ब्रेन ह्यामरेज भएकी १०३ वर्षीया वृद्धाको वीरमा सफल शल्यक्रिया

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

देशकै जेठो वीर अस्पतालले ब्रेन ह्यामरेज भएकी १०३ वर्षीया वृद्धाको सफल शल्यक्रिया गरेको छ । चिकित्सकहरूका अनुसार वीरको १३५ वर्ष लामो इतिहासमै यति धेरै उमेरमा ब्रेन ह्यामरेज भएको व्यक्तिको सफल शल्यक्रिया भएको पहिलो घटना हो ।

गत शनिबार (१२ पुस) कोटेश्वरकी प्रेमकुमारी बानियाँलाई परिवारका सदस्यले अचेत अवस्थामा वीरमा पुर्‍याएका थिए । सुरुमा इमर्जेन्सी वार्डमा भर्ना गरेर उपचार थालिएको उनको होस फर्किनेमा चिकित्सकहरू नै विश्वस्त थिएनन् । तर, न्युरो सर्जिकल विभागको टोलीले गत आइतबार (१३ पुस) उनको समस्या पत्ता लगाएर शल्यक्रियामार्फत पुरानै अवस्थामा फर्काएको छ । वृद्धालाई सबड्युरल ह्यामरेज भएको पहिचान गरेपछि सर्जिकल टोलीले शल्यक्रिया गरेको थियो । रक्तनली फुटेर रगत मस्तिष्क र खोपडीको खाली ठाउँमा जम्मा हुने, अनि मस्तिष्कलाई पर्याप्त अक्सिजन प्राप्त गर्नबाट रोक्ने समस्या सबड्युरल ह्यामरेज हो ।

यति गम्भीर समस्या भएकी १०३ वर्षीया बानियाँको सफल शल्यक्रिया हुनु दुर्लभ घटना भएको वीरका निर्देशक डा. दिलीप शर्मा बताउँछन् । ‘हामीले एकदमै दुर्लभ किसिमको शल्यक्रिया गर्‍यौँ । बिरामीमा रोग पनि जटिल थियो, उमेर झनै १०३ वर्ष । तर, उपचार सफल भयो । वीरमा यति धेरै उमेरको बिरामीमा यति जटिल समस्याको शल्यक्रिया भएको दुर्लभ हो,’ उनले भने, ‘ती वृद्धाले जीवनभर आफ्नो स्वास्थ्य समस्याका लागि कहिल्यै पनि कुनै अस्पतालमा उपचार नगराएको भेट्टायौँ । अत्यन्तै स्वस्थ जीवन बिताएकी उहाँमा एक्कासि समस्या देखिएछ ।’

परिवारका सदस्यलाई उद्धृत गर्दै चिकित्सकले बताएअनुसार एक महिनादेखि वृद्धालाई कहिलेकाहीँ टाउको दुख्ने गरेको, उभिन समस्या भई लड्ने गरेको थियो । दुई दिनसम्म अचेत भएपछि उनलाई परिवारले अस्पताल पुर्‍याएका थिए ।

‘अस्पताल आइपुग्दा वृद्धा अचेत थिइन्, विस्तृत जाँच परीक्षणपछि उनको मस्तिष्कमा धेरै रक्तस्राव भएको देखियो जसलाई सबड्युरल ह्यामरेज भनिन्छ । समस्या पत्ता लागेपछि बिरामीका परिवारसँग परामर्शपछि शल्यक्रिया थाल्यौँ,’ निर्देशक शर्माले भने, ‘तत्काल न्युरोसर्जिकल शल्यक्रिया गरिएकाले बचाउन सम्भव भयो । अत्यन्तै वृद्ध उमेरमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठुलो चुनौती थियो । तर, सफल भयौँ ।’

सय वर्षभन्दा बढी उमेरका व्यक्तिमा मस्तिष्कको सफल शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिन्छ । यो शल्यक्रिया प्रा.डा. राजीव झाको नेतृत्वमा डा. समीर अर्याल, डा. नम्रता खड्का, डा. आयुष विमली, नर्स सिन्धु गौतमलगायत टिमले गरेको थियो । शल्यक्रियापछि होसमा फर्किसकेकी बिरामी बोल्नसमेत सक्ने भएको निर्देशक डा. शर्माले बताए । बुधबार उनले आफैँ खाना आएको पनि शर्माले बताए । 
 

सुझावित समाचार