माग बढ्दा विश्वकपको टिकट महँगियो

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण
  • जर्सीमा हुने फाइनलको सामान्य प्यारापिट टिकट तीन हजार एक सय १९ पाउन्ड राखिएको छ । जुन सन् २०२२ मा कतार संस्करणको भन्दा तीन गुणा बढी हो ।

सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छ । तीन राष्ट्रले पहिलोपटक संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका टिकट माग बढेपछि मूल्य बढाइएको फिफाका अध्यक्ष गिआनी इन्फान्टिनोले बताएका छन् । दुबईमा फिफाकै एक कार्यक्रमा सहभागी हुँदै अध्यक्ष इन्फान्टिनोले तुलनात्मक रूपमा टिकट बढ्दा त्यसको असर समर्थकलाई पर्ने बताए । ‘टिकटको माग हामी थेग्नै नसक्ने गरी बढेको छ । प्राविधिक रूपमा हामीले टिकट मूल्य बढाएका हौँ,’ उनले भने, ‘यसको असर आमसमर्थकमाथि पर्न गएको छ ।’ 

चार वर्षअघि कतारले आयोजना गरेको विश्वकपको तुलनामा आगामी वर्ष हुने प्रतियोगिताको टिकट अन्तर तीन गुणा फरक रहेको छ । सन् १९९४ पछि विश्वकप आयोजना गर्न अवसर पाएको अमेरिकाले आम्दानी बढाउन नै टिकट मूल्य बढाएको आरोप छ । फुटबल समर्थकहरूको एक संस्था (एफएसए)ले अमेरिकाले मात्र नभएर क्यानडा र मेक्सिकोमा हुने फुटबल खेलको टिकट पनि बढेको जनाएका छन् ।

फाइनल हेर्न तीन हजार पाउन्ड पर्ने
अमेरिकाको न्यु जर्सीमा विश्वकप फाइनल हुनेछ । फाइनल हेर्नका निम्ति कम्तीमा तीन हजार एक सय १९ पाउन्ड खर्चनुपर्छ । चार वर्षअघि भएको विश्वकप फुटबल फाइनलको सामान्य प्यारापिटका टिकट एक हजार अमेरिकी डलरभन्दा माथि थियो । योपटक तीन गुणा बढी मूल्य राखेर प्रारम्भिक टिकट बिक्री भएको एफएसएले जनाएको छ । तर, फिफा अध्यक्ष इन्फान्टिनोले आवश्यकताअनुसार मूल्य बढ्न गएको दाबी गरे । ‘कतिपय अवस्थामा मूल्य बढ्ने र घट्ने हुन्छ । फाइनल टिकट किन्न अहिलेदेखि नै चाप बढी रहेको छ । यसकारण पनि हामी यसको मूल्य बढाउन बाध्य भयौँ,’ उनले भने, ‘अहिले नै ६ देखि ७ मिलियन टिकट बिक्रीमा छ ।’ फिफा अध्यक्ष इन्फान्टिनोका अनुसार पछिल्लो १५ दिनभित्र विश्वकप हेर्न १५० मिलियन टिकट माग छ । ‘यो दुई सातामा हामीले नसोचेको टिकट माग बढेको पाएका छौँ,’ उनले भने, ‘१० लाख टिकट अनलाइनबाट किन्न पहिलो दिनमै आवेदन परेको थियो ।’

सबैभन्दा सस्तो टिकट ४५ पाउन्ड
सन् २०२६ को विश्वकपका लागि आयोजकले सबैभन्दा सस्तो टिकट मूल्य ४५ पाउन्ड राखिएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले समग्रमा १०४ खेल आयोजना गर्नेछन् । यी तीनवटै देशले सबैभन्दा सस्तो टिकट मूल्य निर्धारण गरेका हुन् । तर, यो टिकट पाउन निकै मुस्किल पर्छ । 

फिफा अध्यक्ष इन्फान्टिनोले इतिहासमै पहिलोपटक विश्वकप हेर्नेको संख्या बढ्न सक्ने बताए । ‘यसपटक दर्शकको उपस्थितिले रेकर्ड बनाउनेछ, हामीलाई अनलाइनमा आजसम्म नसोचेको संख्याले टिकट पाउन आवेदन दिएका छन्,’ इन्फान्टिनोले भने, ‘अहिलेसम्म फिफाले ४४ मिलियन टिकट बिक्री गरेको छ ।’ 

See More On

सुझावित समाचार