपछि अमेरिकामा गएर विश्वकप खेल्नु भनेको उहाँप्रति घात गर्नु बराबर हो,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, अन्तिम निर्णय हुन बाँकी छ, तर इरानको विश्पकप खेल्ने सम्भावना कम छ ।’

यसैबिच, अमेरिकाका लागि मध्यपूर्वी एसिया तथा उत्तर अफ्रिका हेर्ने निर्देशक डा. सनमम भाकीले तेहरानमा बढ्दो आक्रमणले अमेरिका र इरानबिचको दूरी धेरै बढेको बताएका छन् । ‘अहिले हाम्रो विश्लेषणअनुसार इरानले अमेरिकासँग प्रतिशोध लिने तयारीमा छ । यस्तोमा उनीहरूको फुटबल सहभागिता नहुने लगभग निश्चित छ ।’ फिफाका महासचिव ग्राफ्ट्रोमले भने विश्वकपमा सबै राष्ट्र सहभागी होस् भन्ने चाहेको बताए । ‘फिफाको पहिलो लक्ष्य नै सबै सहभागी राष्ट्रले सौहार्द रूपमा विश्वकप खेलोस्,’ उनले भने, ‘यो कार्य सफल बनाउन हामी लागेका छौँ ।’ उनले इरानले भाग नलिएको अवस्थामा एसियन फुटबल महासंघ (एएफसी)सँग छलफल गर्ने बताए । 

१२ राष्ट्रका नागरिक अमेरिका छिर्न नपाउने
गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले देशको सुरुक्षा जनाउँदै विभिन्न १२ राष्ट्रका नागरिकलाई भिसा नदिने घोषणा गरेका थिए । यसमा इरान पनि रहेको छ । गत डिसेम्बरमा विश्वकपको ‘ड्र’ निकालिँदा इरानले भिसा प्रक्रिया अगाडि बढाएको थियो । तर, राष्ट्रपति ट्रम्पको घोषणाले इरानी खेलाडीको भिसा प्रक्रिया रद्द भएको थियो । 

यदि इरानले विश्वकप खेल्न भिसा पाउँदा पनि उनीहरूको खेलमा धेरै सुरक्षा घेरा राखिनेछ । सन् २०२२ को कतार विश्वकपमा इरान र अमेरिकाबिचको खेलमा आयोजक र फिफाले सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो । चार वर्षअघिको विश्वकपमा इरानको प्रत्येक खेलमा सुरक्षा व्यवस्था थप गर्दा आयोजक कतारले आर्थिक भार बहन गरेको थियो । 

यसैबिच मानव अधिकारकर्मी निक म्याग्राहमले विश्वकपमा इरान र अमेरिकाबिचको सम्बन्धले फरक गर्ने बताए । ‘हामी दुई राष्ट्रबिचको सम्बन्धभन्दा पनि खेलाडी स्वतन्त्र हुनुपर्ने माग राख्छौँ,’ निकले भने, ‘खेलाडीको सहयोगमा राजनीति गर्नु राम्रो होइन ।’ 

See More On

सुझावित समाचार