आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘डी’को रोमाञ्चक खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। डबल सुपरओभरमा गएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि जित निकालेको हो।
बुधबार भारतको अहमेदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८७ रनको योगफल बनाएको थियो। जवाफी ब्याटिङ गरेको अफगानिस्तानले दुई बल बाँकी रहँदै अलआउट हुँदा बराबर रन जोडेपछि खेल सुपरओभरमा गएको हो।
सुपरओभरमा पनि बराबरी भएपछि दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका हाबी भयो। दोस्रो सुपरओभरमा दक्षिण अफ्रिकाले विनाविकेटको क्षतिमा २३ रन बनाउँदा अफगानिस्तानले दुई विकेट गुमाएर १९ रन मात्र बनाउन सक्यो।
यसअघि पहिलो सुपरओभरमा अफगानिस्तानले दिएको १७ रनको लक्ष्य दक्षिण अफ्रिकाले अन्तिम बलमा छक्का प्रहार गर्दै भेट्टाएपछि दोस्रो सुपरओभरमा खेल पुगेको थियो।
समूह ‘डी’मा याे दक्षिण अफ्रिकाकाे लगातार दोस्रो जित हो। यसअघि टोलीले क्यानडालाई ५७ रनले पराजित गरेको थियो। लगातार दोस्रो हारपछि अफगानिस्तानको सुपर ८ सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा अफगानिस्तान न्युुजिल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो।
समूहमा दुई खेलबाट चार अंक जोड्दै न्युजिल्यान्ड शीर्ष स्थानमा छ। युएई र क्यानडाले आफ्नो पहिलो खेलमा हार व्यहोरेका छन्।
नरेन्द्र मोदी मैदानमा अफगानिस्तानले टस जितेर बलिङ रोजेको थियो। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा अफगानिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाउँदा १८७ रन नै बनायो।
दक्षिण अफ्रिकाका लागि रायन रिकेल्टनले २८ बलमा सर्वाधिक ६१ रन जोडेका थिए। उनले पाँच चौका र चार छक्का हिर्काएका थिए। क्विन्टन डी ककले ४१ बलमा ५९ रन बनाए। उनले पाँच चौका र तीन छक्का प्रहार गरेका थिए। डेबल्ड ब्रेभिसले २३ तथा डेबिड मिलरले अविजित २० रनको योगदान गरेका थिए।
अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४२ बलमा पाँच चौका र सात छक्कासहित ८४ रन बनाएका थिए। अज्मतुल्लाह ओमार्जाईले २२ तथा कप्तान रसिद खानले २० रन बनाएका थिए।