उद्योगले उखु क्रसिङ सुरु गरेपछि किसानलाई भ्याई–नभ्याई

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण
  • बेलौरी र दशरथ बस्तीमा चिनी उद्योग सञ्चालनमा आएसँगै उखुखेतीमा किसानको आकर्षण बढेको छ । यो किसानका लागि घरदैलोमै रोजगारीको अवसर बनेको छ ।

उद्योगले उखु क्रसिङ सुरु गरेसँगै यतिवेला कञ्चनपुरका उखु किसान खेतबारीमा व्यस्त देखिन थालेका छन् । कञ्चनपुरको बेलौरी– १०, शिवनगर र पुनर्वास नगरपालिका– २, दशरथ बस्तीका चिनी उद्योग, बेलडाँडीको केदार गुड उद्योगसहितका अन्य उद्योगले उखु क्रसिङ सुरु गरेसँगै उनीहरू व्यस्त बनेका हुन् । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीसहितका किसानलाई यतिवेला उखु काट्न भ्याई–नभ्याई छ ।

सरकारले चालू आर्थिक वर्ष ०८२/८३ देखि उखुको मूल्य वृद्धि गरेको छ । गत आवमा प्रतिक्विन्टल पाँच सय ८५ रुपैयाँ निर्धारण गरेको सरकारले यो वर्षदेखि ३५ रुपैयाँ बढाएर ६ सय २० पुर्याएको छ । साथै, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसमेत पाउने भएपछि किसान उत्साहित छन् । 

उखु उत्पादक किसान हकहित तथा संरक्षण समिति कञ्चनपुरका कोषाध्यक्ष चेतनकुमार राईले तुलनात्मक रूपमा उखुको मूल्यवृद्धि भएको बताए । ‘विगतमा भन्दा उखुको मूल्य वृद्धि भएको छ,’ उनले भने, ‘यसमा हामी खुसी छौँ, अब सरकारले अनुदान वितरणका कामकाजमा ढिलासुस्ती पनि गर्न हुन्न ।’ गत वर्ष अनुदानको रकम भुक्तानीका लागि जिल्लादेखि केन्द्रसम्मै आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखे । 

नगदे बाली मानिने उखुखेती कञ्चनपुरका किसानका लागि घरदैलोमै रोजगारी बनेको छ । बेलौरी र दशरथ बस्तीमा चिनी उद्योग सञ्चालनमा आएसँगै उखुखेतीप्रति किसानको आकर्षण बढेको हो । कुनै वेला नजिकै उद्योग नहुँदा सस्तोमै भारतलाई उखु बेच्नुपर्ने बाध्यता थियो । 

बेलडाँडी– ४, वैवाहका किसान दिलप्रसाद शर्माले उखुखेतीलाई स्वरोजगारकै रूपमा काम गरेको बताए । ‘मेरो परिवारले २० वर्षदेखि उखुखेती गर्दै आएको थियो,’ उनले भने, ‘उतिवेला गाउँमा गुड उत्पादन गर्ने कोलु मात्रै थिए, अहिले दुई ठुला चिनी उद्योग सञ्चालनमा आएका छन् । यसले धेरै सहज बनाएको छ ।’ शर्माले कञ्चनपुरमा आठ बिघा र बर्दियामा समेत ६ बिघा जमिनमा उखुखेती गरेका छन् । उनले आफूले वार्षिक एक करोडको कारोबार गर्दै आएको पनि बताए । 

त्यस्तै, पुनर्वास नगरपालिका– ९ का पूर्ववडाध्यक्षसमेत रहेका नारायणप्रसाद जैसीले नेपालको आर्थिक समृद्धिको आधार उखु भएको बताए । ‘हामीले स्वदेशमा उखुखेती गरी चिनी निर्यात गरेर पनि बेच्नुपर्छ, तब मात्रै हाम्रै वैदेशिक व्यापार घाटा कम गर्न सकिन्छ ।’ 

अढाई दशकदेखि उखुखेती गर्दै आएका पुनर्वासका जैसीले पाँच बिघामा उखुखेती गरेका छन् । ‘विगतमा हामीले भारतमा पनि उखु बेच्दै आएका थियौँ,’ ‘उनले भने, ‘अहिले त स्वदेशमै पनि उखु क्रसिङ गर्ने उद्योग सञ्चालनमा आएका छन्, हामीलाई सहज भएको छ ।’ 

बेलौरी नगरपालिका– १०, सडकघाटका प्रभावशाली उखु किसान चक्रबहादुर कडायत वार्षिक ६० लाख रुपैयाँसम्मको उखु बेच्दै आएको बताउँछन् । ‘मैले ३२ बिघामा उखुखेती गरेको छु,’ उनले भने, ‘स्वदेशमा चिनी मिल नहुँदा भारतमा बेच्नुपर्ने बाध्यता थियो, अहिले दुई चिनी उद्योग सञ्चालनमा सहज भएको छ ।’
 

सुझावित समाचार