- खेलकुदमन्त्री बल्लु गुप्ताले राखेपको कार्यकारी समितिलाई आगामी आइतबारसम्म कर्णालीको भौगोलिक अवस्थाअनुसार प्रतियोगिताको खेल तथा खेलाडी निश्चित गर्न निर्देशन दिए
खेलकुद मन्त्रालयले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेल र खेलाडीको संख्या निर्धारण गर्न राखेपको कार्यकारी समितिलाई निर्देशन दिएको छ । खेलकुदमन्त्री बल्लु गुप्ताले समितिलाई आइतबारसम्म खेल संख्या र खेलाडीको संख्या निर्धारण गर्न समयसीमा दिएका छन् । आगामी १ देखि ७ फागुनसम्म कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद हुँदै छ । मन्त्रालयले प्रतियोगिताको मिति घोषणा गरेको यो चौथोपटक हो ।
यसअघि दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तीनपटक परिवर्तन भइसकेको छ । गत २३ र २४ भदौको जेन–जी आन्दोलनपछि खेलकुदमन्त्री बनेका गुप्ताले राखेपको १२३औँ बोर्ड बैठकमा दसौँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरेका थिए । यसपटक जसरी पनि प्रतियोगिता आयोजना गर्न प्रतिबद्ध रहेको मन्त्री गुप्ताले बताए । ‘हामी दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जसरी पनि गर्छौँ,’ मन्त्रालयमा राखेपको १२४औँ बैठकमा उनले भने, ‘प्रतियोगिताका लागि खेल संख्या र खेलाडीको मापदण्ड बनाउन निर्देशन दिइएको छ ।’
तीनपटकसम्म मिति घोषणा भएर पनि आयोजना हुन नसकेको प्रतियोगितामा ३६ खेल समावेश थियो । कर्णालीको भौगोलिक अवस्थाअनुसार खेल र खेलाडी संख्या निर्धारण गर्न लागेको मन्त्री गुप्ताले बताए । ‘खेलको मापदण्ड बनाएर कति खेल राख्ने र खेलाडी खेलाउने भन्ने मापदण्ड निश्चित हुनुपर्छ । जसका लागि मन्त्रालयले राखेप कार्यकारी समितिलाई आइतबारसम्मको समय दिएको छ ।’ पोखरामा ०७९ मा भएको नवौँ राष्ट्रिय खेलकुदपछि दसौँ राष्ट्रिय खेलकुद ०८१ मंसिरमा गर्ने तय भएको थियो । प्रतियोगिता आयोजना गर्न मन्त्रालयले एक वर्षभित्र चारपटक मिति घोषणा गरेको थियो ।
प्रतियोगिताको निर्देशिका पारित
राखेपको १२४औँ बोर्ड बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका, २०८१ (तेस्रो संशोधन) पारित गरेको छ । मन्त्रालयले निर्देशिका पारित गरे पनि सार्वजनिक गरेको छैन । राखेपका प्रवक्ता खुसराज दाहालले केही त्रुटि रहेका कारण निर्देशिका तत्काल सार्वजनिक नगरिएको बताए । राखेपका अध्यक्ष तथा खेलकुदमन्त्री गुप्ताको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता सञ्चालन निर्देशिका पारित गरेसँगै दसौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि बाटो खुल्नेछ ।
‘बैठकले प्रतियोगिता सञ्चालन निर्देशिका पारित गरेको छ । त्यसमा केही प्राविधिक त्रुटि छन् । सबै मिलेपछि निर्देशिका सार्वजनिक गर्छौँ,’ दाहालले भने । निर्देशिका तयार भएपछि राखेपले सबै प्रदेशलाई तयारीका लागि पत्राचार गरिने र उपसमितिहरू बनाइने जनाएको छ । राखेपको कार्यकारी समितिको सिफारिसमा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरूलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा मन्त्री गुप्तासहित उपाध्यक्ष ध्रुव आचार्य, मन्त्रालयका सचिव हरिप्रसाद लम्साल, सदस्यसचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो ।
नेपालले २०औँ एसियाली खेलकुदमा भाग लिने
खेलकुद मन्त्रालयमा भएको बैठकले सन् २०२६ मा जापानमा हुने २०औँ एसियाली खेलकुदमा नेपालले भाग लिने निर्णय गरेको छ । प्रतियोगिता जापानको नागोया र आइची सहरमा हुँदै छ । जेन–जी आन्दोलनअघिको केपी ओली सरकारले एसियन खेलकुदमा नेपालको सहभागिताबारे निर्णय गरेको थिएन । सरकारी र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई–दुईवटा नेपाल ओलम्पिक कमिटी (एनओसी)बिचको विवादले २०औँ एसियन खेलकुदको सहभागिताबारे ओली सरकारले निर्णय गर्न सकेको थिएन ।
जीवनराम श्रेष्ठ विधान संशोधन गरी एनओसीमा तेस्रोपटक नेतृत्वमा पुगेपछि तत्कालीन खेलकुदमन्त्री तेजुलाल चौधरीले निर्वाचनलाई मान्यता दिएका थिएनन् । त्यसपछि एनओसी विवाद चुलिएको हो । चौधरीको निर्देशनमा गठन भएको एनओसी अहिले गुमनाम रहेको छ । एनओसी विवाद भइरहे पनि राखेपले मिसन २०२६ भनी २०औँ एसियाली खेलकुदका लागि ११ खेलका १२० खेलाडीलाई दैनिक प्रशिक्षण गराइरहेको छ । ती खेलाडीलाई २० प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।
एसियन खेलकुद अर्को वर्ष जापानमा २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुनेछ । जसमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त एनओसीले ३२ खेलका लाग २३९ पुरुष र १९५ महिला गरी कुल ४३४ खेलाडीको नाम दर्ता गराएको छ । एनओसीले पनि २०औँ एसियालीसहित लस एन्जलस ओलम्पिक र युथ ओलम्पिकका लागि १४ खेलाडीलाई छात्रवृत्ति दिएर तयारीमा केन्द्रित गराएको छ ।
सातदोबाटोमा जेन–जी स्मृति पार्क बन्ने
मन्त्री गुप्ताले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसरको हाताभित्र जेन–जी सहिद स्मृति पार्क बनाउने निर्णय गरेका छन् । त्यस्तै, परिसरमा रहेको अडिटोरियम हलको नाम पनि जेन–जी अडिटोरियम हल राखिने भएको छ । ‘बैठकले ‘जेन–जी सहिद स्मृति पार्क निर्माण गर्ने तथा त्यहाँ रहेको अडिटोरियम हललाई जेन–जी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णय गरेको छ,’ गुप्ताले भने ।