मध्यपूर्वको तनावले नेपालका १४ अन्तर्राष्ट्रिय उडान रद्द

खाडीका सात एयरपोर्ट पूर्ण बन्द, तीन हजार चार सयवटा उडान रद्द

सोमबार, १८ फागुन, २०८२
डिजिटल संस्करण

मध्यपूर्वमा भएको तनावका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने १४ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । अमेरिका–इजरायलले इरानमा गरेको हमला र इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डामा गरेको जवाफी हमलाका कारण ती क्षेत्रका उडान रोकिएका छन् ।

आइतबार नेपालबाट मध्यपूर्वमा हुने र मध्यपूर्वबाट नेपाल हुने सम्पूर्ण उडान रद्द भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालबाट जजिरा, कुवेत, एयर अरेयिबा, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार र हिमालय एयरलाइन्सको उडान रद्द भएको हो । मध्यपूर्वतर्फबाट टिआइएमा आउने र टिआइएबाट हुने उडान अनिश्चितकालका लागि रद्द गरिएका छन् । यसबाट मध्यपूर्व र मध्यपूर्व हुँदै जाने–आउने हजारौँ यात्रु मारमा परेका छन् । 

मध्यपूर्वका सात मुख्य एयरपोर्टबाट तीन हजार चार सयवटा उडान रद्द भएको फ्लाइट ट्र्याकर ‘फ्लाइट रेडर२४’ले उल्लेख गरेको छ । आक्रमण जारी भइरहेकै कारण कुवेत, युएई, कतार, इरान, इराक, जोर्डन, इजरायल, लेबनान र बहराइनलगायत देशले आफ्नो आकाशमा उडान रोकेका (एयर स्पेस बन्द गरेका) छन् । मध्यपूर्वको तनावले विश्वभरकै उडान प्रभावित भएको छ । मध्यपूर्वको आकाश हुँदै उड्ने जहाजले अर्कै रुट प्रयोग गरिरहेका छन् । 
 

सुझावित समाचार