- ०२९ देखि सञ्चालन भएको जीवन बिमा सुरुवातका वर्षहरूमा खासै विस्तार हुन सकेन, जसकारण ०७४ अघिसम्म जीवन बिमाको पहुँचमा करिब सात प्रतिशत मात्रै, तर कोरोना, प्राकृतिक प्रकोपलगायतले क्षति बढ्न थालेपछि दायरा ५० प्रतिशत विस्तार
बिमा प्राधिकरणले पुस मसान्तसम्म तयार गरेको तथ्यांकअनुसार ५० प्रतिशत नागरिकमा जीवन बिमाको पहुँच विस्तार भएको छ ।
०२९ देखि जीवन बिमा सुरु भए पनि सुरुवातको केही वर्ष सेवा विस्तार हुनै सकेन । जसकारण ०७४ अघिसम्म जीवन बिमाको पहुँचमा करिब सात प्रतिशत नागरिक मात्रै समेटिएका थिए । तर, पछिल्ला वर्षहरूमा भने बिमा सचेतना वृद्धि भएसँगै दायरा पनि विस्तार भएको प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणका अनुसार नयाँ कम्पनीको आगमन, सबै जिल्लामा बिमा कम्पनीको शाखा विस्तार, बढ्दो बिमा सचेतनालगायतका कारण पहुँच वृद्धि भएको हो । एक वर्षअघि गत आव ०८१/८२ को पुस मसान्तसम्म बिमा पहुँच ४३.६२ प्रतिशत थियो । असार मसान्तसम्म बढेर ४८.३३ प्रतिशत विन्दुमा पुगेको थियो । चालू आव ०८२/८३ को ६ महिनामा थप बढेर ५० प्रतिशत पुगेको हो ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषकराज पौडेलले पछिल्लो समय बिमामा नागरिकको आकर्षण बढेकाले दायरा पनि विस्तार भएको बताए । ‘कोरोना, प्राकृतिक प्रकोपलगायतका विभिन्न घटनाक्रमले आमनागरिकलाई बिमाको महत्व देखाएको छ । जीवनलाई आर्थिक रूपमा सुरक्षित बनाउनुपर्छ भन्दै जीवन बिमा गर्नेको संख्या थपिँदै गएको छ,’ उनले भने, ‘त्यसले गर्दा बिमा पहुँच पनि बढ्दै गएको हो ।’ तथ्यांकअनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बिमासहित बिमाको पहुँच सो विन्दुमा पुगेको हो ।
१२ लाख ३१ हजार पोलिसी नवीकरण गर्न बाँकी
प्राधिकरणको तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरूमा १२ लाख ३१ हजार ६ सय ५० वटा पोलिसी नवीकरण नभई (व्यतीत भएर) बसेका छन् । यो गत आवको यसै अवधिको तुलनामा ०.१७ प्रतिशत मात्रै बढी हो । गत आवको पुस मसान्तसम्म यस्तो संख्या १२ लाख २९ हजार पाँच सय ६ थियो ।
रकमका आधारमा व्यतीत बिमा ३७ अर्ब ८० करोड ७६ लाख रुपैयाँ छ, जुन गत आवको पुस मसान्तसम्मको तुलनामा ४.५६ प्रतिशत हो । गत आवको पुस मसान्तसम्म व्यतीत भएर बसेको बिमाको रकम ३६ अर्ब १६ करोड ८९ लाख थियो ।
बिमितले सामान्यत १० वर्ष, १५ वर्ष, २० वर्ष, २५ वर्ष अवधि राखेर बिमा गर्ने प्रचलन छ । त्यसका लागि बिमितले हरेक वर्ष बिमाशुल्क तिर्नुपर्छ । उक्त शुल्क नतिरेको अवस्थामा पोलिसी व्यतीत अर्थात् नवीकरण नभई बस्छ । त्यसपछि बिमाले जोखिम रक्षावरण गर्दैन । बिमा अवधि सकिएपछि बिमितले रकम भने बोनससहित फिर्ता पाउने गर्छन् । साथै, बिचमा कुनै पनि वेला बक्यौता र विलम्ब शुल्क तिरेर पोलिसी नवीकरण गर्न सक्ने प्रावधान छ ।
एक करोड ६२ लाख पुग्यो सक्रिय बिमा लेख
पुस मसान्तसम्म सक्रिय बिमा लेखको संख्या एक करोड ६२ लाख ५० हजार एक सय ३६ पुगेको छ । गत आवको पुससम्म यस्तो संख्या एक करोड ४० लाख ४१ हजार तीन सय ५३ र असारसम्म एक करोड ५६ लाख ३० हजार नौ सय ९९ थियो । कतिपय व्यक्तिले दुईवटाभन्दा बढी बिमालेख खरिद गरेका छन् । तसर्थ, कुल सक्रिय जीवन बिमालेखलाई पाँच प्रतिशतले घटाएर बिमा पहुँच गणना गरिन्छ । सोहीअनुसार बिमा पहुँच ५० प्रतिशत कायम गरिएको हो ।
१६.४७ प्रतिशतले बढ्यो व्यवसाय
चालू आवको ६ महिनामा जीवन बिमा व्यवसाय १६.४७ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा एक खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँबराबरको बिमाशुल्क संकलन भएको थियो । चालू आवको ६ महिनामा भने यस्तो संकलन एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ छ ।
घट्यो सरेन्डर, निष्क्रिय बिमा लेख भने बढ्यो
समीक्षा अवधिमा जीवन बिमा सरेन्डर संख्या ६.१३ प्रतिशत घटेको छ । गत आवको पहिलो ६ महिनामा सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँबराबरको ५४ हजार चार सय १४ बिमालेख सरेन्डर भएको थियो । चालू आवको ६ महिनामा भने पाँच अर्ब ६९ करोड २१ लाख रुपैयाँबराबरको ५१ हजार ७७ वटा पोलिसी सरेन्डर गरिएको छ । यो भनेको पोलिसी बन्द गरेर बिमितले लगेको भुक्तानी रकम हो । आर्थिक गतिविधि बढ्दै गएपछि बिमा सरेन्डर पनि घट्न थालेको हो । गत आवसम्म बिमा सरेन्डर बढ्दो क्रममा थियो । बिमा गरेको तीन वर्षपछि सरेन्डर गरेर आफूले तिरेको रकम र आर्जिक बोनस लिन पाइने प्रावधान छ ।