हिमपात नहुँदा ताप्लेजुङका किसान चिन्तित, कालापत्थर बने पहाड

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण
हिमपात नहुँदा ताप्लेजुङका किसान चिन्तित, कालापत्थर बने पहाड

हिमपात हुँदा सेताम्य हुने पहाड कालापत्थरमा परिणत भएका छन् ।

ताप्लेजुङमा यस वर्ष समयमा हिमपात नहुँदा किसान चिन्तित बनेका छन्। विगतका वर्षहरूमा मंसिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गरेकोमा यो वर्ष माघ महिनाको पहिलो साता बितिसक्दा पनि हिमपात भएको छैन।

लामो समयसम्म हिमपात नहुँदा खडेरी पर्न सक्ने चिन्तामा छन् किसान। सामान्यतया यो समय ताप्लेजुङ सदरमुकाम फुङलिङसहित उच्च भेगहरू हिउँले सेताम्य देखिन्थे। हिमपातसँगै चिसो बढ्नुका साथै किसानहरू उत्साहित हुन्थे। तर, यस वर्ष असोज महिनाको अन्त्यतिर एकपटक सामान्य हिमपात भए पनि त्यसले किसानलाई खासै राहत दिन सकेन।

हिउँदयाममा हिमपात नहुँदा ताप्लेजुङमा चिसो भने बढेको छ। केही दिनदेखि आकाशमा बादल मडारिए पनि हिमपात हुन सकेको छैन। चार–पाँच दिनसम्म लगातार बादल लागे पनि हिउँ नपर्दा किसानको आशा निराशामा परिणत भएको छ। मंसिर, पुस र माघ महिनामा प्रायः अत्यधिक हिमपात हुने ताप्लेजुङमा यो वर्ष मंसिर र पुस दुवै महिना हिउँ नपरी बित्यो। हिउँले सेताम्य देखिनुपर्ने जिल्ला अहिले उराठलाग्दो देखिएको स्थानीयको भनाइ छ।

फक्ताङलुङ गाउँपालिकाका स्थानीय डन्डु शेर्पा भन्छन्, ‘यतिवेला हिउँले गाउँ–बस्ती सेताम्य देखिन्थ्यो। बालबालिकादेखि युवायुवतीसम्म हिउँमा रमाइरहेका हुन्थे। तर, यो वर्ष पुस सकिएर माघको पहिलो साता बित्दा पनि हिउँ पर्न सकेन।’ शेर्पाले पुस र माघ बढी हिमपात हुने महिना भए पनि हिउँ नपर्दा अब फागुनमा के हुने हो भन्ने अन्योल रहेको बताए। 

हिमपात नहुँदा जेठासी बालीमा खडेरी पर्न सक्ने चिन्तामा रहेको फुङलिङ नगरपालिका– २ का किसान नायरायण तामाङले बताए। उनले भने, ‘जाडो मौसममा राम्रो हिमपात नहुँदा खेतमा लगाइएको गहुँ, जौ र तोरी बालीको उत्पादन घट्ने देखिन्छ।’ हिमपात नहुँदा जमिन सुक्खा देखिन थालेको छ भने हिउँदको समयमा सेताम्य देखिने हिमालहरू कालो पत्थरजस्तै देखिन थालेका छन्। पुस महिनामा बाक्लो हिमपातले ढाकिने कञ्चनजंघा, कुम्भकर्णलगायत ताप्लेजुङका उच्च हिमालहरू यस वर्ष सुक्खा देखिएका छन्। जलवायु परिवर्तनको असर ताप्लेजुङमा पनि देखिन थालेको स्थानीय बताउँछन्। 

हिउँदयाममा किसानहरू ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला’ भन्ने उखान सुनाउँदै आएका छन्। पुसमा परेको हिउँ जमेर बस्ने, माघको हिउँ बिस्तारै बिलाउने र फागुनको हिउँ पूरै हराएर जाने जनविश्वास छ। यस पटक मंसिर र पुस दुवै महिना हिमपात नभएर बित्दा जेठमा पाक्ने गहुँ र जौलगायतका बालीमा असर पर्ने भन्दै किसान चिन्तित छन्। पुसदेखि जेठसम्म वेला–वेला पानीको आवश्यकता पर्ने बालीमा समयमा हिमपात नहुँदा उत्पादन घट्ने जोखिम बढेको छ।

गत वर्ष ढिलो गरी हिमपात र वर्षा भएकाले यो वर्ष पनि ढिलै भए पनि हिउँ पर्छ कि भन्ने आशामा किसानहरू छन्। हिमाली जिल्ला ताप्लेजुङ मात्र नभई कोशी प्रदेशका अन्य उच्च हिमाली भेगहरूमा समेत हिमपात नहुँदा किसान चिन्तित छन्।
 

सुझावित समाचार