- विगतको भन्दा मूल्य बढेकाले उखु कटान र ढुवानीमा बढ्यो किसानको जाँगर, उत्पादन पनि वृद्धि भएको अनुमान
प्रमुख नगदे बाली भित्र्याउन मोरङ, सुनसरी, नवलपरासी, कपिलवस्तु, कैलाली, कञ्चनपुर र मधेशका आठै जिल्लाका किसान यतिवेला उखुबारीमा व्यस्त छन् । २१ फागुनको निर्वाचनमा उठेका कतिपय उम्मेदवारले त उखुबारीमै पुगेर किसानसँग मत मागिरहेका छन् ।
किसानले बारीमा काटेको उखु तुरुन्तै चिनी मिलमा पठाउने र एक साताभित्रै नगद पाउने प्रणाली छ । उखु उत्पादक किसान संघका अध्यक्ष श्यामबाबु रायले प्रत्येक साता किसानले भुक्तानी पाउने गरी चिनी मिलहरूले कार्यतालिका नै प्रकाशित गरेर पैसा दिने गरेको बताए । यो वर्षका लागि सरकारले अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल ६ सय ९० रुपैयाँ निर्धारण गरेकाले किसानमा उत्साह छाएको पनि उनले बताए । ‘विगतको तुलनामा यसपटक उखुको भाउ राम्रो छ, त्यसैले बारीमा जाँगर चलाएर उखु काट्ने र त्यहाँबाट ट्र्याक्टरमा ढुवानी गरेर चिनी मिलसम्म उखु लैजाने गरिएको छ,’ उनले भने । किसानले काटेको उखु उतिवेलै उद्योगमा ढुवानी गरेर लगिने गरिएको छ । मिलमा उखु तौलिएर पुर्जी लिएको एक सातामा किसानले पाउनुपर्ने रकम बैंक खातामै आउने प्रणाली छ ।
मिलमा पुगेका उखुका लाँक्रा तत्कालै पेलेर चिनी बनाउने र उक्त चिनी पनि उद्योगले डिलरहरूलाई बिक्री गरिहाल्ने भएकाले किसानलाई भुक्तानी गर्न सहज छ । अहिले देशभरका १४ वटै मिल सञ्चालनमा छन् । चिनी उद्योग संघका अनुसार कञ्चनपुरमा भागेश्वर सुगर एन्ड केमिकल र महाकाली सुगर मिल सञ्चालनमा छन् । त्यस्तै, सर्लाहीमा अन्नपूर्ण, इन्दुशंकर र महालक्ष्मी सुगर मिल छन् । नवलपरासीमा बागमती खाँडसरी र इन्दिरा सुगर मिल, सुनरीमा इस्टर्न सुगर मिल, सिराहामा हिमालय सुगर मिल, महोत्तरीमा एभरेस्ट सुगर मिल, बारामा रिलायन्स सुगर मिल र रौतहटमा श्रीराम सुगर र बाबा बैजुनाथ सुगर मिल छन् ।
विगतको बक्यौता समस्या पनि सुल्झिएकाले किसान थप उत्साहित भएको अध्यक्ष रायले बताए । ‘उखुको बक्यौता छैन,’ उनले भने, ‘यो वर्ष भने सुरुवातमा प्रत्येक हप्ता पैसा आइरहेको थियो र १३ पुसमा किसानले पैसा पाउने कार्यतालिका केही उद्योगले ल्याएका छैनन्, तर पनि छिट्टै पैसा पाउने कुरामा आशावादी छौँ,’ उनले भने । सर्लाही सबैभन्दा धेरै उखु उत्पादन हुने जिल्ला हो । त्यसैले सर्लाहीमा तीनवटा उद्योग सञ्चालनमा छन् । बक्यौता नरहेको र समर्थन मूल्य पनि राम्रो पाएकाले यो वर्ष दुई करोड क्विन्टलभन्दा बढी उखु क्रसिङ हुने अनुमान छ ।
उखु खेतीले जीवनस्तरमै ल्यायो परिवर्तन
बेलडाँडी– ४, वैवाहका युवा किसान दिलप्रसाद शर्माले उखु खेतीले स्वरोजागर बनाएको बताए । ‘मेरो परिवारले २० वर्षदेखि उखुखेती गर्दै आएको थियो, उतिवेला गाउँमा गुड उत्पादन गर्ने कोलु मात्रै थिए, अहिले जिल्लामा दुई ठुला चिनी उद्योग सञ्चालनमा आएका छन्, मैले विदेश जानुभन्दा अरूको जमिन पनि भाडामा लिएर उखुखेती गरिरहेको छु,’ उनले भने, ‘अन्य किसानको उखु पनि मिलसम्मै ओसार्छु ।’ शर्माले कञ्चनपुरमा आठ बिघा र बर्दियामा समेत ६ बिघा जमिनमा उखुखेती गरेका छन । उनले वार्षिक एक करोडको कारोबार गर्दै आएको बताए । कञ्चनपुरमा भागेश्वर र महाकाली दुईवटा चिनी उद्योग सञ्चालनमा छन् । जिल्लामै दुई ठुला उद्योग सञ्चालन हुँदा भारत लगेर उखु बेच्नुपर्ने विगतको बाध्यता हटेको किसानको प्रतिक्रिया छ ।
पुनर्वास नगरपालिका– ९ का निवर्तमान वडाध्यक्षसमेत रहेका उखु किसान नारायणप्रसाद जैसीले आर्थिक समृद्धिको आधार उखु भएको बताए । उनी आफ्नै पाँच बिघा र अन्यको जग्गासमेत भाडामा लिएर २५ वर्षदेखि उखुखेती गर्दै आएका छन् । ‘विगतमा हामीले भारतमा पनि उखु बेच्दै आएका थियौँ, ‘उनले भने, ‘अहिले त स्वदेशमै पनि उखु क्रसिङ गर्ने उद्योग सञ्चालनमा आएका छन्, हामीलाई सहज भएको छ ।’
बेलौरी नगरपालिका– १०, सडकघाटका चक्रबहादुर कडायतले ३२ बिघा जमिनमा उखु खेती गरेका छन् । ‘मैले २२ वर्षदेखि उखुखेती गर्दै आएको छु,’ उनले भने, ‘स्वदेशमा चिनी मिल हुँदा बेच्न र पैसा पाउन सजिलो भएको छ ।’ वार्षिक ५० देखि ६० लाखको उखु बेच्दै आएका उनले मल, बिउ र औषधिको भने दु:ख रहेको बताए । चिनी उद्योगले चाँडै भुक्तानी दिने गरेकाले किसानलाई सुविधा भएको उनले बताए ।
बेलडाँडी– ४ का रनीसिंह धामीले सुरुवातमा १० कट्ठा जमिनबाट खेती थालेका थिए । आम्दानी राम्रो भएपछि अहिले डेढ बिघामा नियमित खेती गर्ने गरेको सुनाए । घरपरिवारका लागि उखु राम्रो आम्दानीको स्रोत भएको बताए । तर, पछिल्लो समय सरकारी अनुदान लिन झन्झट भइरहेको उनको गुनासो छ ।
चिनी मिलसम्म उखु लैजन भ्याइनभ्याइ
७ पुसदेखि सञ्चालनमा आएको महोत्तरीको गौशाला नगरपालिका– १, रामनगरस्थित देशकै सबैभन्दा ठुलो क्षमताको एभरेस्ट चिनी मिलपरिसरमा किसानले ल्याएको उखुको चाङ छ । मिलले हालसम्म करिब आठ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । दैनिक ट्याक्टर, बयलगाडा, टायरगाडा र ट्रकमै लोड गरी किसानले उखु ल्याउने क्रम जारी छ । उखु जोख्न किसानले पालो कुनुपर्ने बाध्यता छ ।
गौशाला– १२, पररियाका राजेशसिंह कुशवाहाले बारीको उखु काटेर मिललाई दिन हतार भइरहेको बताए । यो वर्ष मिलले पैसा नदिने हो कि भन्ने चिन्ता पनि नभएको उनले सुनाए । ‘सबै किसानलाई मिलले नियमित भुक्तानी गर्दै आएको छ । तर, सरकारले अनुदानबापतको पैसा नदिने हो कि भन्ने चिन्ता छ,’ उनले भने ।
करिब नौ हजार ६ सय बिघा जग्गामा १३ हजार कृषकले उखु उब्जाएको उखु उत्पादक कृषक संघ, महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिए । यो वर्ष जिल्लाभर करिब ३० लाख क्विन्टल उखु उत्पादन भएको उनको अनुमान छ । सबै किसानलाई अहिले उखु काटेर मिलसम्म पुर्याउन भ्याइनभ्याइको अवस्था रहेको उनले बताए ।
एभरेस्ट चिनी मिलका वित्त प्रबन्धक विमलचन्द्र ठाकुरले चैत पहिलो सातासम्म मिल सञ्चालन हुने बताए । प्रत्येक दिन क्षमताअनुसार उखु क्रसिङ भइरहेको उनले जानकारी दिए । महोत्तरीको सबै उत्पादन र सर्लाहीको फुलजोर खोलापूर्वका किसानले उखु खरिद गरेर क्रसिङ भइरहेको उनले बताए ।