प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उदयपुरमा सुरक्षा अनुगमन तीव्र

बुधबार, २९ माघ, २०८२
डिजिटल संस्करण

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले उदयपुर जिल्लामा सुरक्षा अनुगमन तथा निरीक्षण कार्य तीव्र पारिएको छ ।

जिल्लास्तरीय सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा जिल्लाभर सुरक्षा निकायको संयुक्त टोलीले मतदानस्थल तथा केन्द्रहरूको अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गरे–नगरेको विषयमा विशेष ध्यान दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आचारसंहिता उल्लंघन भएको पाइएमा सम्बन्धित पक्षलाई तत्काल सचेत गराउँदै उल्लंघन नगर्न निर्देशन दिइँदै आएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । 

उनका अनुसार हालसम्म जिल्लाका ४७ वटा मतदानस्थल र १४६ वटा मतदान केन्द्रको निरीक्षण तथा अनुगमन सम्पन्न भइसकेको छ । बाँकी मतदानस्थल तथा केन्द्रहरूको अनुगमनलाई अझ प्रभावकारी र तीव्र बनाइने उनले बताए । 

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईं, सशस्त्र प्रहरी बल नेपाल नं. ५ हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याममणि ढकाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक तुलसी कट्टेल तथा नेपाली सेनाको पशुपतिप्रसाद गण, गाईघाटका सेनानी प्रमोद अधिकारीलगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

यस्तै, नेपाली सेनाले निर्वाचनलाई लक्षित गर्दै उदयपुरका आठवटै स्थानीय तहमा पेट्राेलिङ तथा गस्तीलाई तीव्र बनाएको छ। उदयपुर जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत ३५ वटा वडा, ५२ मतदानस्थल र १६० मतदान केन्द्र रहेका छन् भने निर्वाचन क्षेत्र नं. २ अन्तर्गत ४० वटा वडा, ५१ मतदानस्थल र ११५ मतदान केन्द्र निर्धारण गरिएको छ ।
 

सुझावित समाचार