अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष विराटजंग शाह र सदस्य रूपेश अधिकारीले २८ माघमा झापामा गर्ने भनिएको चुनावी साधारणसभा रोक्नुपर्ने माग गर्दै बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतालाई निवेदन दिएका छन् । पंकजविक्रम नेम्वाङ नेतृत्वमा रहेको एन्फाको बुधबारको कार्यसमिति बैठकले माघको अन्तिम साता केन्द्रको निर्वाचन मिति र स्थानबारे निर्णय गरेको थियो । बैठकमा उपाध्यक्ष शाही र सदस्य अधिकारीसमेत थिए ।
जिल्ला र प्रदेशको निर्वाचन नभई केन्द्रको चुनावी साधारणसभा गर्नु विधानविपरीत हुने उनीहरूले दाबी गरेका छन् । उनीहरूले विधानविपरीत हुन लागेको निर्वाचन रोक्न खेलकुदको नियामक निकाय राखेपका सदस्यसचिव मेहतालाई निवेदन दिएका हुन् । सदस्यसचिव मेहताले निवेदन अध्ययन गरिरहेको र कानुनी प्रक्रियाअनुसारै आफूले निर्णय गर्ने बताए । ‘एन्फाका पदाधिकारीले निर्वाचन रोक्नुपर्ने मागसहित निवेदन दिनुभएको छ,’ सदस्यसचिव मेहताले भने, ‘कानुनी दायराभित्र रहेर काम गर्छौँ ।’ एन्फाका उपाध्यक्ष शाहीले चुनावी साधारणसभालाई अवैधानिक भनेका छन् । ‘अवैधानिक निर्वाचन प्रक्रिया रोक्नुपर्ने मागसहित परिषद् पुगेका हौँ,’ उनले भने, ‘हामीले आठबुँदे माग राखेका छौँ ।’ एन्फा सदस्य अधिकारीले भने जिल्ला र प्रदेशपछि मात्र केन्द्रको चुनाव हुनुपर्ने बताए ।
‘नेतृत्व पक्षले साधारणसभासम्बन्धी विधानको उल्लंघन गरेको, विधानविपरीत निर्वाचन घोषणा गरेको, शक्तिको दुरुपयोग र विधानको गलत व्याख्या गरेको, जिल्ला र प्रदेश निर्वाचनको उपेक्षा गरेको, नयाँ सदस्यहरूको मताधिकार हनन तथा गलत नजिर बसालेको, सर्वोच्च अदालतको नजिरको उल्लंघन गरेको, प्रतिशोधपूर्ण निलम्बन र अदालतको सफाइ स्वीकार नगरेको तथा खेल र खेलाडीको दुरवस्थालाई ध्यान नदिएको विषयमा ध्यानाकर्षण गराउन चाहन्छु,’ पत्रमा भनिएको छ । राखेपले विधानअनुसार सकारात्मक कदम चाल्नेमा आफू विश्वस्त भएको उनले बताए ।
एन्फाले गर्यो साधारणसभामा सहभागी हुन आह्वान
उपाध्यक्ष र सदस्यले राखेपमा पत्र बुझाएकै दिन एन्फाका महासचिव किरण राईले सामाजिक सञ्जालमार्फत चुनावी साधारणसभामा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । उनले एन्फामा आबद्ध सबैलाई झापामा हुने साधारणसभामा उपस्थित हुन भनेका छन् । ‘संघमा आबद्ध ४९ संघ, सात प्रदेश, २१ कार्यसमिति सदस्य, चार संघ, सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन तथा राष्ट्रिय लिगमा छनोट भएका चार क्लबलाई झापामा हुने साधारणसभामा भाग लिन अनुरोध छ,’ राईले भनेका छन् ।
एन्फाले विधान, २०७७ को धारा ३० बमोजिम साधारणसभाको उपधारा २ मा उल्लेख भएअनुसार निर्वाचनमा सहभागी हुन जानकारी गराइएको राईले बताए । ‘कार्यसमिति बैठकको निर्णयअनुसार विधान, २०७७ को धारा ३० बमोजिम साधारणसभाको उपधारा २ कार्यसमितिले मिति, समय र स्थान तोक्नेछ,’ राईले भनेका छन्, ‘विधानअनुसार साधारणसभा हुनुअघि ३५ दिनअघि नै सदस्यहरूलाई जानकारी गराइने उल्लेख छ ।’
१० महिनाभित्रै अर्को साधारणसभा
एन्फाले १० महिनाको अन्तरमा अर्को साधारणसभा गर्न लागेको हो । गत २६ वैशाखमा एन्फाले धुलिखेलमा वार्षिक साधारणसभा गरेको थियो । एन्फाको विधानमा वर्षमा एकपटक मात्र साधारणसभा गर्न पाउने उल्लेख छ । ‘विधानको धारा ३०.१ मा ‘अर्डिनरी कंग्रेस (साधारणसभा)को बैठक प्रत्येक वर्ष सम्पन्न गरिनेछ भन्ने स्पष्ट व्यवस्था छ । यसै विधानअनुसार ०८२ को साधारणसभा गत २६ वैशाखमै भइसकेको छ,’ उपाध्यक्ष शाहीले भने, ‘वर्षमा एकपटक मात्र हुने साधारणसभा सम्पन्न भइसकेको अवस्थामा पुनः माघमा चुनावी साधारणसभा बोलाउनु विधानको ठाडो उल्लंघन हो ।’
५० प्रतिशतभन्दा बढी पद रिक्त भएको अवस्थामा मात्र साधारणसभा
एन्फाले कुनै विशेष कारण साधारणसभा गर्नुपरे विधानको धारा ३७ (१०) को पालना गर्नुपर्छ । सो धारामा भनिएको छ, ‘यदि कार्यसमितिको ५० प्रतिशतभन्दा बढी पदहरू रिक्त हुन आएमा (मृत्यु, राजीनामा, तीनवटा बैठकमा लगातार अनुपस्थित भएर) महासचिवले ३५ दिनभित्र बाँकी अवधिका लागि रिक्त पदहरूको पूर्तिको लागि साधारणसभाको बैठक बोलाउन सक्नेछ ।’ विधानको यो प्रावधानअनुसार अग्रिम निर्वाचन केवल पद रिक्त अवस्थामा मात्र सम्भव छ । अहिले एन्फामा कुनै पनि पद रिक्त छैन ।
‘पदहरू रिक्त नभएको स्थितिमा हतारहतारमा निर्वाचन घोषणा गर्नु वर्तमान नेतृत्वको सत्तामा टिकिरहने गलत मनसाय मात्र हो,’ सदस्य अधिकारीले भने, ‘फुटबल विकासका लागि नभई आफ्नो पद जोगाउन गरिएको शक्तिको चरम दुरुपयोग हो ।’ यसैगरी केन्द्रको निर्वाचनअघि जिल्ला फुटबल संघहरूको निर्वाचन अनिवार्य रूपमा सम्पन्न हुनुपर्ने उनले बताए । ‘जिल्लाका प्रतिनिधि नै केन्द्रीय साधारणसभाका वैधानिक मतदाता हुन् । जिल्लाको निर्वाचन नगरी केन्द्रको निर्वाचन घोषणा गर्नु तल्लो तहका सदस्यहरूको अधिकार खोस्नु र लोकतान्त्रिक प्रक्रियाको उपहास गर्नु हो,’ उनले भने ।