दूरसञ्चारका ग्राहकबाट इन्टरनेटको गुणस्तरमा सबैभन्दा धेरै गुनासो

इन्टरनेट प्रयोगकर्ता बढ्दै जाँदा सेवाको गुणस्तरसम्बन्धी गुनासोसमेत बढे, दूरसञ्चार प्राधिकरणमा प्रयोगकर्ताले गरेका ७३ प्रतिशत गुनासा इन्टरनेटसम्बन्धी

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार असोजसम्ममा तीन करोड एक लाख १६ हजार इन्टरनेट सेवाग्राही छन्, यीमध्ये अधिकांशले खस्कँदो गुणस्तरबारे गुनासो टिपाएका छन्

दूरसञ्चार सेवाग्राहीले इन्टरनेट सेवाको गुणस्तरलाई लिएर सबैभन्दा बढी गुनासो गर्ने गरेको देखिएको छ । नियामक निकायमा सेवाग्राहीले इन्टरनेट नचलेको, स्पिड घटबढ भएको, सुस्त भएकोलगायत गुणस्तरको विषयलाई लिएर सबैभन्दा बढी गुनासो गर्ने गरेका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा गत आव ०८१÷८२ मा सेवाग्राहीले कुल दुई सय ९४ गुनासो गरेका छन् । त्यसको ७३ प्रतिशत गुनासो इन्टरनेट सेवाका सम्बन्धमा रहेका छन् । त्यसमध्ये पनि ३८.५ प्रतिशत गुनासो इन्टरनेटको गुणस्तरका सम्बन्धमा रहेको छ ।

प्राधिकरणका अनुसार गत असोजसम्ममा विभिन्न सेवाप्रदायकका तीन करोड एक लाख १६ हजार इन्टरनेट सेवाग्राही रहेका छन् । अर्थात्, कुल जनसंख्याभन्दा बढी इन्टरनेट प्रयोगकर्ता पुगेका छन् । एकै ग्राहकले एकभन्दा बढी सेवा खरिद गरेका कारण जनसंख्याभन्दा बढी सेवाग्राही देखिएका हुन् । यसरी इन्टरनेटको प्रयोग बढ्दै गएपछि त्यससँग सम्बन्धित गुनासोसमेत बढेको हो । 

उक्त आवमा इन्टरनेट नचलेको भन्दै ६० वटा गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, इन्टरनेट स्पिड घटबढ, इन्टरनेट सुस्त, प्याकेज र ब्यान्डविथका सम्बन्धमा ५३ वटा, मर्मत समस्यामा १३, बिलिङ र क्षतिपूर्ति सम्बन्धमा चारवटा, टोल फ्री नम्बरमा सात, राउटर समस्यामा १५ र धरौटी, महसुल फिर्ताका सम्बन्धमा १७ वटा गुनासो आएका छन् । अन्य ४५ गरी इन्टरनेट सेवाका सम्बन्धमा ग्राहकले दुई सय १४ गुनासो गरेको प्राधिकरणले प्रतिवेदनमा उल्लेख गरेको छ । 

त्यस्तै, सेवाग्राहीले भ्वाइस सेवाको बिलिङ तथा ब्यालेन्सका सम्बन्धमा १० वटा गुनासो गरेका छन् । त्यस्तै, सिमकार्ड (रिचार्ज गर्दाको अवधि)का विषयमा २४ वटा, नेटवर्क समस्यामा १५, डेटा प्याकेमा १९, नम्बर परिवर्तनमा एक र ल्यान्डलाइनमा समस्या देखिएको सम्बन्धमा एउटा गुनासो प्राप्त भएको हो । अन्य १० समेत गरी भ्वाइस सेवामा वर्षभरमिा ८० गुनासो आएको प्राधिरकणको तथ्यांक छ ।

प्राप्त सबै गुनासोको फस्र्योट तत्कालै गर्दै आएको प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले बताए । ‘सेवाग्राहीले सबैभन्दा पहिला सम्बन्धित कम्पनीमा गुनासो गर्छन्, त्यसपछि प्राधिकरणमा आउने हुन्, कतिपय भने सीधै प्राधिकरणमा समेत आउँछन्,’ उनले भने, ‘प्राप्त गुनासोलाई हामी सम्बन्धित कम्पनीमा पठाउँछौँ अनि उनीहरूले गुनासो सम्बोधन गरी समस्या समाधान भएको जानकारी प्राधिकरणमा गराउँछन् ।’

नेपाल दूरसञ्चार प्राधिकरण सहायक प्रवक्ता डा. प्रदीप पौड्याल भन्छन्– उपभोक्ताका सबै गुनासो फस्र्योट भएका छन्
सेवाग्राहीले सबैभन्दा पहिला सम्बन्धित कम्पनीमा गुनासो गर्छन्, त्यसपछि प्राधिकरणमा आउने हुन्, कतिपय भने सीधै प्राधिकरणमा समेत आउँछन् । प्राप्त गुनासोलाई हामी सम्बन्धित कम्पनीमा पठाउँछौँ अनि उनीहरूले गुनासो सम्बोधन गरी समस्या समाधान भएको जानकारी प्राधिकरणमा गराउँछन् । प्राधिकरणमा प्राप्त सबै गुनासो फस्र्योट भइसकेका छन् । 

कुन सेवाप्रदायकको सेवामा सबैभन्दा बढी गुनासो ?
दूरसञ्चार नियमावली, २०५४ मा प्राधिकरणबाट अनुमतिपत्रप्राप्त सेवाप्रदायकले सञ्चालन गरेको सेवाको सम्बन्धमा प्राधिकरणसमक्ष उजुरी गरेमा प्राधिकरणले उजुरीउपर छानबिन गरी सुनुवाइ गर्ने व्यवस्था रहेको छ । ‘सोही व्यवस्थाअनुसार प्राधिकरणमा आव ०८१/८२ मा जम्मा दुई सय ९६ वटा गुनासा प्राप्त भएकामा सम्पूर्ण गुनासोलाई सम्बोधन गरिएको छ,’ प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ, ‘अधिकांश गुनासोहरू इन्टरनेट नचलेको, इन्टरनेटको स्पिड घटबढ, बिलिङसम्बन्धी, नेटवर्क समस्यालगायतका रहेका छन् ।’ यस अवधिमा प्राप्त गुनासोहरूमध्ये सबैभन्दा धेरै गुनासो क्लासिक टेक प्रालिको (३२.६५ प्रतिशत) रहेको छ ।

सबैभन्दा कम गुनासो शिखर नेट प्रालि, फाइवर वल्र्ड कम्युनिकेसन प्रालि र कस्मिक नेट प्रालिको ०.३४ प्रतिशत रहेको छ । प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर कायम गरे–नगरेको सम्बन्धमा आव ०८०/८१ मा २३ वटा स्थानमा सेवाप्रदायकले ड्राइभ टेस्ट गरिएको प्राधिकरणले जनाएको छ ।

सुझावित समाचार