राष्ट्रिय पुरुष क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकपको तयारी आयोजक राष्ट्र श्रीलंका र भारतमा गर्ने भएको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । नेपालले आफ्नो तयारी माघको तेस्रो सातादेखि गर्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले बताएका छन् । ‘नेपालको तयारी भारत र श्रीलंकामा हुनेछ,’ लामाले भने । नेपालले टी–२० विश्वकप तेस्रोपटक तथा लगातार दोस्रो चोटली खेल्न लागेको हो ।
१०औँ संस्करणको टी–२० विश्वकपमा नेपाल कठिन समूह ‘सी’मा रहेको छ । यसमा समूहमा पूर्वविजेताहरू इंग्ल्यान्ड र श्रीलंका रहेका छन् । नेपालले पहिलोपटक विश्वकपमा डेब्यु गर्ने युरोपियन राष्ट्र इटाली र बंगलादेशसँग पनि प्रतिस्पर्धा गर्नेछ । क्यानले गत साता रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । जसमा शेर मल्लले पहिलोपटक टोलीमा स्थान बनाएका थिए । सन्दीप जोरा बसिर अहमदले टोलीमा पुनरागमन गरेका थिए ।
कप्तान रोहित, आसिफ सेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललित राजवंशी, करण केसी, सन्दीप जोरा र सन्दीप लामिछानेले लगातार दोस्रोपटक विश्वकप खेल्दै छन् । नेपाली टोलीमा सोमपाल कामी भने तेस्रो विश्वकप खेल्ने एक्ला खेलाडी हुन् । सोमपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकप खेलेका थिए । नेपालले बंगलादेशमा भएको विश्वकपमा डेब्यु गरेको थियो । जहाँ नेपालले अफगानिस्तान र हङकङमाथि टी–२० आईमा जित निकालेको थियो ।
यसपटक आरिफ सेख, बसिर अहमद, नन्दन यादव, शेर मल्ल र लोकेश बमले पहिलोपटक विश्वकप खेल्ने सम्भावना छ । क्यानले अहिले विश्वकपमा सहभागी हुने खेलाडीलाई रुपन्देहीको एक्स्ट्राटेक ओभलमा खेलाडीलाई अभ्यास गराइरहेको छ । टोली रूपदेन्हीबाटै थप प्रशिक्षण गर्न श्रीलंका र भारत जाने छ । क्यानका प्रवक्ता लामाका अनुसार नेपालले सुरुमा श्रीलंका र त्यसपछि अन्तिम तयारी भारतको मुम्बईमा हुने छ ।
६ माघमा पहिलो अभ्यास खेल
श्रीलंकामा रहँदा नेपाल अभ्यास खेलमा सहभागी हुने छ । नेपालले श्रीलंकाको ‘ए’ टोलीसँग तीन वटा टी–२० खेल खेल्ने छ । पहिलो अभ्यास टी–२० खेल ६ माघमा हुने छ । श्रीलंकामा एक साता अभ्यास गरेपछि टोली मुम्बई जाने छ । १५ माघमा नेपालले मुम्बईको टोलीविरुद्ध अभ्यास गर्नेछ । यो अभ्यास खेलपछि नेपाल मुख्य प्रतिस्पर्धामा सहभागी हुनेछ । विश्वकपमा नेपालले आफ्नो पहिलो खेल २५ माघ इंग्ल्यान्डविरुद्ध खेल्ने छ । त्यसपछि २९ माघमा नवप्रवेशी राष्ट्र इटालीसँग नेपालको खेल रहेको छ । नेपालले दुईपटकको विजेता वेस्ट इन्डिजविरुद्ध ३ फागुनमा प्रतिस्पर्धा गर्नेछ ।
बंगलादेश र नेपालबिचको खेल ५ फागुनमा हुनेछ । आइसिसीको खेल तालिकाअनुसार नेपालका चारैवटा खेल मुम्बईको वाँखडे रंगशालामा रहेको छ । भारतीय भूमिमा प्रतिस्पर्धा नगर्ने बंगलादेशको अडान छ । बंगलादेशले भारतको स्थानमा श्रीलंकामा प्रतिस्पर्धा गर्न तयार भएको जनाएको छ । तर, आइसिसीले बंगलादेशको आग्रह स्वीकार नगरी उल्टै भारतमा खेल्न दबाब दिएको छ । भारतमा बंगलादेश सहभागी नहुँदा दुई अंक काटिने आइसिसीले चेतावनी दिइसकेको छ । यसै विवादका कारण बंगलादेश र नेपालबिचको खेल कहाँ हुने टुंगो लागेको छैन ।