उदयपुरमा पहिलोपटक एन्फाको राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुँदै

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

उदयपुरको सदरमुकाम गाईघाटभित्र पर्ने त्रियुगा नगरपालिका– १३ को थरुहट रंगशालामा पहिलोपटक राष्ट्रियस्तरको फुलबल प्रतियोगिता आयोजना हुनेछ। राजधानीलगायतका ठुला सहरमै सीमित हुने पुरानो धारणा तोड्दै यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रियस्तरको महिला फुटबल च्याम्पियनसिप उदयपुरमा आयोजना गर्ने निर्णय गरेसँगै उदयपुरमा तयारी तीव्र बनाइएको हो ।

एन्फा महासिचव किरण राईले बिहीबार थरुहट रंगशाला निरीक्षण गर्दै पत्रकार सम्मेलन गरेर आगामी चैत १ देखि ९ गतेसम्म ‘एन्फा महिला च्याम्पियनसिप
२०८२’ सञ्चालन हुने जानकारी दिए । एन्फा महिला च्याम्पियनसिप नकआउट प्रतियोगिताका लागि थरुहट रंगशाला उपयुक्त भएको राईको भनाइ छ । उनले भने, ‘यो प्रतियोगितालाई महिला फुटबलका लागि मात्र होइन, राजधानीलगायत ठुला सहरबाहिरका जिल्लाले पनि राष्ट्रियस्तरको खेल आयोजना गर्न सक्छन् भन्ने प्रमाणका रूपमा छ ।’

एकप्रकारले उपेक्षित रहँदै आएको उदयपुर पहिलोपटक राष्ट्रिय महिला फुटबल प्रतियोगिताको साक्षी बन्ने भएको छ । एन्फाका महासचिव राईले थरुहट रंगशालाले आवश्यक मापदण्ड पूरा भएकाले प्रतियोगिता उदयपुर ल्याइएको बताए। ‘राष्ट्रिय प्रतियोगिता आयोजना गर्न उपयुक्त पूर्वाधार उदयपुरमा छ,’ यनले भने, ‘यो निर्णयले फुटबलको पहुँच राजधानीबाट जिल्लासम्म विस्तार गर्नेछ। उदयपुरको फुटबल क्षेत्रको विकासमा पनि सहयोग पुर्याउनेछ ।’

राईका अनुसार प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टिम, नेपाल पुलिस क्लब, एफसी रियल चर्च ब्वाइज युनाइटेड, छाहारी वाइसी, त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, आरएस स्पोर्टस् क्लब र संकटा एफसीसहित १० टोलीको सहभागिता रहनेछ। नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको विजेताले सात लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागी सबै टोलीको यातायात र बसोबास खर्च एन्फाले व्यहोर्नेछ ।

जिल्ला फुटबल संघ उदयपुरको समन्वयमा आयोजना हुने प्रतियोगिताका लागि थरुहट रंगशालाको मर्मत तथा व्यवस्थापनको काम तीव्र रूपमा अगाडि बढाइएको छ । जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्कीले एक साताभित्र सम्पूर्ण तयारी सकिने दाबी गरेका छन् । ‘अहिले प्राविधिकसहितको टोलीले खेलमैदानको मर्मत गरिरहेको छ ।’

राजधानीकेन्द्रित खेल संरचना र अवसरमाथि प्रश्न उठाइरहेका वेला उदयपुरमा महिला फुटबलको राष्ट्रिय च्याम्पियनसिप आयोजना हुनु महिला खेलकुद,
समावेशिता र क्षेत्रीय सन्तुलनका दृष्टिले महत्त्वपूर्ण भएको खेलप्रेमीको भनाइ छ । उदयपुर गोल्डकपको सातौँ संस्करणदेखि बन्द छ । गत जेठ ०७६ मा छैटौँ
संस्करण सम्पन्न भएपछि प्रायोजक अभावका कारण सातौँ संस्करणको गोल्डकप हुन नसकेपछि उदयपुरमा ठुला प्रतियोगिता हुन छाडेको थियो ।

छैटाैँ उदयपुर गोल्डकप मूल आयोजक समितिका संयोजक रमाकान्त चौधरीले धेरैपछि अब ‘एन्फा महिला च्याम्पियनसिप २०८२’ ले उदयपुर गोल्डकपको झल्को मेटाउने बताए । उनले भने, ‘उदयपुर गोल्डकप संस्थागत रूपमा चल्न सक्ने भएको छैन, आयोजना गर्नुपरे चन्दा, सहयोग र प्रयोजक नै खोज्नुपर्ने अवस्था छ ।’

राष्ट्रिय प्रतियोगिताअन्तर्गत उदयपुरमा २०७३ सालमा राष्ट्रिय खेलकुद परिषद्को सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत उदयपुरमा आर्चरी खेल भएको थियो । जानकारहरूका अनुसार त्यसअघि २०४२ सालमा नेपालको राष्ट्रिय कबड्डी प्रतियोगिता उदयपुरमा भएको बताइन्छ । ०६८ सालमा त्रियुगा उच्च माध्यमिक विद्यालयको खेलमैदानमा पहिलो उदयपुर गोल्डकप आयोजना भएको थियो । त्यसपछि आधुनिक खेलमैदानको परिकल्पना गर्दै थरूहट रंगशाला निर्माण भएको थियो । उदयपुर गोल्डकप आयोजना हुन थालेपछि जिल्लाबाहिर बजार कटारी बेल्टरमा पनि स्थानीयस्तरका गोल्डकप आयोजना हुन थालेका छन् ।
 

See More On

सुझावित समाचार