रेड बुल एन्फा महिला च्याम्पियनसिप २०८२ अन्तर्गत आज सम्पन्न रोमान्चक खेलमा संकटा एफसी महिला टोलीले चर्च ब्वाइज युनाइटेड महिला टोलीमाथि ४–१ को सहज जित दर्ता गरेको छ।
उदयपुरको थरूहट रंगशालामा भएको उक्त खेलमा संकटाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गरेको हो।
खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो। पहिलो हाफको ३८औँ मिनेटमा चर्च ब्वाइजका लागि मनिता तुम्रोकले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर, चर्च ब्वाइजको यो खुसी धेरै समय टिक्न सकेन। ३९औँ मिनेटमा संकटाकी सुक्रिया मियाँले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् ।
दोस्रो हाफमा भने संकटाले पूर्ण रूपमा खेल आफ्नो नियन्त्रणमा लियो । संकटाले दोस्रो हाफमा थप ३ गोल थप्दै स्कोर ४–१ पुर्यायो । संकटाका लागि पूर्णिका राईले उत्कृष्ट प्रदर्शन गरिन्, जसका कारण उनले 'प्लेयर अफ द म्याच' को उपाधिसमेत हात पारिन्।
चर्च ब्वाइज युनाइटेडकाे टोलीको नेतृत्व सरिताकुमारी नाथले गरेकी थिइन् भने मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ रहेका थिए । खेलको उत्तरार्धमा चर्च ब्वाइजले गोलरक्षक जसोदा लावतीको स्थानमा रिया राईलाई मैदान प्रवेश गराएको थियो।
संकटा एफसीमा यशोदा शाहीको कप्तानीमा मैदान उत्रिएको संकटालाई प्रशिक्षक रवीन्द्र सिलाकारले रणनीति तयार पारेका थिए। संकटाले दोस्रो हाफको सुरुवातमै झुमा विश्वकर्मा र लुसिया लैला जोसे मोचाम्बिकलाई मैदान छिराएर आक्रामक रणनीति अपनाएको थियो।
जम्मा १० टिम सहभागीमध्ये हालसम्मको खेलबाट गाईघाट फुटबल क्लब, एफसी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट, न्युरोड टिम र चर्च ब्वाइज बाहिरिएकाे छ।
आज जितेको संकटा क्लबले पर्सि सशस्त्र प्रहरीको सामना गर्नुपर्नेछ। आगामी ९ गते फाइनल हुनेछ। प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा रहेको छ।
उपाधि विजेतालाई ७ लाख पचास हजार र उपविजेतालाई ५ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण-पत्र पुरस्कार रहेको छ।