राहुल विश्वकर्माले डिएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । राहुलले सोमबार चार अन्डर ६६ र समग्रमा दुई अन्डर एक सय ३८ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।
उनले प्रकृत तामाङ र सुन्दर राईलाई नौ स्ट्रोकको फराकिलोअन्तरमा हराउँदै ५० हजार प्राप्त गरे । नेपाली एमेच्योर गल्फरले कुनै पनि प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरेको पहिलोपटक हो ।
प्रकृत र सुन्दर राईले समग्रमा सात ओभर एक सय ४७ स्कोर गरेका थिए । बेलायतमा रहेका धरानका गल्फर देउकुमार राई र दीपेन्द्र राईको प्रायोजनमा आयोजित ३६ होलको प्रतियोगितामा ३८ खेलाडीले सहभागिता रहेको थियो ।
नेपालमै पहिलोपटक एमेच्योर गल्फमा नगद पुरस्कार प्रदान गरिएको यो प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख रुपैयाँ रहेको थियो । कुमारले यो प्रतियोगितामा पाँच वर्षसम्म निरन्तर गर्ने
बताउँदै अर्को वर्ष विजेताले ८० हजार रुपैयाँ पाउने जनाए ।