कांग्रेस सभापति थापाले सर्लाही ४ का लागि ल्याए प्रतिज्ञापत्र

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

कांग्रेस सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का लागि सोमबार प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । 

थापाले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, सामाजिक सुरक्षालगायत विषय समेटेका छन् । थापाले गुणस्तरीय शिक्षाका लागि कापी–कलम अभियान अघि सारेका छन् । गणित, विज्ञान र अंग्रेजी शिक्षक उपलब्ध गराउन र विद्यालयलाई प्रविधिमैत्री बनाउन स्टिम अभियान सञ्चालन गर्ने उनले उल्लेख गरेका छन् 

सुलभ स्वास्थ्यका लागि  स्वस्थ नागरिक अभियान चलाउने उनले बताएका छन् । ‘यस क्षेत्रका स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र पूर्वाधारको व्यवस्थाका गर्नेछाैँ,’ प्रतिज्ञापत्रमा भनिएको छ, ‘घरनजिकै औषधि, परीक्षण, परामर्श र उपचारसहितको स्वास्थ्य सेवाका लागि प्रत्येक स्थानीय तहमा चिकित्सकसहितको कम्तीमा एउटा ‘स्वास्थ्य प्रवर्द्धन केन्द्र’ स्थापना गर्नेछौँ ।’ अस्पताल पुग्न नसक्ने ज्येष्ठ नागरिक, दीर्घरोग भएका बिरामीका लागि घर–आँगनमै विशेषज्ञ डाक्टर पुग्ने गरी ‘मोबाइल क्लिनिक’ र घरमै स्वास्थ्य अभियान सञ्चालन गर्न प्रतिज्ञापत्रमा उल्लेख छ । 

थापाले कृषि उत्थान, किसान गौरव अभियान घोषणा गरेका छन् । जीवनको मुख्य आधार कृषि रहेको सर्लाही क्षेत्रका किसानलाई बिउ, मल र मूल्य समयमा सुनिश्चित गर्न र ऋणको बोझमा थिचिनुपर्ने बेथा अन्त्य गर्ने उनले दाबी गरेका छन् ।  त्यसका लागि उखु बक्यौता भुक्तानी, नजिकै समयमै बिउको सहज उपलब्धता, शीतभण्डार, सिँचाइ विस्तार र न्यूनतम समर्थन मूल्यको ग्यारेन्टी गर्ने उनले बताएका छन् । त्यस्तै, कृषि र परियोजनामा आधारित उद्यमलाई विनाधितो ऋणको व्यवस्था गर्दै कृषि उत्थान किसान गौरव अभियान सञ्चालन गरिने प्रतिज्ञापत्रमा भनिएको छ । मल कारखानालाई मधेशमा स्थापना गर्न पहल गर्ने थापाले बताएका छन् । 

मिसन रोजगारी अभियानमार्फत रोजगारी, अवसर र सिपको अभावले विदेश जानुपर्ने बाध्यतालाई कम गर्न, सिप र बजारबिचको खाडल, पुँजीको अभाव अन्त्य गर्दै युवालाई उद्यमी र स्वरोजगार बनाउने थापाले उद्घोष गरेका छन् ।  

थापाले दशगजा उज्यालो अभियानबाट भारतीय सीमासँग जोडिएको करिब ३० किलोमिटर भूभामा सीमा क्षेत्रमा अत्याधुनिक ‘हाई–मास्ट सौर्य बत्ती’ जडान गर्ने बताएका छन्  । थापाले .महिला तथा बालबालिका, मेरो आवाज, मेरो अधिकार अभियान घोषणा गरेका छन् । जसमार्फत स्थानीय तहको समन्वयमा महिलाको परम्परागत सिप मेला सञ्चालन गरी महिला समूहको जमानीमा महिलालाई दुई प्रतिशत ब्याजमा ‘महिला उद्यमकर्जा’ को व्यवस्था गरी लखपति आमा उद्यमी अभियान चलाउने दाबी छ।

थापाले जनता दलान– सांसदको कार्यालय स्थापना गर्ने बताएका छन् ।

‘काठमाडौंमा रहँदा तपाईंहरूले भोग्नुपर्ने सास्ती र अन्योल अन्त्य गर्न म ‘स्याटेलाइट जनता दलान सञ्चालन गर्छु । मेरो सहयोगी टिमबाट तपाईंहरूलाई काठमाडौंमा रहँदा भोग्नुपर्ने समस्यामा प्रत्यक्ष सहयोग र सहजीकरण हुनेछ,’ प्रतिज्ञापत्रमा भनिएको छ ।

सुझावित समाचार