नेपाल बास्केटबल संघको आयोजनामा यही पुस ७ देखि १२ गतेसम्म ली निङ बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ।
बौद्धको डंकमान्डुमा हुने उक्त प्रतियोगिता हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिगको छनोट प्रतियोगिता हुनेछ। प्रतियोगितामा सहभागी १२ टिमको प्रतिस्पर्धाबाट चार टिम राष्ट्रिय बास्केटबल लिगका लागि छनोट हुनेछन्। जहाँ पहिले नै छनोट भइसकेको चार टोलीसहितको आठ टोलीबिच प्रतिस्पर्धा हुनेछ।
ली निङ बास्केटबल प्रतियोगिताका संयोजक नोर्बु गुरुङका अनुसार कीर्तिपुर क्लब, गोल्डेन गेट कलेज, टाइम्स कलेज र हन्ड्स एकेडेमी राष्ट्रिय लिगमा छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा सहभागी १२ टोलीबिचको टाइसिट ‘ड्र’ गरिएको थियो। चार समूहमा विभाजित टोलीहरूमा समूह ‘ए’मा आइएसए, तरहर र नेपाल आर्मी, समूह ‘बी’मा विशाल मिलन केन्द्र, रोयल र गण्डकी, समूह ‘सी’मा चाणक्य, सोलो बास्केटबल र बौद्ध बास्केटबल क्लब तथा समूह ‘डी’मा प्ले बक्स, बौद्ध पीपल बोट क्लब र शंकरदेव कलेज रहेका छन्।
लिग कम नकआउटको आधारमा हुने नतिजाबाट प्रत्येक समूहबाट दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् भने सेमिफाइनलमा पुग्ने टोली राष्ट्रिय लिगमा छनोट हुनेछ।