नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगिताका लागि अक्सनमा नाम दर्ता गराएका छन् । अक्सनका लागि ३१ हजार पाउन्ड न्यूनतम मूल्यमा नाम दर्ता गराएका हुन् । बिबिसीका अनुसार आगामी मार्चमा हुने अक्सनमा १८ राष्ट्रका एक हजार खेलाडीले नाम दर्ता गराएका छन् । अक्सन ११ र १२ मार्चमा हुँदै छ । सन्दीप सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा एक लाख पाउन्डमा अनुबन्ध भएका थिए । तर, भिसा प्रक्रिया ढिलो हुँदा उनी इंग्ल्यान्ड जान पाएनन् ।
द हन्ड्रेड बलमा आबद्ध हुँदा पनि उनले खेल्न पनि पाएनन् । डेढ महिनाअघि बंगलादेशमा भएको बंगलादेश प्रिमियर लिगमा उनी आबद्ध थिए । उनीआबद्ध टोलीले उपाधि जितेको थियो । बंगलादेश प्रिमियर लिगमा सन्दीपले धेरै अवसर नपाए पनि प्राप्त अवसरमा स्तरीय बलिङ प्रदर्शन गरेका थिए ।यसपटकको अक्सनमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र वेस्ट इन्डिजबाट कम्तीमा ५० जना खेलाडीले नाम दर्ता गराएको बिबिसीले जनाएको छ । ‘विश्वप्रसिद्ध खेलाडीले पनि अक्सनमा समावेश भएका छन्,’ बिबिसीले उल्लेख गरेको छ, ‘अस्ट्रेलियादेखि वेस्ट इन्डिजका खेलाडी आएका छन् ।’
पाकिस्तानका ६७ खेलाडी
द हन्ड्रेड बलमा पाकिस्तानका ६७ जना खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन् । इंग्ल्यान्डका पूर्वकप्तान माइकल भनले द हन्डे«ड बलमा सबै राष्ट्रका खेलाडीलाई अक्सनमा छुट भएको बताएका छन् । ‘यस प्रतियोगितामा कुनै नियम राखेका छैनौँ । सकेसम्म धेरै खेलाडी आऊन् भन्ने चाहना हो,’ उनले भने, ‘इंग्ल्यान्डमा हुने द हन्ड्रेड बलको फरक किसिम छ ।’ गत संस्करणमा पाकिस्तानका साहिद अफ्रिदी तथा ह्यारिस राउफले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले यसपटक पनि आफ्नो नाम समावेश गरेका छन् । पाकिस्तानी खेलाडीले आफ्नो बोर्डबाट अनुमति लिएरै अक्सनमा नाम समावेश गरेको भनको भनाइ छ । सन् २००९ देखि पाकिस्तानी खेलाडी इन्डियन प्रिमियर लिगमा आबद्ध छैनन् । आइपिएलबाहेक पाकिस्तानी खेलाडीहरू विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आबद्ध भइरहेका छन् ।
सर्वाधिक मूल्य एक लाख पाउन्ड
द हन्डे«ड बलको अक्सनमा खेलाडीले एक लाख पाउन्डसम्म नाम दर्ता गराएका छन् । पाकिस्तानका सैम आयुब, सदाव खान, मोहमद नवाज तथा नसिम साहले अक्सनमा आफ्नो नाम दर्ता गराउँदा एक लाख पाउन्ड मूल्य राखेका छन् । यसैगरी पाकिस्तानका स्पिनर उस्मान तारिकले पनि एक लाख पाउन्ड नै मूल्य राखेका छन् । यसपटक सहभागी फ्रेन्चाइजले ४५ प्रतिशत पारिश्रमिक बढाएका छन् । इंग्ल्यान्डका जोए रुट, लेग स्पिमर आदिल, विकेटकिपर जोनी बेरिस्टो तथा जोर्दानले पनि अक्सनमा नाम समावेश गरे । चर्चित खेलाडीमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक, डेभिड मिलर तथा एडेन माक्रामसँगै वेस्ट इन्डिजका जासन होल्डर, सेफाने रुथफोर्ड तथा सिमोरान हेटमेयरले पनि अक्सनमा नाम समावेश गरेको बिबिसीले जनाएको छ ।