राष्ट्रिय लिगमा मिलनको पहिलो ह्याट्रिक

शुक्रबार, १७ माघ, २०८२
डिजिटल संस्करण
  • लिगको ३५औँ खेलमा चर्च ब्वाइजका स्ट्राइकर मिलन राईको नवजनजागृतिविरुद्ध प्रतियोगिताकै पहिलो ह्याट्रिक 

चर्च ब्वाइज युनाइटेडका मिलन राई राष्ट्रिय लिग फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । बिहीबार भएको लिगको ३५औँ खेलमा उनले नवजनजागृती युवा क्लबविरुद्ध ह्याट्रिक गरेका हुन् । उनकै उत्कृष्ट प्रदर्शनमा ०७९ को सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ६–१ को फराकिलो अन्तरले विजयी भयो । जितपछि चर्च ब्वाइज ७ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । लिगमा उसको यो दोस्रो जित हो । लगातार खेलमा पराजित जनजागृति लिगमा सहभागी १७ टोलीमध्ये पुछारमा छ । एन्फा प्रेसिडेन्टबाट छनोट भएको जनजागृति क्लबविरुद्ध चर्च ब्वाइजका विदेशी खेलाडी अबायोमी फाकुन्लेले दुई तथा कप्तान एरिक विष्टले एक गोल गरेका थिए । 

लिग चरणमा १३६ मध्ये ३५ खेल सम्पन्न भएका छन् । चर्च ब्वाइज र जनजागृतिबिचको खेलसँगै लिगमा सय गोल पनि पूरा भएको छ । खेलको ६१औँ मिनेटमा मिलनले गरेको ह्याटिक गोल नै समग्रमा लिगकै सय गोल रह्यो । लिगमा फ्रेन्ड्स क्लबका खेमराज श्रेष्ठले पहिलो आत्मघाती गोल गरेका थिए । उनले काँक्रेबिहार क्लबसँगको प्रतिस्पर्धामा आत्मघाती गोल गरेका हुन् । मिलनले जनजागृतिविरुद्ध २०औँ, ४१औँ र ६१औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । उनले लिगमा चार खेलबाट सर्वाधिक पाँच गोल गरेका छन् ।

धेरै गोल गर्ने सूचीमा उनी शीर्ष स्थानमा छन् । यसयअघि उनले एपिएफ र जावलाखेल युथ क्लबविरुद्ध समान एक गोल गरेका थिए । चर्च ब्वाइजको जितमा फाकुन्लेले तेस्रो र ३१औँ मिनेटमा गोल गरे । कप्तान एरिकले आठौँ मिनेटमा टोलीलाई १–० को अग्रता दिलाएका थिए । जनजागृतिका जोहान बोइरले ८१औँ मिनेटमा एक गोल फर्काएका थिए । 

एनआरटी दोस्रो स्थानमा
बिहीबार भएको अर्को खेलमा संकटा क्लबविरुद्ध ३–१ को जित निकाल्दै न्युरोड टिम (एनआरटी) दोस्रो स्थानमा उक्लिएको छ । विवादास्पद खेलमा दुवै टोली अन्तिम समय १० खेलाडीमा सीमित भएका थिए । एनआरटीको जितमा कप्तान कृतिशरत्न छुन्जू र विदेशी खेलाडी टिमोथी ओकेरेकेले समान एक गोल गरेका थिए । संकटाका कृष्णबहादुर आलेले एक गोल गरे । संकटाका वेल्डपांगा गिल्बेर्टले आत्मघाती गोल गरे । जितपछि एनआरटीले मच्छिन्द्र क्लबलाई दोस्रोबाट तेस्रो स्थानमा पुर्याएको छ । लिगको शीर्ष स्थानमा एपिएफसँगै एनआरटी र मच्छिन्द्रले समान १२ अंक बनाएका छन् । विभागीय टोली एपिएफ गोलअन्तरमा शीर्ष स्थानमा छ । प्रेसिडेन्ट लिगबाट छनोट भएको लालीगुराँस संघ १० अंकसहित चौथो स्थानमा छ । त्रिभुवन आर्मी ८ अंकसहित पाचौँ स्थानमा रह्यो । आयोजक अखिल नेपाल फुटबल संघले शुक्रबार र शनिबार खेल नहुने जनाएको छ । 

दुई खेलाडीले पाए रातो कार्ड
एनआरटी र संकटाबिचको प्रतिस्पर्धा पहिलो हाफदेखि नै तनावपूर्ण रह्यो । प्रतिस्पर्धामा एनआरटी र संकटाका समान एक खेलाडीले रातो कार्ड पाए । संकटाका ड्यानिए ब्राडारुले २४औँ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएका थिए । रेफ्री नवीन्द्र महर्जनले ब्राडारुलाई (दोहोरो पहेँलो) कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए । 

यसअघि ब्राडारुले खेलको तेस्रो मिनेटमै चेतावनीका रूपमा पहेँलो कार्ड पाइसकेका थिए । खेलको २४औँ मिनेटमा विपक्षी खेलाडीलाई ट्याकल गरेपछि उनले दोस्रो पहेँलो कार्ड सामना गरे । संकटाका मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले खेलाडीलाई दोस्रोपटक चेतावनी दिनुपर्ने बताए । रेफ्रीले नियतवश नै लगातार कार्ड देखाएको आरोप सिलाकारले लगाएका छन् । यसैगरी, खेलको ८६औँ मिनेटमा एनआरटीका टिमोथीले सुरुमा पहिलो पहेँलो कार्ड पाएका थिए । अनावश्यक रूपमा उनी रेफ्रीविरुद्ध विवाद गर्न पुगे । त्यसपछि टिमोथी संकटाका खेलाडीसँग झगडा गर्न पुगे । रेफ्री महर्जनले उनलाई दोस्रो पहेँलो कार्डसहित रातो कार्ड देखाए । टिमोथीले अर्को खेल गुमाउनेछन् ।

सुझावित समाचार