पाकिस्तानले विश्वकप खेल्ने, तर भारतविरुद्धको खेल बहिष्कार

सोमबार, २० माघ, २०८२
डिजिटल संस्करण

पाकिस्तानले २०२६ को टी–२० विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने भएको छ । पाकिस्तान सरकारले आफ्नो आधिकारिक ‘एक्स’ अकाउन्टबाट आगामी साताबाट सुरु हुने विश्वकपमा भारतविरुद्ध नखेल्ने जानकारी दिएको हो । सरकारले पाकिस्तानी टोलीलाई प्रतियोगिताका लागि श्रीलंका यात्रा गर्न अनुमति दिएको छ । ‘पाकिस्तान क्रिकेट टोली १५ फेब्रुअरी २०२६ मा भारतविरुद्धको निर्धारित खेलमा मैदानमा उत्रनेछैन,’ एक्समा उल्लेख छ । 

यसअघि सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसिसीले २४ जनवरीमा उसलाई प्रतियोगिताबाट निष्कासित गरेको थियो । आइसिसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकप खेल्न अवसर दिएको छ । बंगलादेशको अडानमा समर्थन गर्ने पाकिस्तान मात्र थियो । बंगलादेश बाहिरिएपछि पाकिस्तानले आइसिसीलाई भारतको पक्षमा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको थियो । सुरुमा पाकिस्तानले विश्वकप नै बहिष्कार गर्ने चेतावनी आयोजक र आइसिसीलाई दिएको थियो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष मोहसिन नकवीले आफ्नो देशले प्रतियोगितामा भाग लिने वा नलिने भन्ने अन्तिम निर्णय सरकारमा निर्भर रहने बताएका थिए । 

उनले सरकारको निर्णय स्वीकार गर्ने जनाए । गत शुक्रबार प्रधानमन्त्री साहबाज सरिफसँग उनले भेटका थिए । अहिले पाकिस्तानले प्रतियोगिता बहिष्कार नगरी भारतविरुद्धको खेल नखेल्ने मात्र निर्णय गरेको एक्सले जनाएको छ । पाकिस्तानले समूह ‘ए’मा भारत, नामिबिया, नेदरल्यान्ड्स र अमेरिकासँग खेल्नेछ । पाकिस्तानले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ । 

सुझावित समाचार