नेपालले चार ठुला अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण
  • सन् २०२६ मा २०औँ एसियाड, इन्डोर मार्सल आर्टस् गेम्स, युथ ओलम्पिक र बिच खेलकुद आयोजना हुँदै

नेपालले आगामी वर्ष सन् २०२६ मा चारवटा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने भएको छ । जापानमा हुने २०औँ एसियाली खेलकुद, साउदी अरेबियाले आयोजना गर्ने हुने एसियन इन्डोर मार्सल आर्टस् गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक र चीनमा हुने बिच गेम्समा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को सोमबार २१औँ साधारणसभाको अवसरमा महासचिव राजीव श्रेष्ठले एनओसीको माध्यमबाट आगामी वर्षमा नेपाली खेलाडीले चारवटा बृहत् अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने जानकारी दिएका हुन् । ‘सन् २०२६ मा नेपाली खेलाडीहरू अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुनेछन्,’ उनले भने, ‘आगामी वर्षमा एसियनदेखि यूथ ओलम्पिकसम्मका महत्वपूर्ण प्रतियोगिता हुँदै छन् ।’ महासचिव श्रेष्ठले साधारणसभामा एनओसीको प्रगति विवरण पेस गरेका छन् । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन सत्रमा बोल्दै खेलकुद क्षेत्रमा राजनीति हाबी भएको बताए । ‘खेल क्षेत्रमा राजनीति हाबी भएका कारण अधिकांश विवाद अदालतमा पुगेका छन्,’ उनले भने, ‘यसले समग्र खेलकुदमा नै असर परिरहेको छ ।’ जेन–जी आन्दोलनअघिको ओली सरकारले एनओसीमा आवश्यक विवाद निकालेको आरोप अध्यक्ष श्रेष्ठले लगाए । 

विवाद निकाल्दा नै एनओसीले सातदोबाटोमा रहेको आफ्नै भवनमा साधारणसभा गर्नबाट वञ्चित भएको उनले बताए । ‘अघिल्लो सरकारले एनओसीभित्र पनि अनावश्यक विवादका कारण आफ्नै घर हुँदा हुँदै पनि घरवारविहीन हुनपुगेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा ओलम्पिकलाई चिनाउने काम हामीहरूले गरिरहेका छौँ । खेलकुद संघ आफैँमा स्वायत्त संस्था भए पनि राखेपले अनावश्यक हस्तक्षेप गर्ने गरेको छ ।’ श्रेष्ठले एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि आग्रह गरेका छन् । 

See More On

सुझावित समाचार