अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) एकदिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफीको ‘ड्र’मा दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई एउटै समूहमा राख्ने गरिन्छ । सन् १९९२ को विश्वकपदेखि भारत र पाकिस्तानबिच समूह चरणमै प्रतिस्पर्धा भइरहेको छ । आइसिसीले यी दुईबिचको प्रतिस्पर्धाबाट करोडौँ डलर आम्दानी गर्ने उद्देश्यले पनि उनीहरूलाई एउटै समूहमा राख्ने गरेको हो । यसपटकको टी–२० पुरुष विश्वकपमा पनि भारत र पाकिस्तान एउटै समूहमा छन् ।
तर, पाकिस्तानले भारतमा नखेल्ने बताइसकेको छ । जसका कारण आइसिसी र टिभी राइट पाएको कम्पनीले करोडौँ अमेरिकी डलर घाटा व्यहोर्नुपर्ने अवस्था आएको छ । समग्रमा ३४ वर्षभित्र भारत र पाकिस्तानबिच २२ पटक प्रतिस्पर्धा भइसकेको छ । आइसिसीकै तथ्यांकअनुसार यी दुई राष्ट्रबिचको एक खेलमा २८ करोडभन्दा समर्थक हुने गर्छन् । सन् १९९२ मा उनीहरू पहिलोपटक विश्वकपमा भिडेका थिए । त्यसपछि भारत र पाकिस्तानले नौ एकदिवसीय, नौ टी–२० र नौपटक नै आइसिसी च्याम्पियन्स ट्रफीमा प्रतिस्पर्धा गरेका छन् । भारतीय मिडियाले दुई कट्टर प्रतिद्वन्द्वीलाई एकै समूह राख्नुका कारण विश्लेषण गरेका छन् ।
ग्लोबल मेघा इभेन्ट
भारत र पाकिस्तानबिचको खेल केवल प्रतिस्पर्धा मात्र नभएर ग्लोबल मेघा इभेन्ट पनि हो । क्रिकेट इतिहासमा सर्वाधिक रुचाइएको र हेरिएको खेलमा दुई राष्ट्रबिचको प्रतिस्पर्धा पर्छ । भारत र पाकिस्तानका करिब २७ करोड दर्शकले टेलिभिजनमा लाइभ हेरेको टाइम्स अफ इन्डियाले जनाएको छ । सन् २०१९ को एकदिवसीय विश्वकपमा कुल ४८ खेलमा डिजिटल प्लेटफर्ममार्फत ७० करोड ६० लाख समर्थकले हेरेका थिए । प्रतिखेल दर्शक औसत एक करोड ४७ लाख थियो । सोही विश्वकपमा भारत र पाकिस्तानबिचको खेल २७ करोडले हेरेका थिए । जुन विश्वकपको समग्र भ्युअरको ३५ प्रतिशत हिस्सा थियो । आइसिसीले दर्शकको संख्या तथा डिजिटल प्लेटफर्मबाट व्यापक आम्दानी गर्ने उद्देश्यले पनि भारत र पाकिस्तानलाई एउटै समूहमा राख्ने गरेको भारतीय एजेन्सीको भनाइ छ ।
टिभी राइटको दबाब
आइसिसीले सन् २०२४ देखि २०२७ अवधिमा आयोजना हुने विश्वकपदेखि च्याम्पियन्स ट्रफीसम्मको टिभी राइट तीन अर्ब अमेरिकी डलरमा बिक्री गरिसकेको छ । टिभी राइट पाएका कम्पनीहरूले भारत र पाकिस्तानबिचको खेलमा प्रतिमिनेटको विज्ञापनबाट हजारौँ अमेरिकी डलर आर्जन गर्ने योजना बनाइसकेका छन् । यी दुई राष्ट्रबिचको लाइभ चलिरहँदा लाइभ देखाउने टिभी कम्पनीहरूले चर्को मूल्यमा विज्ञापन समय बिक्री गरेको एजेन्सीको भनाइ छ । जसका कारण उनीहरू एकै खेलबाट मालामाल हुन्छन् । साथसाथै अर्को फाइदा भनेको टिआरपी पनि हो । विज्ञापनबाट आम्दानी गर्ने र टिआरपी बढाउने उद्देश्यले पनि भारत–पाकिस्तानबिचको खेल एकै समूहमा हुने गरेको हो ।
क्रिकेट पर्यटक बढाउने उद्देश्य
भारत र पाकिस्तानबिचको खेल हुँदा समर्थकको घुइँचो लाग्छ । घरेलु वा विदेशी भूमिमा प्रतिस्पर्धा हुँदा रंगशाला फुल हाउस नै हुन्छ । भारत र पाकिस्तानका हजारौँ समर्थक विदेशी भूमिमा समेत जान्छन् । जुन एक किसिमले अन्तर्राष्ट्रिय खेल पयर्टन हो । यसले सानादेखि ठुला होटेल व्यवसायको व्यापारसमेत राम्रो हुन्छ । सन् २०१५ मा अस्ट्रेलियाले आयोजना गरेको विश्वकपमा भारत र पाकिस्तानबिचको खेल मेलबर्नमा थियो । जहाँ ३० हजार भारतीय समर्थक रंगशाला पुगेका थिए । यो खेलका लागि अन्तर्राष्ट्रिय टिकट, लोकल यातायात, होटेल बुकिङ र रेस्टुरेन्टसमेतका मूल्य अकासिएको थियो ।
क्रिकेटको ‘एल क्लासिको’
फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबिचको खेललाई ‘एल क्लासिको’ भनिन्छ । स्पेनिस ला लिगामा यी महारथी क्लबिचको प्रतिस्पर्धा हेर्न कोही पनि मिस गर्दैनन् । समर्थकहरू सकेसम्म रंगशालामै जाने गर्छन् । टिकट पाउन सकिएन भने टिभीमै हेर्छन् । क्रिकेटमा पनि भारत र पाकिस्तानबिचको खेललाई ‘एल क्लासिको’ नै भन्ने गरिन्छ ।