एन्फालाई जिल्ला, प्रदेशपछि केन्द्रको निर्वाचन गर्न राखेपको निर्देशन

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय खेलकुद परिषद्ले प्रक्रियागत रूपमा निर्वाचन गर्न निर्देशन दिएको छ । नेपाली खेलकुदको सर्वोच्च प्रशासनिक निकाय खेलकुद परिषद्का संघसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्राचार गर्दै तहगत निर्वाचन, प्रचलित नियम र विधानबमोजिम काम गर्न निर्देशन दिएका हुन् । 

‘प्रदेश तथा जिल्ला संघको संरचना ऐनअनुसार पुन: व्यवस्थित गरी तहगत निर्वाचनमार्फत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, प्रदेशका नाम स्पष्ट उल्लेख गर्नुपर्ने तथा प्रचलित कानुनअनुसार आवश्यक सबै संशोधन गर्नुपर्नेछ,’ एन्फालाई काटेको पत्रमा राईले भनेका छन् । १६ पुसमा एन्फाको कार्यसमिति बैठकले आगामी २८ माघमा चुनावी साधारणसभा निर्णय गरेको थियो । पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फा कार्यसमितिको कार्यकाल आगामी ६ असारमा सकिँदै छ ।

एन्फाले निर्धारित समयभन्दा पाँच महिनाअघि ‘अर्ली इलेक्सन’ गर्न लागेको हो । एन्फाका असन्तुष्ट समूहले ‘अर्ली इलेक्सन’को विरोध गर्दा पनि कार्यसमितिमा बहुमत सदस्याका आधारमा नेम्वाङले निर्वाचनको मिति घोषणा गरेका थिए । यसैबिच, परिषद्ले एन्फालाई आगामी साधारणसभाका लागि विभिन्न बुँदामा संशोधन गर्न पनि निर्देशन दिएको छ । परिषद्ले एन्फालाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा एन्फाको विधान बाझिएकाले आवश्यक संशोधन गरी स्वीकृत विधान र प्रचलिन कानुनबमोजिम काम गर्न पनि निर्देशन दिएको छ । 

एन्फाले जिल्ला र प्रदेशको निर्वाचन नगरी एकैपटक केन्द्रको निर्वाचन गराउन लागेको हो । एन्फाले विधान, २०७७ को धारा ३० बमोजिम साधारणसभाको उपधारा २ मा उल्लेख भएअनुसार निर्वाचन गराउन लागेको जनाएको छ । ‘विधान, २०७७ को धारा ३० बमोजिम साधारणसभाको उपधारा २ कार्यसमितिले मिति, समय र स्थान तोक्नेछ,’ एन्फाको विधानमा उल्लेख छ । 

एन्फाले कुनै विशेष कारण साधारणसभा गर्नुपरे विधानको धारा ३७ (१०)को पालना गर्नुपर्छ  । तर, एन्फाले एकै वर्षमा दुईपटक साधारण सभा गर्न लागेको हो । गत वैशाखमा एन्फाले धुलिखेलमा वार्षिक साधारणसभा गरेको थियो । एन्फाले १० महिनाभित्र दोस्रो साधारणसभा गर्न लागेको हो । ‘यदि कार्यसमितिको ५० प्रतिशतभन्दा बढी पद रिक्त हुन आएमा (मृत्यु, राजीनामा, तीनवटा बैठकमा लगातार अनुपस्थित भएर) महासचिवले ३५ दिनभित्र बाँकी अवधिका लागि रिक्त पदहरूको पूर्तिका लागि साधारणसभाको बैठक बोलाउन सक्नेछ,’ एन्फाको विधानमा छ ।  यस धाराअनुसार अग्रिम निर्वाचन केवल पद रिक्त अवस्थामा मात्र सम्भव छ । अहिले एन्फामा कुनै पनि पद रिक्त छैन  । एन्फा विधानमा कतै पनि चारवर्षे कार्यकालअघि नै निर्वाचन गर्ने उल्लेख छ । विधानविपरीत निर्वाचन गर्न लागेको भन्दै एन्फाका उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाहीसहित केन्द्रीय सदस्य रूपेश अधिकारीले विरोध गर्दै आएका छन् । 

See More On

सुझावित समाचार