बार्सिलोनाले १६औँपटक स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बार्सिलोनाले आइतबार राति साउदी अरबको जेद्दामा रंगशालामा भएको रोमाञ्चक फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–३ गोलले हराउँदै समग्रमा १६औँ र लगातार दोस्रोपटक स्पेनिस सुपर कपको उपाधि जितेको हो । गत संस्करणमा पनि बार्सिलोनाले रियल म्याड्रिडलाई नै हराउँदै ट्रफी हात पारेको हो । सन् २०११ पछि बार्सिलोनाले लगातार दोस्रोपटक सुपर कप जितेको हो ।
बार्सिलोनाले उपाधि रक्षा गर्ने क्रममा ब्राजिलियन राफिन्हाले महत्वपूर्ण दुई गोल गरेका थिए । उनले अग्रता र विजयी गोल गरेका हुन् । मध्यान्तरअघिको इन्जुरी समय रोमाञ्चकताले भरिँदा तीन गोल भएका थिए । खेलको ३६औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले रियल म्याड्रिडलाई १–१ को बराबरीमा पुर्याएका थिए ।
बार्सिलोनाले रियल म्याड्रिड सम्हालिन नपाउँदै पहिलो हाफको इन्जुरी समयकै चौथो मिनेटमा २–१ को अग्रता बनायो । रोबर्ट लेवान्डोस्कीले पेड्रोको पासमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका हुन् । त्यहीँ इन्जुरी समयकै छैटौँ मिनेटमा गोन्जालो ग्रासियाले रियल म्याड्रिडलाई २–२ को बराबरीमा ल्याए । उनले एकल प्रयासमा गोल गरेका हुन् । खेलको ७३औँ मिनेटमा ब्राजिलियन स्ट्राइकर राफिन्हाले बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । खेलमा थप गोलद नहुँदा उनकै निर्णायक गोलमा बार्सिलोना उपाधि रक्षा गर्यो ।
खेलमा रियल म्याड्रिडका केलियन एम्बाप्पेविरुद्ध ट्याकल गरेपछि फ्रेन्की डी जोङले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । घुँडाको चोटबाट निको भएपछि मैदानमा छिरेका एम्बाप्पे वैकल्पिक खेलाडीका रूपमा थिए । खेलको अन्त्यतिर दुवै टोलीले गोलका केही अवसर गुमाउँदा खेल रोमाञ्चक बनेको थियो । अल्भारो करेरास र राउल एसेन्सियोका प्रहारलाई बार्सिलोनाका गोलरक्षक जोआन गार्सियाले बचाए ।
एल क्लासिकोमा रियल म्याड्रिड अगाडि
विश्व फुटबलमा बार्सिलोना र रियल म्याड्रिडबिचको प्रतिस्पर्धालाई ‘एल क्लासिको’ भनिन्छ । अहिलेसम्मको तथ्यांकअनुसार एल क्लासिकोको भिडन्तमा रियल म्याड्रिड धेरैपटक विजयी भएको छ । यी दुई टोलीबिच दुई सय ६३ पटक प्रतिस्पर्धा भएका छन् । जसमा रियल म्याड्रिडले १०६ चोटी एल क्लासिको आफ्नो पक्षमा राखेको छ । बार्सिलोनाले एक सय पाँचपटक रियल म्याड्रिडलाई हराएको छ । रियल म्याड्रिड र बार्सिलोनाबिच ५२ खेल ‘ड्र’ भएका छन् ।
किंग अब्दुल्लाह सिटी रंगशालामा बार्सिलोनाले बल पोसेसन बलियो बनाएको थियो । रियल म्याड्रिडले सुरुदेखि नै रक्षात्मक रणनीति अपनाएको थियो । भिनिसियस जुनियरको गोलसँगै रियल म्याड्रिडले बार्सिलोनाविरुद्ध खेलमा पकड बनाउने प्रयास गरेको थियो । तर, बार्सिलोनाको सटिक खेलअगाडि रियल म्याड्रिडको केही लागेन ।
लगातार १० खेलमा विजयी
बार्सिलोना उत्कृष्ट फर्ममा छ । गत वर्षको २६ अक्टोबरमा बार्सिलोना रियल म्याड्रिडसँग एल क्लोसिकोमै पराजित भएको थियो । यसअघि गत वर्षकै नोभेम्बरमा युरोपियन च्याम्पियन्स लिगमा चेल्सीसँग पराजित भएको थियो । समग्रमा बार्सिलोना लगातार १० खेलमा अपराजित छ । स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा रियल म्याड्रिडमाथिको अग्रता कायमै राखेको छ ।
रियल म्याड्रिड र बार्सिलोनाबिच लगातार चार खेल भएको हो । जसमध्ये तीनमा बार्सिलोना विजयी रह्यो । जसमा बार्सिलोनाले दुईपटक सुपर कप र कोपा डे रेयमा रियल म्याड्रिडलाई हराएको छ । सावी अलोन्सोको प्रशिक्षणमा रियल म्याड्रिडले गत वर्षको एल क्यासिकोमा बार्सिलोनालाई एकपटक मात्र पराजित गरेको थियो ।