एसियन फुटबल महासंघ (एएफसी)ले एसियाको फुटबलस्तर बढाउन नयाँ ढाँचाको प्रतियोगिता आयोजना गर्ने भएको छ । एएफसीले यस प्रतियोगिताको नाम नेसन्स लिग दिइएको छ । यो अवधारणाअनुसार एसियाको फिफा वरीयता नम्बरदेखि पुछारसम्मका राष्ट्रहरूले एक–आपसमा प्रतिस्पर्धा गर्न अवसर पाउनेछन् । यसको फाइदा नेपालजस्तो कमजोर राष्ट्रले लिन सक्नेछ । उनीहरूले आपूmभन्दा बलियो राष्ट्रविरुद्ध प्रतिस्पर्धा पाउने एएफसीले जनाएको छ । एएफसीका कमिटीहरूले छलफल गरेर नेसन्स कपको मिति घोषणा गरिनेछ ।
‘एएफसीले एसियाको फुटबलस्तर बढाउन छिट्टै एएफसी नेसन्स लिग आयोजना गर्दै छ, यसले एएफसीमा आबद्ध सबै राष्ट्रहरूले एकै प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्,’ एएफसीका महासचिव दातुक सेरी विन्डसर जोनले भने, ‘विशेषतः हाम्रो लक्ष्य कमजोर तथा मध्यस्तरका राष्ट्रहरूलाई एक्सपोजर प्रदान गर्नु पनि हो ।’ एएफसीमा ४७ राष्ट्र आबद्ध छन् । नेसन्स कपमा यी सबै राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । फिफाले तोकेको समयमा खेल्नुपर्नेछ । एएफसीले प्रतियोगिता कहिले र कुन प्रणालीमा गर्ने भन्नेबारेमा खुलाएको छैन ।
फिफाले १९ डिसेम्बरमा जारी गरेको वरीयताअनुसार जापान एसियाको शीर्ष स्थानमा छ । जापान समग्रमा विश्वको १८औँ स्थानमा छ । दोस्रो स्थानमा इरान तथा तेस्रो स्थानमा इरान रहेको छ । एएफसीको नयाँ ढाँचाअनुसार हुने प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रले त्यसको प्रत्यक्ष फाइदा लिन सक्छन् । दक्षिण एसियामा भारत शीर्ष स्थानमा रहेको छ । भारत १४२औँ स्थानमा रहेको छ । माल्दिभ्स १७३औँ, बंगलादेश १८०औँ र नेपाल १८२औँ स्थानमा छ । एएफसीका महासचिव जोनले नेसन्स कपको मध्यमबाट एसियाको फुटबलस्तर थप माथि जाने विश्वास गरेका छन् । ‘हामीहरूको लक्ष्य ४७ राष्ट्रबिच निरन्तर रूपमा प्रतियोगिता भइरहोस् । यसले उनीहरूको फुटबल क्षमता जान्ने मौका प्राप्त हुनेछ,’ उनले भने, ‘तल्लो तथा माथिल्लो वरीयताबिचको प्रतियोतिगा एकपक्षीय हुने सम्भावना भए पनि दुईबिचको भिन्नता सबैले थाहा पाउनेछ ।’
संघलाई थप आर्थिक भार
एएफसीले नेसन्स लिगको घोषणा गर्दा यसको प्रस्ट खाका भने तयार पारेको छैन । यद्यपि, एएफसीले यसको रोल मोडेल भने युरोपियन फुटबलको जस्तो भनेको छ । युरोपमा प्रत्येक चार वर्षमा युरो च्याम्पियनसिप हुन्छ । साथसाथै, उनीहरूले अलग नेसन्स कप पनि खेल्छन् । युरो च्याम्पियनसिपमा भने छनोट चरण पार गरी स्थान बनाउनुपर्छ । नेसन्स लिगमा सबै युरोपियन राष्ट्रहरू सहभागी हुन्छन् । एएफसीले पनि एफसी एसिया कप आयोजना गर्छ । यसमा छनोट भएका राष्ट्रबिच मात्र प्रतिस्पर्धा हुन्छ ।
एसिया कप छनोटमा सहभागी हुने राष्ट्रहरूलाई वरीयताअनुसार
‘ड्र’मा राखिन्छ । एएफसीले एसिया कपभन्दा नेसन्स लिगमा आर्थिक रूपमा बलियो हुनुपर्ने जनाएको छ । प्रत्येक राष्ट्रले अर्को राष्ट्रमा जाँदाको खर्च धेरै हुने सम्भावना छ । जसका कारण एएफसीले प्रतियोगितामा सहभागी हुने राष्ट्रलाई केही आर्थिक पक्ष सहयोग गरे पनि सबै बजेट यात्रा खर्च सम्बन्धित फुटबल संघलाई दिएको छ । आर्थिक रूपमा कमजोर रहेका फुटबल राष्ट्रहरूले प्रतियोगितामा सहभागी जनाउँदा कसरी आर्थिक भार व्यहोर्ने पक्ष प्रश्न उठेको एजेन्सीले जनाएको छ ।
लिगमा डिभिजन प्रणाली
नेसन्स कपमा बलियो र कमजोर राष्ट्रबिचको प्रतिस्पर्धा निर्धारण गर्न डिभिजन अवधारणा लागू हुनेछ । टिमलाई बलियो, मध्यम र कमजोर गरी फरक लिग (डिभिजन)मा राखिनेछ । एकै स्तरका राष्ट्रहरूसँग नियमित रूपमा खेल खेलाइने एएफसीले जनाएको छ ।
यसमा राम्रो प्रदर्शन गर्ने राष्ट्र माथिल्लो लिगमा बढुवा हुनेछ । डिभिजन लिगमा कमजोर प्रदर्शन गर्ने राष्ट्र तल झर्ने व्यवस्था हुनेछ । राष्ट्रिय टोलीले नियमित र प्रतिस्पर्धात्मक खेल पाउनेछ । ‘साना देशहरूको पनि राम्रो विकास गर्ने अवधारणमा यो लिग आयोजन गर्न लागिएको हो,’ एएफसीका महासचिव जोनले भने, ‘खेलहरू केन्द्रीय रूपमा व्यवस्थित गरिनेछ । एएफसीले दर्शक, प्रसारण र प्रायोजकको पनि बढी चासो राखेको छ ।’
फुटबल संघसँग छिट्टै छलफल गर्ने
एएफसीले आफ्ना सवै सदस्यहरूसँग नेसन्स लिगको अवधारणबारे छिट्टै छलफल गर्नेछ । फुटबल विकास र अन्तर्राष्ट्रिय खेलहरूको दिगो संरचना स्थापना गर्ने उद्देश्यले प्रभावकारी हुने भएकाले फुटबल संघले यसमा समर्थन गर्ने महासचिव वान्डिसाले बताए । ‘नेसन्स लिग ४७ सदस्य संघहरूको विकासलाई समर्थन गर्ने महत्वपूर्ण कदम हुनेछ,’ उनले भने, ‘एसियाका राष्ट्रिय टोली फुटबललाई सुदृढ बनाउने प्रतिबद्धता हो ।’
फिफा अन्तर्राष्ट्रिय ‘म्याच विन्डो‘को प्रभावकारी उपयोग, सीमित प्रतिद्वन्द्वी उपलब्धता, बढ्दो खर्च र जटिल व्यवस्थापनका कारण राष्ट्रिय टोलीले अपेक्षाअनुसार खेल्न नपाइरहेको भन्दै एएफसीले दिगो ढाँचा आवश्यक रहेको निष्कर्ष उनले गरेका छन् । एएफसीका महासचिव एएफसी नेसन्स लिग आफ्नो ४७ सदस्य संघहरूको विकासलाई समर्थन गर्ने निरन्तर प्रतिबद्धतामा एक महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएका छन् ।