सेयर कारोबार शिथिल हुँदा करिब ४६ प्रतिशतले घट्यो पुँजीगत लाभकर, सात महिनामा ६ अर्ब संकलन

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो सात महिनामा सेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर ४५.८६ प्रतिशतले घटेको छ । चालू आवको माघसम्म सेयर किनबेचबाट पाँच अर्ब ८८ करोड ९४ लाख २३ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)को तथ्यांक छ । तर, अघिल्लो आवको सात महिनामा सेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर १० अर्ब ८७ करोड ८६ लाख ८७ हजार रुपैयाँ उठेको थियो । गत आवभर भने सरकारले पुँजीगत लाभकरमार्फत १६ अर्ब ५४ करोड ३७ लाख राजस्व संकलन गरेको थियो ।

चालू आवमा सेयर बजारमा देखिएको अस्थिरले पुँजीगत लाभकरमा असर पु¥याएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक कहिले बढ्ने त, कहिले घट्ने भएको भयो । विशेष गरी २३ र २४ को जेन–जी आन्दोलनपछि सेयर लगानीकर्तामा उत्साह बढ्न सकेको छैन । गत असार मसान्तसम्म नेप्से परिसूचक २७९४.७८ विन्दुमा थियो । माघ मसान्तसम्म आउँदा त्यो २६७१.०७ विन्दुमा छ । ५ फागुनमा नेप्से परिसूचक थप घटेर २६४२.१५ विन्दुमा सीमित छ । यो तथ्यांकले नेप्से घट्दो क्रममा देखाउँछ । त्यसले गर्दा लगानीकर्ताले सेयर खरिद–बिक्री गरेर कमाउने नाफा पनि प्रभावित भएको छ । फलस्वरूप सेयर कारोबारबाट उठ्ने करमा प्रत्यक्ष असर पुगेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए । 

‘सेयर बजार बढेर लगानीकर्ताले नाफा कमाएको अवस्थामा पुँजीगत लाभकर संकलन पनि धेरै हुन्छ । बजार घट्दा स्वतः नाफा पनि घट्छ । त्यो अवस्थामा यस्तो कर संकलन कम हुन्छ,’ उनले भने, ‘चालू आवमा लगानीकर्ताले नाफा धेरै कमाउन नसकेको यो देखियो ।’सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ पाँच प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा पाँच प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा भने ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । संस्थागत रूपमा सेयर कारोबार गर्नेले खुद नाफाको १० प्रतिशत कर तिर्नुपर्छ । सेयर कारोबार गर्दा घाटा भएमा कर तिर्नुपर्दैन । पछिल्लो समय लगानीकर्ताले धेरै नाफा कमाउन सकेका छैनन् । 

 कुन महिना कति उठ्यो पुँजीगत लाभकर ?
तथ्यांकअनुसार चालू आवको साउन महिनामा दुई अर्ब १५ करोड ७५ लाख ६९ हजार पुँजीगत लाभकर उठेको थियो । त्यसैगरी, भदौमा ६० करोड १४ लाख ९९ हजार रुपैयाँ, असोजमा २४ करोड ३६ लाख ५६ हजार र कात्तिकमा ३८ करोड पाँच लाख ९९ हजार पुँजीगत लाभकर उठेको थियो । यसैगरी, मंसिरमा ६२ करोड ९८ लाख २० हजार रुपैयाँ, पुसमा ५८ करोड ४३ लाख ५७ हजार रुपैयाँ र माघमा एक अर्ब २९ करोड १९ लाख २० हजार रुपैयाँ पुँजीगत लाभकर उठेको तथ्यांकमा उल्लेख छ । 

गत आवको साउनमा चार अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ, भदौमा दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । यसैगरी, गत आवको मंसिरमा एक अर्ब चार करोड ६ लाख २३ हजार रुपैयाँ, पुसमा ५८ करोड सात लाख ८५ हजार रुपैयाँ र माघमा एक अर्ब पाँच करोड ७० लाख ८८ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।

सुझावित समाचार