महिला टी–२० विश्वकप ग्लोबल छनोट, नेदरल्यान्ड्सविरुद्ध खेल्दै नेपाल

नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गर्नुपर्छ

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

घरेलु टोली नेपाल आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा बिहीबार बलियो नेदरल्यान्ड्सविरुद्ध भिड्दै छ । समूह ‘बी’मा लगातार दुई जितका साथ नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । एक खेल मात्र खेलेको नेपाल अंकविहीन छ । नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डसँग आठ विकेटले गुमाएको छ । नेदरल्यान्ड्सले भने जिम्बावे र स्कटल्यान्डमाथि सानदार जित निकाली शीर्ष स्थान बलियो बनाएको हो । तुलनात्मक रूपमा नेपालभन्दा नेदरल्यान्ड्स बलियो छ । युरोपियन एसोसिएट राष्ट्रमा नेदरल्यान्ड्स शीर्ष स्थानमा छ । ब्याटिङ र बलिङमा नेदरल्यान्ड्सले दुईवटै खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालले थाइल्यान्डविरुद्धको खेलमा मध्यक्रमका ब्याट्सम्यानले फितलो ब्याटिङ प्रदर्शन र बलिङमा स्ट्राइक बलरले सुरुवातमै विकेट निकाल्न नसक्दा हारको सामना गर्‍यो । समग्रमा पहिलो खेलमा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङमा चुकेको थियो । नेपालले दोस्रो खेल खेल्नुअघि तीन दिनको विश्राम पाएको छ । नेपालका मुख्य प्रशिक्षक प्रशिक्षक हर्षल पाठकले कमीकमजोरी सच्याउने मौका पाएका छन् । 

क्यानले पनि विश्रामको समयमा ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गर्न यही अनुरूप प्रशिक्षण भएको जनाएको छ । नेपालले सुपर सिक्समा पुग्न आप्mनो समूहमा कम्तीमा दुईवटा खेल जित्नुपर्छ । नेदरल्यान्ड्सले सुपर सिक्समा पुग्न ड्राइभिङ सिटमा छ । नेपाललाई हराउँदा नेदरल्यान्ड्स एक खेलअगाडि नै सुपर सिक्समा पुग्नेछ ।

एक वर्षपछि आमनेसामने हुँदै
नेदरल्यान्ड्स र नेपालबिच अहिलेसम्म तीनपटक टी–२० आईमा प्रतिस्पर्धा भएको तथ्यांक छ । तीनवटै भेटमा नेदरल्यान्ड्सले नेपालमाथि एकपक्षीय जित निकालेको थियो । दुवै टोलीले ग्लोबल छनोट खेल्न एउटै नतिजा निकालेका थिए । आइसिसी महिला टी–२० आई वरीयतामा १४औँ स्थानमा रहेको नेदरल्यान्ड्सले युरोपियन डिभिजन वान छनोटको उपविजेता हुँदै ग्लोबलमा स्थान बनाएको थियो । आइसिसीको २१औँ वरीयताप्राप्त नेपाल गत मेमा थाइल्यान्डमा भएको छनोटमा उपविजेता बनेको थियो । नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको हो । 

लगभग एक वर्षपछि नेदरल्यान्ड्स र नेपाली महिला टोलीबिच प्रतिस्पर्धा हुन लागेको हो । गत वर्षको जनवरी–फेब्रुअरीमा नेपालले त्रिदेशीय शृंखला आयोजना गरेको थियो । युरोपियन राष्ट्र नेदरल्यान्ड्ससँग इतिहासमै नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्‍यो । नेपाल पहिलो टी–२० आईमा नेदरल्यान्ड्ससँग २० रन र दोस्रो खेलमा १५ रनले पराजित भएको थियो । शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सले नेपालमाथि सानदार १० विकेटको जित निकालेको थियो । 

ब्याटिङ र बलिङमा कमजोर
सिनियर महिला क्रिकेटरको प्रमुख कमजोरी नै ब्याटिङ र बलिङ रहेको छ । जुन अभ्यास खेलदेखि नै जारी छ । थाइल्यान्डविरुद्ध ओपनिङ उत्कृष्ट हुँदा मध्यक्रम चल्नै सकेन । जसका कारण नेपाल १२२ रनमा समेटिएको थियो । कप्तान इन्दु बर्माले पनि बलिङ र ब्याटिङमा फितलो प्रदर्शन हुँदा हारको सामना गर्नुपरेको प्रतिक्रिया दिएकी थिइन् । उनले नेदरल्यान्ड्सविरुद्ध यी दुवै पक्षमा सुधार गरे मात्र जित निकाल्न सकिने जनाएकी थिइन् । ‘पहिलो खेलमा कमजोर प्रदर्शन भयो । नेदरल्यान्ड्सविरुद्ध खेल्न ब्याटिङमा सुधार गर्नुपर्छ,’ थाइल्यान्डसँग हारेपछि इन्दुले भनेकी थिइन् । अर्कोतिर नेदरल्यान्ड्सले जितको लयलाई यथावत् राख्ने योजनामा रहँदा नेपाली खेलाडीले जिम्मेवारीपूर्वक प्रदर्शन गर्नुपर्ने दबाब छ । ‘यदि सबैले आफ्नो भूमिका निभाएमा जित गाह्रो छैन । बिस्तारै खेलमा सुधार हुनेछ,’ इन्दुले भनिन् । 

सुझावित समाचार