आसन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको सिन्डिकेट अस्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । ११ माघमा हुने निर्वाचनमा १८ सदस्यका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ । कांग्रेस र एमालेले तीन सिट लिएर भागबन्डामा सहभागी हुन गरेको प्रस्ताव राष्ट्रिय सभाको ठुलो दल नेकपाले अस्वीकार गर्दै एकल उम्मेदवारी दिएको हो ।
कांग्रेस, एमाले र जसपा नेपालले भने संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । चारै दल मिलेर जाने विषयमा यसअघि पटक–पटक छलफल भएका थिए । नेकपाले आप्mनो मतभार र हैसियतअनुसार चार सिट पाउनुपर्ने अडान राखेको थियो । त्यसमा एमाले सहमत भएन । स्रोतका अनुसार संख्यात्मक भागबन्डा मात्र होइन, कांग्रेस–एमाले र नेकपाबिच क्लस्टरको विषयमा समेत सहमति जुट्न सकेको थिएन ।
कांग्रेस–एमालेले भागबन्डा गरेर नेकपालाई तीन र महन्थ ठाकुरलाई राष्ट्रिय सभामा लाने गरी जसपा नेपाललाई एक सिट छुट्याएका थिए । नेकपाले भने मतभारअनुसार सिट बाँडफाँटको प्रस्ताव गरेको थियो । कांग्रेस त्यसमा सहमत भए पनि एमालेले मतभारभन्दा बढी सिट लिने अडान छाडेन ।
मतभारअनुसार कांग्रेसले ७, एमालेले ६, नेकपाले ४ र जसपा नेपालले १ सिट पाउने थिए । कांग्रेस ७ सिटमा तयार भए पनि एमालेले पनि ७ सिट नै पाउनुपर्ने अडान छाडेन । एमालेको यही अडानले चार दलले संयुक्त उम्मेदवारी दिने प्रयासले मूर्तरूप लिन सकेन । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मात्रै मतदाता हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनसँग जित्न पुग्ने मतभार छ । उक्त गठबन्धनमा मिसिँदा नेकपालाई ३ सिट सुरक्षित गर्ने अवसर हुन्थ्यो ।
नेकपाका नेताहरूले दलीय सिन्डिकेट लाद्ने गरी कांग्रेस–एमालेले राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गरेर उम्मेदवारी दर्ता गर्न चाहेपछि आफूहरू बाहिरिएको दाबी गरेका छन् । तर, तत्कालीन माओवादी, एकीकृत समाजवादीलगायतका १९ घटक मिलेर बनेको नेकपाले राष्ट्रिय सभा निर्वाचनलाई एजेन्डा स्थापित र शक्ति परीक्षणको रूपमा लिएको छ ।
नेकपा नेता प्रकाश ज्वालाका अनुसार नेकपाले पदभन्दा राजनीतिक एजेन्डालाई महत्व दिएर छुट्टै उम्मेदवार उठाएको दाबी गर्छन् । ‘विशेष गरी कांग्रेसबाट मिलेर जाऔँ भन्ने प्रस्ताव आएको थियो । मतभारअनुसार जान सकिन्छ भन्ने कुरा थियो,’ उनले भने, ‘तर, एमालेले मतभारभन्दा बढी सिट राख्न खोज्यो । उनीहरूले छुट्याएको सिट लिएर राजनीतिक सिन्डिकेटमा जानुहुँदैन भनेर छुट्टै अघि बढ्यौँ ।’
ज्वालाले आफ्नो पहिचान र एजेन्डासहित नेकपा छुट्टै चुनावी मैदानमा खडा भएको र जेन–जी पुस्ताको भावना पनि सम्बोधन गरेको बताए । ‘हामी आफ्नो पहिचान र एजेन्डासहित अलग्गै प्रतिस्पर्धामा होमिएका छौँ । यसले प्रतिनिधिसभा निर्वाचनको वातावरण पनि बनाउँछ । नेकपा गठबन्धनविना नै चुनाव लड्न र जित्न सक्छ भन्ने सन्देश पनि हो,’ उनले भने, ‘जेन–जी आन्दोलन दलीय सिन्डिकेटको विरुद्धमा थियो । हामीले यसमा जान उचित ठान्यौँ ।’
कांग्रेस नेता रमेश लेखकले चार पार्टी एक भएर राष्ट्रिय सभा निर्वाचनमा जाने प्रयत्न गरिए पनि सफल नभएको बताए । ‘राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने कोसिस गरेका थियौँ । तर, अहिले सकिएन, निर्वाचनसम्म नयाँ विकल्प आउन सक्ला,’ लेखकले भने ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा २४ पुसमा उजुरी दिने, २५–२६ पुसमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित हुनेछ । त्यसपछि २७ पुसमा उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने प्रवक्ता नारायण भट्टराईले बताए ।
प्रचण्डले भनेका थिए– कसैसँग पनि गठबन्धन हुँदैन
कांग्रेस–एमालेले नेकपालाई मनाउने प्रयास गरिरहँदा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका थिए । मंगलबार साँझ पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने बताएका थिए । ‘गठबन्धनको केही पनि कुरा भएको छैन । छलफल त विभिन्न विषयमा हुन्छ । तर, कुनै गठबन्धन भएको छैन र हुँदैन पनि,’ उनले भनेका छन् । आफ्नै एजेन्डा र शक्तिको आधारमा निर्वाचनमा जाने उनको भनाइ छ ।
देउवाले गरेका थिए गठबन्धनमा जोड
देउवाले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर जानुपर्ने प्रस्ताव गरेका थिए । मतभारअनुसार नेकपाले चार सिट मागेको थियो । त्यसमा कांग्रेस तयार भए पनि एमाले तयार नभएपछि सहमति हुन नसकेको कांग्रेसका एक नेताले बताए । देउवाले अन्तिमसम्म पनि मिलाउन खोजेका थिए । स्रोतका अनुसार देउवाले बुधबार बिहान पनि ओलीलाई फोन गरेर मतभारअनुसार जान आग्रह गरेका थिए । तर, ओलीले अस्वीकार गरेका थिए । ‘नेकपाले आफ्नो मतभारअनुसार चार सिट हुनुपर्छ भन्यो । तर, एमाले ७ सिटबाट झर्न मानेन । कांग्रेसले महन्थ ठाकुरलाई सिट छाडिसकेको अवस्थामा थप सिट छाड्ने कुरा भएन । एमालेले ६ सिट लिएर गएको भए राम्रै हुन्थ्यो, तर मानेन । हामी लचिलो भए पनि सहमति जुटाउन सकिएन,’ कांग्रेसका एक शीर्ष नेताले भने ।
कांग्रेसमा विवाद, गगनको फरक मत
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनप्रति कांग्रेसभित्र विवाद देखिएको छ । कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले छलफल नगरी गठबन्धन गरिएको र नेताहरूको खल्तीबाट उम्मेदवार छानिएको भन्दै फरक मत राखेका छन् । ‘हिजोको बैठकमा बदलिएको पछिल्लो परिस्थितिमा संविधानको रक्षार्थ राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपाबिच कम्तीमा सहमति गरेर जाने भनेर ब्रिफिङ गरियो । आज एकाएक एमालेसँग सिट बाँडफाँट गरिएको प्रस्ताव ल्याइयो । त्यसमा पनि दुवै दलका नेताका गोजीबाट को–कोलाई सांसद बनाउनुपर्ने हो, त्यहीअनुसार क्लस्टर पनि बाँडफाँट गरियो,’ बैठकपछि महामन्त्री थापाले पत्रकारसँग भने, ‘हिजो संविधान रक्षा महत्वर्ण हो भन्ने, आज सिट संख्या महत्वर्ण भनियो, उम्मेदवार छनोटका लागि केन्द्रीय कार्यसम्पादन समिति छ, संसदीय बोर्ड छ । यत्रा पदाधिकारी छौँ, यी कसैलाई थाहा नहुने, तर जिम्मा हामीले लिनुपर्ने ? यो न्यायपूर्ण छैन, गर्नु पनि हुँदैन । २३–२४ भदौसम्म हामी एउटा गठनबन्धनमा थियौँ, त्यही विन्दुमा त्यसको अन्त्य भइसक्यो । अहिले नयाँ परिस्थिति छ । त्यसकारण यो सैद्धान्तिक रूपमा पनि ठिक छैन, प्रक्रियागत रूपमा पनि ठिक छैन । यसको स्वामित्व हामी लिँदैनौँ ।’
१८ सिटका लागि ४४ जनाको उम्मेदवारी : कोशीबाट कांग्रेसका सुनील थापा निर्विरोध
कहाँ कसको उम्मेदवारी ?
कोशी : एमालेबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने (महिला), एमालेबाट सोमनाथ पोर्तेल र नेकपाबाट खेमराज नेपाली (दलित), कांग्रेसका सुनील थापा निर्विरोध (अन्य)
मधेश : जसपा नेपालकी चन्द्रकलादेवी साह, एमालेकी रेखाकुमारी झा र नेकपाकी समीकुमारी अग्रवाल (महिला), जसपा नेपालकी चमेलीदेवी दास, कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी (दलित) कांग्रेसका रञ्जित कर्ण, नेकपाका रामनन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरी (अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय), लोसपाका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल (अन्य)
बागमती : कांग्रेसकी गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेमकिपाकी कविता महर्जन (महिला), नेमकिपाका विक्रम ढुकुछु, एमालेका प्रेमप्रसाद दंगाल र नेकपाका प्रेमप्रसाद सापकोटा (अन्य)
गण्डकी : नेकपाकी गोमा लुइँटेल घिमिरे, जनमोर्चाकी लक्ष्मी बाँस्कोटा, एमालेकी सम्झना देवकोटा (महिला), नेकपाका कपिल लामा, कांग्रेसका जगत तिमिल्सिना र जनमोर्चाका शंकरप्रसाद बराल (अन्य)
लुम्बिनी : एमालेकी रामकुमारी झाँक्री, नेकपाकी दुर्गाकुमारी भण्डारी र जनमोर्चाकी पद्मा पण्डित (महिला), कांग्रेसका वासुदेव घिमिरे र नेकपाका सर्जन विक (अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय), कांग्रेसका चन्द्रबहादुर केसी, नेकपाका वृहस्पति अधिकारी र जनमोर्चाका बोमबहादुर खत्री (अन्य)
कर्णाली : एमालेकी मीनासिंह रखाल र नेकपाकी अञ्जु महतरा (महिला), कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्मा (अन्य)
सुदूरपश्चिम : एमालेकी लीलाकुमारी भण्डारी र नेकपाकी रोजी बस्नेत (महिला), कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टीकाराम जैसी (अन्य)
कांग्रेस र एमालेका कुन उम्मेदवार कस्ता ?
कांग्रेसका नौजनाले उम्मेदवारी दिएकामा एकजना निर्विरोध निर्वाचित भएका छन् । कोशीबाट कांग्रेस उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भए । उनी राष्ट्रपतिका राजनीतिक सल्लाहकार तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका पुत्र हुन् ।
मधेशमा कांग्रेसले दुई सिटमा दलितबाट धर्मेन्द्र पासवान र अपांगता समूहबाट रञ्जित कर्ण तथा कांग्रेस–एमालेकै गठबन्धनबाट अन्य क्लस्टरबाट लोसपाका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर लोसपाका अध्यक्ष तथा पूर्वमन्त्री हुन् । कर्ण नेविसंघका पूर्वअध्यक्ष हुन् ।
सुदूरपश्चिममा अन्य कोटाबाट कांग्रेसका खम्म खातीले उम्मेदवारी दिएका छन् । उनी नेपाल बार एसोसिएसनका पूर्वमहासचिव तथा पूर्वमहान्यायाधिवक्ता पनि हुन् ।
त्यस्तै, कांग्रेसले लुम्बिनी प्रदेशबाट अपांगता कोटामा वासुदेव जंगली र अन्य कोटाबाट चन्द्र केसीलाई उम्मेदवार बनाएको छ । बागमतीबाट महिला कोटामा कांग्रेसले गीता देवकोटालाई उम्मेदवार बनाएको छ । त्यस्तै, कर्णालीबाट अन्य समूहमा ललितबहादुर शाही, गण्डकीबाट अन्य समूहमा जगत तिमल्सिनालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट उम्मेदवार बनेकामध्ये बागमतीबाट उम्मेदवारी दिएकी गीता देवकोटा, मधेशबाट उम्मेदवारी दिएका रञ्जित कर्ण र लुम्बिनीबाट उम्मेदवारी दिएका वासुदेव जंगली शेखर समूहका हुन् ।
एमालेबाट लुम्बिनीमा महिला कोटाबाट उम्मेदवारी दिएकी रामकुमारी झाँक्री ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी महाधिवेशनभन्दा एक महिनाअघि नेकपा एसबाट प्रवेश गरेकी हुन् । त्यस्तै, बागमतीबाट अन्य क्लस्टरमा उम्मेदवारी दिएका डा. प्रेम दंगाल एमाले केन्द्रीय सदस्य हुन् । उनले पार्टीको अखिल नेपाल किसान महासंघको अध्यक्षका रूपमा नेतृत्व सम्हालिसकेका छन् ।
कोशीमा एमालेबाट महिला कोटामा उम्मेदवारी दिएकी रोशनी मेचे आदिवासी जनजाति फाँटबाट उदाएकी महिला नेतृ हुन् । उनले अध्यक्ष केपी ओलीको सचिवालयमा रहेर काम गर्दै आएकी छिन् । दलित कोटामा कोशीबाट उम्मेदवारी दिएका एमालेकै सोम पोर्तेलले प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवारबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, सुदूरपश्चिमबाट महिला क्लस्टरमा उम्मेदवारी दिएकी लीला भण्डारी एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पूर्वपोलिटब्युरो सदस्य हुन् । माओवादी हुँदै तत्कालीन नेकपा फुट्दा उनी एमालेमै बसेकी थिइन् । दैलेखकी मीना रखाल पार्टी केन्द्रीय सदस्य छिन् । उनले कर्णालीमा महिला क्लस्टरबाट उम्मेदवारी दिएकी छिन् ।
त्यस्तै, पूर्वकेन्द्रीय सदस्य सम्झना देवकोटालाई एमालेले गण्डकी प्रदेशमा महिला क्लस्टरबाट उम्मेदवार बनाएको छ । उनी ०७९ मा गोरखा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । एमालेले मधेशमा महिला क्लस्टरमा रेखाकुमारी झालाई उम्मेदवार बनाएको छ ।