भेरी नदीमा हाम फालेर बेपत्ता महिलाको शव एक हप्तापछि फेला परेको छ । उनको शव सुर्खेत गुर्भाकोट नगरपालिका पोखरेस्थित भेरी नदी किनारमा आज (बिहीबार) फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतक पुष्पाको दिदीले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
दाङ तुलसीपुर उपमहानगरपालिका– ६ बरुवागाउँकी २१ वर्षीया पुष्पा सिंह फागुन ८ गते सल्यान बनगाड कुपिन्डे नगरपालिका १ जडागौडास्थित भेरी पुलबाट हाम फालेकी थिइन् । श्रीमानसँगै माइतघर आएकी सिंह घुम्न श्रीमानसँगै भेरी पुल पुगेकी थिइन् ।
नदीमा हाम फाल्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।