बर्दियाका आठ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर गेरुवा गाउँपालिका देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर गेरुवा गाउँपालिका देखिएको हो ।
स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सूचक तथा प्राप्त विवरणको आधारमा आयोगले १७ वटा सूचकलाई आधार मानेर स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा गर्दै आएको छ । आयोगले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनमा गेरुवा गाउँपालिकाले ४३.४२ अंक प्राप्त गरेको छ। बारबर्दिया नगरपालिकाले ५०.५१ अंक, राजापुर नगरपालिकाले ६१.२४ अंक, बढैयाताल गाउँपालिकाले ६१.५० अंक प्राप्त गरेका छन् । त्यसैगरी, मधुवन नगरपालिकाले ६१.६६ अंक, ठाकुरबाबा नगरपालिकाले ६२.९८ अंक प्राप्त गरेका छन् भने बाँसगढी नगरपालिकाले ६२.१३ अंक र गुलरिया नगरपालिकाले ७२.८१ अंक प्राप्त गरेको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्थानीय तहले आफ्नो क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, स्थानीय तहको गत आर्थिक वर्षको विनियोजित बजेटअनुसार खर्चको अवस्था, आर्थिक वर्ष ०८०/८१ को कुल लेखापरीक्षणबाट औँल्याएको बेरुजुको अवस्था, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे–नगरेको, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे–नगरेकोलगायतको आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन हुँदै आएको छ ।