नेपाल आयल निगमको सातमध्ये पाँच विभागीय प्रमुख (निर्देशक)को सरुवा भएको छ। निगम व्यवस्थापनले योजना प्रशासन तथा मानव संसाधन विभाग प्रमुखमा निर्देशक बिनी श्रेष्ठलाई सरुवा गरेको छ। त्यहाँ कार्यरत निर्देशक निर्मला आचार्यलाई गुणस्तर नियन्त्रण तथा अनुगमन विभाग सरुवा गरिएको छ। श्रेष्ठ र आचार्यको जिम्मेवारी एक आपासमा हेरफेर गरिएको हो।
त्यस्तै, देशभरका ठूला परियोजना निर्माणको नियमन गर्दै आएको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखमा निर्देशक अशोक साह आएका छन्। शाहले पाँच वर्षअघि पनि इन्जिनियरिङ विभाग प्रमुख भएर काम गरिसकेका छन्। त्यतिबेला उनले हालको कर्पोरेट भवनको टेण्डर प्रकाशित गरेर निर्माण अघि बढाएका थिए। आयल निगमले टेण्डर प्रकृयाबाट गरेको सबैभन्दा ठूलो काम नै कर्पोरेट भवन निर्माण हो।
साह यसअघि आन्तरिक नियन्त्रण तथा अनुगमन विभाग प्रमुख थिए। उक्त विभागमा निर्देशक अञ्जना पोख्रेलको सरुवा गरिएको छ। पोख्रेल एलपिजी तथा उड्डयन विभागमा थिइन्। इन्जिननियरिङ विभागमा रहेका निर्देशक बिनितमणी उपाध्यायको एलपिजी विभागमा सरुवा भएको छ। खाना पकाउने एलपी ग्यासको दुई वटा मूल्य निर्धारण गरेर घरायसी र व्यवसायिक प्रयोजनको सिलिण्डर बजारमा पठाउने कामको जिम्मेवारी उपाध्यायलाई दिइएको छ।
अर्थ विभागको निमिक्त निर्देशक नवविनोद पोखरेलको जिम्मेवारी यथावत छ। विभागीय प्रमुखको लागि निर्देशक तहको कर्मचारी हुनुपर्ने मापदण्ड भए पनि उपनिर्देशक पोख्रेलले उपल्लो तहको जिम्मेवारी पाइरहेका हुन्। निर्देशक तहमा पुस्कर कार्की र प्रलयंकर आचार्य भए पनि उनीहरुलाई कोशी र मधेश प्रादेशिक कार्यालय प्रमुखमा पठाएर केन्द्रीय विभाग निमित्तका भरमा संचालन गरेको आरोप व्यवस्थापनले खेप्दै आएको छ। आपूर्ती तथा वितरण विभाग प्रमुखमा निर्देशक सुरज साह यथावत छन्।
निगम व्यवस्थापनले नेपालगञ्ज इन्धन डिपो प्रमुखमा अजित पोख्रेलको सरुवा गरेको छ। पोख्रेलविरुद्ध इन्धन अपचलन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन गरेको मुद्दा विचाराधिन छ। उनी भैरहवा डिपोमा रहँदा डिजेल चोरेर जमिनमुनी लुकाएको घटनामा मुछिएका थिए। अवकाश हुन करिब एक वर्ष बाँकी रहेका पाखे्रेललाई कार्यकालको अन्तिममा रोजेको ठाउँ पठाएको स्रोतले बतायो।
नेपालगञ्ज डिपोमा कार्यरत मनोहर डिसी केन्द्रीय कार्यालय आएका छन्। त्यस्तै, पोखरास्थित गण्डकी प्रादेशिक कार्यालय प्रमुखमा सतिश ओझाको सरुवा भएको छ। दुई वर्षअघि सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी डिपोको जिम्मेवारी दिँदा ओझा कार्यकाल पूरा नगरी काठमाडौं तानिएका थिए। पोखरा डिपोमा कार्यरत रामकुमार न्यौपानेको केन्द्रीय कार्यालय सरुवा भएको छ।