नवौँ केएनपी लिग २३ पुसदेखि

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता २३ देखि २६ पुससम्म हुने भएको छ । प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी गराए । नेपाल प्रहरी, नेपाली सेना, एपिएफ, न्यु डायमन्ड युथ स्पोर्टस् र एभरेस्ट भलिबल क्लबले भाग लिने खड्काले बताए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ जित्नेछन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछ । विधागत उत्कृष्टलाई जनही २५ हजार दिइनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ दिइनेछ । उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरिनेछ । सुरुका ६ संस्करणको उपाधि एपिएफले जितेको थियो । सातौँमा न्यु डायमन्ड च्याम्पियन बनेको थियो । प्रतियोगिताको साबिक विजेता नेपाल पुलिस हो । 

यसैबिच, नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् । प्रतिष्ठानका अध्यक्ष खड्काले हरेक खेलाडी र टेक्निकल टिमका सदस्यको पाँच लाख रुपैयाँबराबरको बिमा गरिएको बताए । महिला खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतिष्ठानले ०७२ देखि प्रतियोगिता आयोजना गर्दै आएको छ । 

सुझावित समाचार