नेपालले पहिलोपटक आइसिसी टी–२० महिला विश्वकप ग्लोबल छनोट क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीमा ग्लोबल खेल आगामी १८ जनवरीदेखि १ फेब्रुअरीसम्म चल्नेछन् । छनोटमा १० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । एसियन छनोटमा उपविजेता हुँदै नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको हो । आइसिसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल रहेको समूह ‘बी’मा नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे छन् । ‘ए’ र ‘बी’ समूहमा शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्यान्डमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछन् । प्रमुख प्रशिक्षक हर्षल पाठकले इन्दु बर्माको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेका छन् । छनोटमा सहभागी हुने अन्तिम १५ खेलाडी यस्ता छन् :
इन्दु बर्मा (कप्तान) : इन्दुकै कप्तानीमा नेपालले पहिलोपटक आइसिसी ग्लोबल टी–२० विश्वकप छनोट स्थान बनाएको हो । पछिल्लो समयमा उनको कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय खेलमा गतिलो प्रदर्शन गरिरहेको छ । पुरुषजस्तै महिला टोलीसमक्ष पनि टी–२० विश्वकप खेल्ने अवसर जुरेको छ । यसमा इन्दुले आफ्नो कप्तानीमा घरेलु मैदानमा हाँक्नेछिन् । २८ वर्षीया दायाँहाते ब्याट्सम्यान इन्दुले ७८ टी–२० आईमा एक अर्धशतकसहित १,०४१ रन बनाएकी छिन् । महिला क्रिकेटमा नेपालबाट एक हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी पनि हुन् । स्पिन बलिङ गर्ने उनले ४६ इनिङ्समा ४० विकेट हात पारेकी छिन् ।
पूजा महतो (उपकप्तान) : उमेर समूहदेखि अलराउन्ड प्रदर्शन गरेकी पूजा टोलीकै महŒवपूर्ण खेलाडीमा पर्छिन् । छोटो समयमै सिनियर टोलीकै उपकप्तानको जिम्मेवारी पाएकी पूजाले आइसिसी यू–१९ टी–२० विश्वकपमा नेपालको कप्तानी गरेकी थिइन् । उनले सन् २०२३ मा हङकङविरुद्ध टी–२० आईमा डेब्यु गरेकी थिइन् । उनले ४२ खेलमा पाँच सय ३९ रन बनाउनुका साथै ४१ इनिङ्समा २८ विकेट लिएकी छिन् । उनले यू–१९ विश्वकपमा नौ विकेट लिएकी थिइन् ।
रुबिना क्षेत्री : नेपाली महिला टोलीकै पहिलो पुस्ताकी क्रिकेटर रुबिना हुन् । सन् २००९ देखि उनी सिनियर टोलीमा छिन् । सन् २०१९ मा चीनसँगको टी–२० आईमा उनले डेब्यु गरेकी थिइन् । नेपाली टोलीकी पूर्वकप्तानसमेत रहेकी रुबिना बलिङ र ब्याटिङमा एकनासको प्रदर्शन गर्न सक्छिन् । सिनियर महिला टोलीमा उनले समान एक शतक तथा अर्धशतक बनाएकी छिन् । महिला सिनियर टोलीमा अन्तर्राष्ट्रिय शतक लगाउने उनी एक्ली खेलाडी हुन् । ७९ टी–२० आईमा उनले नौ सय ५१ रन तथा ४२ विकेट हात पारेकी छिन् ।
सीता रानामगर : ग्लोबल टी–२० विश्वकप छनोटमा सीताले पुनरागमन गरेकी हुन् । डेढ वर्षपछि टोलीमा स्थान बनाउँदा सीता पनि पहिलो पुस्ताकै खेलाडी हुन् । ३३ वर्षीया सीताले ६३ टी–२० आईमा नौ सय ६५ रन बनाएकी छिन् । बलिङ क्रममा बायाँहाते स्पिनर खेलाडीले ५८ अन्तर्राष्ट्रिय विकेट लिएकी छिन् । उनले एकपटक टी–२० आईमा अर्धशतकीय इनिङ्स खेलेकी छिन् । रुबिनापछिकी सिनियर खेलाडी सीताको आगमनले टोली उत्साहित भएको छ ।
काजल श्रेष्ठ : ग्लोबल छनोटमा पुनरागमन गरेकी खेलाडीमध्ये काजल पनि हुन् । विकेटकिपर ब्याट्सम्यान काजलले अन्तिमपटक महिला एसिया कप खेलेकी थिइन् । दायाँहाते ब्याट्सम्यान खेलाडीले विकेटपछाडि राम्रो प्रदर्शन गर्छिन् । राष्ट्रिय टोलीबाट सन् २०१९ मा उनले चीनविरुद्ध टी–२० आईमा डेब्यू गरेकी थिइन् । उनले ४८ खेलमा तीन सय एक रन बनाएकी छिन् । उनले विकेटकिपरपछाडिबाट १३ क्याच र १५ स्टम्पिङ गरेकी छिन् ।
कविता कुँवर : कविताले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी हुन् । उनले सन् २०१९ मा टी–२० आईमा चीनविरुद्ध डेब्यु गरेकी थिइन् । टोलीमा उनको भूमिका अलराउन्डर रहेको छ । अहिलेसम्म ६१ टी–२० आईमा उनले तीन सय ४७ रन बनाएकी छिन् । बलिङका क्रममा उनले ६१ इनिङ्समै ५६ विकेट हात पारेकी छिन् । उनको इकोनोमी ३.९६ रहेको छ । चालू अभ्यास खेलमा उनको प्रदर्शन खराब रह्यो । आयरल्यान्ड र अमेरिकाविरुद्ध उनी विकेटविहीन भइन् ।
सम्झना खड्का : डेढ वर्षदेखि सम्झनाले नेपाली टोलीको ओपनिङ गर्दै आएकी छिन् । सन् २०२३ मा उनले मलेसियाविरुद्ध टी–२० आईमा डेब्यु गरेकी थिइन् । २६ वर्षीया दायाँहाते ब्याट्सम्यान सम्झनाले अहिलेसम्म ४१ टी–२० आईमध्ये ३६ इनिङ्समा ब्याटिङ गरी चार सय रन बनाएकी छिन् । उनले एकपटक अर्धशतकीय इनिङ्स खेलेकी थिइन् । ग्लोबल टी–२० छनोटमा उनले ओपनिङ गर्ने सम्भावना छ ।
विन्दु रावल : महिला सिनियर टोलीमा विन्दुको भूमिका मध्यक्रमको हो । २९ वर्षीया विन्दुले सन् २०१९ मा चीनविरुद्ध टी–२० आईमा डेब्यु गरेकी थिइन् । अहिलेसम्म उनले ४३ टी–२० मध्ये ३० इनिङ्समा ब्याटिङ गरी दुई सय ७४ रन बनाएकी छिन् । उनको उच्च प्रदर्शन २५ रन रहेको छ । नेपाललाई ग्लोबल छनोट स्थान बनाउनमा उनले थाइल्यान्डमा गतिलो प्रदर्शन गरेकी थिइन् । उनको काँधमा केही समय उपकप्तानीको जिम्मेवार पनि आएको थियो ।
कविता जोशी : वर्तमान सिनियर महिला टोलीमा कविता सिनियर खेलाडीमा पर्छिन् । २९ वर्षीया कविताको मुख्य भूमिका अलराउन्ड प्रदर्शन गर्नु हो । उनी दायाँहाते ब्याट्सम्यानसँगै बलर पनि हुन् । सन् २०२१ मा उनले कतारविरुद्ध टी–२० आईमा डेब्यु गरेकी थिइन् । उनले अहिलेसम्म ५४ टी–२० आईमा दुई सय ७१ रन बनाउनुका साथै २१ विकेट हात पारेकी छिन् ।
राजमती ऐरी : गत वर्ष राजमतीले सिनियर महिला टोलीमा डेब्यु गरेकी थिइन् । नेपालमै भएको त्रिकोणात्मक सिरिजमा उनले थाइल्यान्डविरुद्ध डेब्यु गर्ने अवसर पाइन् । उनले अहिलेसम्म १० टी–२० आई खेलेकी छिन् । उनले १० टी–२० आई खेलमा आठ विकेट हात पारेकी छिन् । ब्याटिङ र बलिङमा उनले ग्लोबल टी–२० आईमा योगदान दिन सक्छिन् ।
रोमा थापा : नेपाली टोलीमा रोमाको भूमिमा विकेटकिपर ब्याट्सम्यान हो । अहिलेको टोलीमा उनी पनि सिनियर खेलाडीमै पर्छिन् । सन् २०१९ मा उनले चीनविरुद्ध टी–२० आईमा डेब्यु गरेकी थिइन् । दायाँहाते ब्याट्सम्यान रोमाले ३२ अन्तर्राष्ट्रिय खेलमा एक सय २० रन बनाएकी छिन् । उनले करिअरमा सात चौका प्रहार गरेकी छिन् । ग्लोबल छनोटको अभ्यास खेलमा उनले अमेरिकाविरुद्ध १६ रन तथा आयरल्यान्डसँगको खेलमा पाँच रन बनाएकी थिइन् ।
सोमु विष्ट : गत अक्टोबरपछि सोमुले टोलीमा स्थान बनाएकी हुन् । उनको विशेषता नै अफ स्पिन बलिङ गर्नु हो । दायाँहाते अफ स्पिनर सोमुले सन् २०२३ मा तान्जानियाविरुद्ध टी–२० आईमा डेब्यु गरेकी थिइन् । अहिलेसम्म सात टी–२० आई खेलमा उनले चार विकेट हात पारेकी छिन् । घरेलु मैदानमा उनको बलिङमाथि टोलीले आशा गरेको छ ।
मनीषा उपाध्याय : यू–१९ को उमेर समूहदेखि सिनियर टोलीसम्मको यात्रामा मनीषाको प्रदर्शन अब्बल छ । बायाँहाते स्पिनर मनीषाले गत वर्ष सिनियर टोलीमा डेब्यु गरेकी थिइन् । उनले अहिलेसम्म आठ टी–२० आई खेलमा १२ विकेट लिएकी छिन् । एसियन विश्वकप छनोटमा गतिलो प्रदर्शनपछि उनी लगातार टोलीमा छिन् । सिनियर टोलीमा मनीषा उदयीमान खेलाडीका रूपमा छिन् ।
रिया शर्मा : गत वर्ष नेपालले यू–१९ महिला विश्वकप खेल्दा रिया पनि प्रमुख सदस्य थिइन् । उनले त्यसवेला उपकप्तानी जिम्मेवारी सम्हालेकी थिइन् । उमेर समूहदेखि सिनियर टोलीसम्म सहजै स्थान बनाएकी रियाले गत वर्ष युगान्डामा भएको चारदेशीय सिरिजमा नामिबियाविरुद्ध डेब्यु गरेकी थिइन् । अहिलेसम्म उनले १६ टी–२० आईमा तीन विकेट लिएकी छिन् । उनले अन्तिमपटक नेपाली टोलीबाट मलेसियामा भएको टी–२० आई खेलेकी थिइन् ।
रचना चौधरी : यू–१९ विश्वकप टोलीकी सदस्य रचनाले गत वर्ष सिनियर टोलीमा डेब्यु अवसर पाइन् । रचनाले थाइल्यान्डसँगको खेलमा टी–२० आईमा डेब्यु गरेकी हुन् । बायाँहाते स्पिनर उनले अहिलेसम्म १३ टी–२० आई खेलमा पाँच विकेट लिएकी छिन् । ब्याटिङका क्रममा उनले दुई रन मात्र बनाएकी छिन् । उनले यू–१९ विश्वकपमा ६ विकेट लिएकी थिइन् ।