इन्डोनेसियाका प्रियान्दानाले लिए एकै ओभरमा पाँच विकेट

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण
  • कम्बोडियाविरुद्धको पहिलो टी–२० आईमा प्रियान्दानाले १५औँ ओभरमा पाँच विकेट लिँदै विश्व रेकर्ड बनाए । टी–२० आईमा पहिलोपटक एकै ओभरमा बलरले पाँच विकेट लिए ।

इन्डोनेसियाका फास्ट बलर प्रियाान्दानाले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा एकै ओभरमा पाँच विकेट लिँदै विश्व कीर्तिमान बनाएका छन् । इन्डोनेसियाले मंगलबार कम्बोडियाविरुद्धको पहिलो टी–२० आई खेल खेल्दा प्रियान्दानाले अविश्वसनीय रेकर्ड राखेका हुन् । पुरुष तथा महिला टी–२० आई खेलमा अहिलेसम्म एकै ओभरमा पाँच विकेट लिएको रेकर्ड छैन ।

यसअघि एकै ओभरमा १४ पटक चार विकेट लिएको रेकर्ड छन् । यसमा सबैभन्दा चर्चित सन् २०१९ मा श्रीलंकाका लसिथ मलिंगाले न्युजिल्यान्डविरुद्ध सननसी रूपमा लगातार चार बलमा चार विकेट लिएका थिए । कम्बोडियाविरुद्ध प्रियान्दानाले इनिङ्सको १५औँ ओभरमा कीर्तिमानी बलिङ गरेका थिए । उनले यस ओभरमा ह्याट्रिकसहित पाँच विकेट हात पारे । बालीको मैदानमा पहिलो ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन बनाएको थियो । प्रत्युत्तरमा कम्बोडिया १६ ओभरमा १०७ रनमा अलआउट हँुदा इन्डोनेसिया ६० रनले विजयी भयो ।

१५औँ ओभरमा कम्बोडिया धराशायी
इन्डोनेसियाले लक्ष्य रक्षा गरेको बलिङ इनिङ्सको १४औँ ओभरसम्म कम्बोडिया राम्रो अवस्थामा थियो । १४ओभरको समाप्तिसम्म कम्बोडियाले १०६–५ को स्थिति बनाएको थियो । प्रियान्दानाले डेथ ओभरमा बलिङ गर्न आए । इन्डोनेसियाका कप्तान डानिल्सन हाबोएले उनलाई पहिलोपटक बलिङ गर्न लगाएका थिए । इनिङ्सको १५.१ ओभरमा प्रियान्दानाले अबर हुसेन, १५.२ ओभर र निर्माजित सिंह, १५.३ ओभरमा चन्थोएनलाई बोल्ड गर्दैै ह्याट्रिक लिए । त्यसपछि उनले १५.४ ओभरमा डट फ्याँकेका थिए ।

१५.५ ओभरमा मान्डारा सोकलाई क्याचआउट र १५.६ ओभरमा पेल भनाकलाई बोल्ड गर्दै प्रियान्दानाले एकै ओभरमा पाँच विकेटको विश्व कीर्तिमान राखेका हुन् । उनले आफ्नो एक ओभरमा पाँच विकेट लिँदा एक रन मात्र दिएका थिए । त्यो पनि वाइडका रूपमा थियो । उनकै घातक बलिङका कारण कम्बोडिया १०६–६ बाट १०७–१० को अवस्थामा अलआउट भयो । 

म्यान अफ दी म्याच केसुमा
टी–२० आईमा एकै ओभरमा पाँच विकेट लिँदै विश्व रेकर्ड बनाएका प्रियान्दाना खेलमा म्यान अफ दी म्याच भएनन् । प्रतिस्पर्धामा इन्डोनेसियाका ओपनर धर्मा केसुमा म्यान अफ दी म्याच भए । उनले ६८ बलमा ६ छक्का र आठ चौका प्रहार गरी सर्वाधिक ११० रन बनाए । उनकै उत्कृष्ट ब्याटिङका कारण इन्डोनेसियाले कम्बोडियाविरुद्ध २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन बनाएको थियो । कम्बोडियाको ब्याटिङमा सात ब्याट्सम्यान डकआउट भए । जसमा ६ जना गोल्डेन डक भए । कप्तान लुक्वमान बटले ३० बलमा चार छक्का र तीन चौका प्रहार गरी ४८ रन जोडेका थिए । ओपनर सह अबर हुसेनले ४८ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३७ रन जोडेका थिए । 

सुझावित समाचार