वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अस्वाभाविक मूल्यवृद्धि नगर्न व्यवसायीलाई निर्देशन दिएको छ । विभागका निर्देशक नरहरि तिवारीका अनुसार अहिले खानेतेल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको स्थलगत निरीक्षणकै क्रममा फेला पारेकाले व्यवसायीलाई मूल्य नियन्त्रण गर्न निर्देशन दिइएको हो ।
‘अहिले उपभोक्ताप्रतिकूल हुने गरी खाद्य वस्तुलगायतको मूल्य बढेको छ । अहिले भइरहेको मूल्यवृद्धि मान्य हुने स्थिति छैन । अहिले मूल्य बढ्ने वेला पनि होइन,’ उनले भने, ‘त्यसैले मूल्य बढ्नुको स्पष्ट आधार र कारणसहित पेस हुनुस्, नत्र आफैँ मूल्य नियन्त्रणका औजार प्रयोग गर्नुस् भनेर व्यवसायीलाई निर्देश गरेका छौँ,’ उनले भने । व्यवसायीले पनि खरिद लागत पुनर्मूल्यांकन गरी बजारभाउ समायोजनका लागि पहल गर्ने जानकारी दिएको उनले बताए ।
खुद्रा व्यवसायीका अनुसार खानेतेल प्रतिकार्टुन दुई सय ६५ रुपैयाँ, जिरा मसिनो चामल प्रतिबोरा एक सय र लङग्रेन चामल प्रतिबोरा दुई सय रुपैयाँसम्म बढेको छ । खुद्रा बजारमा सनफ्लावर तेल प्रतिकार्टुन २३ सय ८५ रहेकोमा अहिले बढेर २६ सय ५० पुगेको छ । जसकारण सनफ्लावर तेल प्रतिलिटर २० रुपैयाँसम्म बढेको छ ।
विभागले विज्ञप्ति निकालेर उपभोक्ताप्रतिकूल व्यवसाय गर्नेलाई कानुनअनुसार कारबाही भइरहेको पनि जानकारी दिएको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारी पहल कम भइरहेको बताए । उनले अनुगमन संयन्त्रलाई चुस्त बनाउन सके बजार मूल्य केही भए पनि घट्ने बताए । ग्यास आपूर्ति असहज बनिरहेको गुनासो बढेपछि विभागले उपत्यकामा रहेका केही ग्यास उद्योग डिलरमा अनुगमन गरेको छ । विभागका अनुसार सिद्धार्थ ग्यास, गौरीशंकर ग्यास र सगरमाथा ग्यासको डिलर तथा वितरककहाँ पुगेर मौज्दात र खुद्रा बिक्रीको अवस्थाबारे जानकारी संकलन भएको छ ।