भारतबाट भन्सार छली ल्याइएका सात लाखभन्दा बढीको कपडा तथा किराना सामान नाका छलेर आएका अटो तथा मोटरसाइकलबाट सशस्त्र प्रहरी बल सीमासुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको छ । कृष्णनगर क्षेत्रका विभिन्न स्थानबाट मोटरसाइकल तथा अटो प्रयोग गरी लुकाइछिपाई नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा सामान नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका कपडा तथा किराना सामग्री आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल सीमासुरक्षा गुल्म कृष्णनगरका प्रहरी नायब उपरीक्षक मोहन केसीले बताएका छन् । सीमामा हुने अवैध क्रियाकलाप नियन्त्रणका लागि निगरानी कडाइ गरिएको बताउँदै केसीले भने, ‘हामीले विशेष सूचना र नियमित गस्तीका क्रममा भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको करिब सात लाखभन्दा बढीको कपडा तथा किराना सामान अटो, मोटरसाइकल नियन्त्रणमा लिएका छौँ ।’ सीमाक्षेत्रमा हुने अवैध ओसारपसार रोक्न हाम्रो अभियान निरन्तर जारी रहनेछ ।
कानुनविपरीत कार्यमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइने केसीले बताएका छन् । सीमाक्षेत्रमा पछिल्लो समय भन्सार छलीका घटना हुन सक्ने भएकाले सशस्त्र प्रहरीले गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाएको बताएको छ ।