एसियन क्रिकेट काउन्सिल (एसिसी)ले एसोसिएट राष्ट्रका महिला खेलाडीलाई एक्सपोजर र स्तरोन्नति गराउने उद्देश्यका साथ राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । एसिसीले टेस्ट तथा एसोसिएट राष्ट्रबिच प्रतिस्पर्धा हुने जनाएको छ । यो प्रतियोगिता थाइल्यान्डको बैंककमा हुनेछ । एसिसीले समूह विभाजन र खेलतालिका सोमबार सार्वजनिक गरेको छ ।
टी–२० फर्म्याटमा हुने राइजिङ स्टार्स महिला एसिया कप आगामी १३ देखि २२ फेब्रुअरीसम्म चल्नेछ । प्रतियोगितामा एसिसीले टेस्ट राष्ट्रबाट ‘ए’ टोलीले प्रतिनिधित्व गर्ने जनाएको छ । यसबोहक अन्य एसोसिएटतर्फ भने राष्ट्रिय टोलीले नै प्रतिस्पर्धा गर्नेछन् । एसियाका उदीयमान खेलाडीले प्रतियोगिताका लागि अवसर पाउने एसिसीको भनाइ छ । यसअघि यो प्रतियोगिताको नाम इमर्जिङ एसिया कप थियो । आयोजक एसिसीले फरक रूपमा प्रतियोगिता आयोजना गरी प्रतियोगिताको नाम परिवर्तन गरेको हो ।
एसिसीका अनुसार प्रतियोगितामा नेपाली राष्ट्रिय महिला टोलीले पनि प्रतिस्पर्धा गर्नेछ । नेपाल यसपटक पनि कठिन समूहमा रहेको छ । समूह ‘ए’मा नेपालले एसियाकै शक्तिशाली राष्ट्र भारत र पाकिस्तानविरुद्ध खेल्नेछ । यस समूहमा नेपालको अर्को प्रतिद्वन्द्वी युएई रहेको छ । नेपालले १३ फेब्रुअरीमा पाकिस्तानको ‘ए’ टोलीविरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि १५ फेब्रुअरीमा युएई र १७ फेब्रुअरीमा भारत ‘ए’विरुद्ध खेल्ने एसिसीले जनाएको छ । युएई र नेपालका खेलाडी भने राष्ट्रिय टोलीका नै हुनेछन् ।
दोस्रोपटक भारत र पाकिस्तानसँग खेल्दै नेपाल
एसिसीले राइजिङ स्टार्स एसिया कप नामबाट यसपटक प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि सन् २०२३ मा हङकङले आयोजना गरेको इमर्जिङ एसिया कप नामबाट प्रतियोगिता भएको थियो ।
संयोगवश तीन वर्षअघिको संस्करणमा नेपाल समूह ‘ए’मै थियो । यस समूहमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । नेपालको तेस्रो प्रतिद्वन्द्वी हङकङ रहेको थियो । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पाकिस्तानको ‘ए’ टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । पाकिस्तानले नेपाललाई नौ रनले हरायो ।
पहिलो ब्याटिङ गरेको पाकिस्तान १९.२ ओभरमा ८७ रनमै अलआउट भयो । नेपालको कमजोर ब्याटिङका कारण २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र जोड्यो । भारत र हङकङसँग भने वर्षाले खेल हुन सकेन । नेपालले यी दुवै राष्ट्रसँग अंक बाँडेको थियो । नेपाल समूहमा तेस्रो भयो ।
आइसिसी वरीयतामा भारत दोस्रो स्थानमा
राइजिङ स्टार्स एसिया कपमा सहभागी राष्ट्रमध्ये भारत शीर्ष स्थानमा छ । आइसिसीको पछिल्लो महिला टी–२० वरीयतामा भारत २६५ रेटिङका साथ दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ । नेपालको समूहमा रहेको पाकिस्तान भने आठौँ स्थानमा छ । पाकिस्तानले दुई सय १६ रेटिङ प्राप्त गरेको छ । युएई १५औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । समूह ‘ए’मा नेपाल पुछारमा रहेको छ । नेपाल वरीयता २१औँ स्थान हो । नेपालभन्दा युएई सात स्थानमाथि रहेको छ । समूह ‘बी’मा रहेको श्रीलंकाको सात, बंगलादेशको वरीयता १० र थाइल्यान्ड ११औँ स्थानमा छ ।
आठ राष्ट्रबिच प्रतिस्पर्धा
प्रतियोगितामा आइसिसीको पूर्ण सदस्य राष्ट्र र एसोसिएटका राष्ट्रले भाग लिनेछन् । प्रतियोगितामा पूर्ण सदस्य राष्ट्रहरूका ‘ए’ र एसोसिएटका राष्ट्रिय टोली नै हुने एसिसीले जनाएको छ । प्रत्येक समूहमा राउन्ड रोबिन फर्म्याटमा समान तीन खेल खेल्नेछन् । समूह चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल खेल २० फेब्रुअरी र २२ फेब्रुअरीमा फाइनल हुनेछ । फाइनलसम्म कुल १५ खेल हुने एसिसीले जनाएको छ ।
ग्लोबल छनोटलगत्तै थाइल्यान्डतर्फ नेपाल
अहिले नेपाली सिनियर महिला टोली आइसिसी टी–२० ग्लोबल छनोटमा सहभागी छन् । पहिलोपटक ग्लोबल छनोट खेलेको नेपालले आफ्नो पहिलो खेलमा थाइल्यान्डबाट आठ विकेटको हार सामना गरेको थियो । नेपालले बिहीबार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । यो ग्लोबल छनोटपछि नेपालले महत्वपूर्ण प्रतियोगिताको रूपमा रहेको राइजिङ स्टार्स एसिया कप टी–२० खेल्न जाँदै छन् । ग्लोबल छनोटको सहभागिताले खेलाडी फर्ममा रहने अपेक्षा छ ।