- ९८ अर्ब लागत अनुमानको आयोजना निर्माण सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले गर्ने, साढे ६८ अर्ब ऋण र सवा २९ अर्ब स्वपुँजीबाट जुटाइने
किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार गरिएको छ । चार सय ५४ मेगावाटको यो आयोजना सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले निर्माण गर्ने गरी लगानी मोडालिटी तयार गरिएको हो ।
संखुवासभाको भोटकोला गाउँपालिका– २ मा पहिचान गरिएको किमाथांका अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कुल लागत अनुमान ९७ अर्ब ९४ करोड रहेको छ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात् ६८ अर्ब ५५ करोड ऋणबाट र ३० प्रतिशत अर्थात् २९ अर्ब ३८ करोड स्वपुँजी (इक्विटी)बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरू र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ । इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अति विपन्न परिवारका सदस्य र सर्वसाधारणलाई सेयर निष्कासन गरी संकलन गरिनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीअनुसार तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।
विद्युत् उत्पादन कम्पनीसँग विद्युत् आयोजनाहरूको अनुमतिपत्र (लाइसेन्स) रहेको, तर कुनै पनि आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालीन आम्दानी तथा दिगोपनका लागि पनि किमाथांका आयोजना आफैँले बनाउनुपर्ने बताए । घिसिङले आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यसबमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेस गर्न निर्देशन दिए ।
किमाथांका अरुणको अध्ययन तथा पूर्वनिर्माणमा ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युत्गृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपैयाँ लाग्नेछ ।
आयोजनाबाट वार्षिक दुई अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत् उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमश: ४७ करोड ३१ लाख र ३५ करोड ३३ लाख युनिट रहेको छ । त्यस्तै, वर्षायामको ऊर्जा एक अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । उक्त विद्युत् बिक्रीबाट वार्षिक १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुनेछ । विद्युत् उत्पादन कम्पनीमा सरकारको ३०, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०–१०, नागरिक लगानी कोषको पाँच, एचआइडिसिएलको चार, राष्ट्रिय जीवन बिमा कम्पनीको दुई प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत सेयर छुट्याइएको छ ।