बैंकिङ क्षेत्रमा प्रयोग गरिने एआईलाई नियमनको दायरामा ल्याइँदै

बैंकहरूले आफ्नै एआई प्रणाली बनाएर आन्तरिक काम गर्न सक्ने, एआईबाट बन्ने सामग्री स्पष्ट रूपमा खुलाउनुपर्ने

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, भुक्तानी सेवाप्रदायक संस्था, भुक्तानी प्रणााली सञ्चालकजस्ता लाइसेन्सप्राप्त संस्थाहरूले प्रयोग गर्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई)लाई नियमनको दायरामा ल्याइने भएको छ । नेपाल राष्ट्र बैंकले मार्गदर्शन बनाएर बैंकिङ क्षेत्रमा प्रयोग भएको र अब हुने एआईलाई व्यवस्थित बनाउन लागेको हो । 

यसका लागि राष्ट्र बैंकले आर्टिफिसियल इन्टिलिजेन्स गाइडलाइनको मस्यौदा जारी गरेको छ । आइतबार जारी भएको मस्यौदामा १५ पुससम्म सरोकारवालाले सुझाव दिनेछन् । त्यसपछि राष्ट्र बैंकले अन्तिम मार्गदर्शन जारी गर्नेछ । त्यसअन्तर्गत रहेर बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक, भुक्तानी प्रणाली सञ्चालक, पूर्वाधार बैंकलगायतले एआई प्रयोग गर्न सक्नेछन् । यस्ता संस्थाले आफ्नै एआई प्रणाली बनाएर पनि प्रयोगमा ल्याउन सक्नेछन् । आउटसोर्सिङबाट पनि एआई प्रयोग गर्न सकिने बताइएको छ । 

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले राष्ट्र बैंकबाट लाइसेन्सप्राप्त संस्थाहरूमा एआई प्रयोगलाई व्यवस्थित बनाउन खोजेको बताए । ‘अहिले विश्वका विभिन्न देशले एआईसम्बन्धी कानुन नै ल्याइसकेका छन् । नेपाल सरकारले पनि नियमावली ल्याएको अवस्था छ । नेपालमा एआईको प्रयोग बढ्दै गएको छ । त्यसलाई हामीले रोक्न हुँदैन,’ उनले भने, ‘बैंकिङ क्षेत्रमा प्रयोग हुने एआईलाई नियमन गर्दै इथिकल बनाउन खोजेका छौँ । यसका लागि गाइडलाइनको मस्यौदा सार्वजनिक भइसकेको छ । त्यसमा प्राप्त हुने राय–सुझावका आधारमा गाइडलाइनलाई अन्तिम रूप दिनेछौँ ।’

राष्ट्र बैंकले गत आवकै मौद्रिक नीतिमा एआई गाइडलाइन बनाउने घोषणा गरेको थियो । त्यसको डेढ वर्षपछि बल्ल एआई गाइडलाइन तर्जुमा गर्न लागेको हो । राष्ट्र बैंकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालय, बैंक तथा वित्तीय संस्थालगायतका क्षेत्रका प्रतिनिधि राखेर गाइडलाइनको मस्यौदा बनाएको थियो । 

बैंकिङ क्षेत्रले प्रयोग गर्ने एआईलाई जिम्मेवार, नैतिक र सुरक्षित बनाउन गाइडलाइन ल्याउन लागिएको प्रवक्ता पौडेलको भनाइ छ । ‘एआई अब कर्जा मूल्यांकन, धोखाधडी पहिचान, ग्राहकसँगको अन्तक्र्रिया, जोखिम व्यवस्थापनलगायतका क्षेत्रमा प्रयोग हुन थालेको छ । यो अवस्थामा राष्ट्र बैंकले नवीनता प्रवद्र्धनसँगै ग्राहक अधिकार, निष्पक्षता र वित्तीय स्थिरताको सुरक्षामा जोड दिएको छ,’ उनले बताए । 

मस्यौदाअनुसार क्रेडिट स्कोरिङ, धोखाधडी पहिचान, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालनजस्ता क्षेत्रमा एआई प्रयोग गर्न सकिनेछ । राष्ट्र बैंकबाट लाइसेन्सप्राप्त संस्थाहरूले एआई रणनीति तथा शासन पद्धति बनाउनुपर्नेछ । उनीहरूले क्रस डिसिप्लिनरी एआई स्टियरिङ कमिटीसमेत बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।

लाइसेन्सप्राप्त संस्थाहरूले आन्तरिक काममा तेस्रो पक्षका एआई प्रयोग गर्न सक्ने प्रस्ताव पनि गरिएको छ । कागजात तयार पार्ने, सारांश बनाउने, जानकारी विश्लेषण गर्नेजस्ता आन्तरिक कामका लागि तेस्रो पक्षका एआई उपकरण प्रयोग गर्न सक्ने प्रस्ताव गरिएको छ । 

मस्यौदाअनुसार आउटसोर्सिङका रूपमा पनि एआई प्रयोग गर्न सकिनेछ । बैंकलगायतका लाइसेन्सप्राप्त संस्थाहरूले विभिन्न सेवा आपूर्तिका लागि तेस्रो पक्षलाई जिम्मा दिन्छन् । त्यसमा एआईको प्रयोग भएमा मान्यता दिने प्रस्ताव गरिएको छ । व्यापक ड्यु–डिलिजेन्स गर्ने काममा समेत एआई प्रयोग गर्न दिने प्रस्ताव गरिएको छ । 

जोखिम मूल्यांकन गर्न पनि एआई प्रयोग गर्न दिने प्रस्ताव गरिएको छ । तेस्रो पक्ष एआई प्रयोग गर्दा डेटा सुरक्षा, अनुपालन अर्थात् नियमसंगत, लेखा परीक्षणका लागि योग्य हुनुपर्नेछ । आउटसोर्सिङका रूपमा एआई प्रयोग गर्दा सञ्चालक समितिबाट स्वीकृति पनि लिनुपर्नेछ । साथै, नेपाल राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागलाई जानकारी पनि दिनुपर्नेछ । एआई प्रयोग गर्दा आउने जोखिमलाई व्यवस्थापन गर्नुपर्ने पनि मस्यौदामा उल्लेख छ । 

एआई प्रयोग गर्दा हुन सक्ने पक्षपात पहिचान गरी रोकथाम गर्नुपर्ने प्रस्ताव गरिएको छ । एआईलाई भेदभावपूर्ण निर्णय लिन नदिने व्यवस्था पनि अनिवार्य रूपमा गर्नुपर्ने प्रवक्ता पौडेलले बताए । यस्तै, उच्च जोखिमयुक्त एआई प्रणालीलाई स्वतन्त्र तेस्रो पक्षबाट प्रमाणीकरण गर्नुपर्ने बताइएको छ । 

यस्तै, एआई प्रणालीको निरन्तर अनुगमन पनि गर्नुपर्ने बताइएको छ । ठुलो प्राविधिक असफलता, डेटा चुहावट, हानिकारक पक्षपातबारे राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने बताए । 

एआईलाई पारदर्शी, निष्पक्ष, सुरक्षित र ग्राहकमैत्री बनाउनुपर्ने पनि मस्यौदामा उल्लेख छ । नवीनता र जवाफदेहिताबिच सन्तुलन कायम गर्नुपर्ने पनि बताइएको छ । ‘वित्तीय क्षेत्रलाई एआईमा सक्षम बनाउन खोजेका छौँ । साथै, नियन्त्रित र उत्तरदायी बनाउनुपर्छ भन्ने हाम्रो मनसाय हो,’ प्रवक्ता पौडलले बताए । एआई प्रयोग र यसको प्रणाली पारदर्शी र स्पष्ट हुनुपर्ने पनि बताइएको छ ।

एआई प्रयोग गर्दा डेटाको गोपनीयता र सुरक्षा ग्यारेन्टी हुनुपर्ने प्रस्ताव गरिएको छ । एआई प्रणालीहरू नै ग्राहकको डेटा सुरक्षा गर्ने र गोपनीयता सुनिश्चित गर्ने गरी डिजाइन गर्नुपर्ने छ । यसैगरी डेटाको प्रयोग आवश्यकताअनुसार मात्रै गर्नुपर्ने प्रस्ताव गरिएको छ । जथाभावी रूपमा धेरै डेटा प्रयोग गर्न नहुने बताइएको छ । 

एआई प्रणालीमा ग्राहकको डेटा प्रयोग गर्नुअघि सहमति लिनुपर्ने पनि प्रस्ताव गरिएको छ । ग्राहकलाई कुनै पनि समयमा स्पष्ट रूपमा डेटा प्रयोगबाट बाहिर निस्कन सक्ने विकल्प प्रदान गर्नुपर्ने पनि बताइएको छ । 

यस्तै, एआई प्रणाली समावेशी पनि हुनुपर्ने बताइएको छ । ‘एआई प्रणाली सबै जनसंख्या समूहका लागि सेवा प्रदान गर्न सक्ने गरी डिजाइन गर्नुपर्छ । मुख्यत: पछाडि परेका कमजोर तथा सेवा नपुगेका समुदायलाई समान रूपमा पहुँच र लाभ प्रदान गर्ने गरी एआई प्रणाली बनाउनुपर्छ । साथै, वित्तीय पहुँचमा असमानता बढ्ने, नयाँ प्रकारका बहिष्करण सिर्जना हुने वा विद्यमान विभाजन झनै गहिरिने अवस्था उत्पन्न नहुने गरी सुनिश्चितता गर्नुपर्नेछ,’ मस्यौदामा भनिएको छ । 

बैंक तथा वित्तीय संस्था तथा लाइसेन्सप्राप्त संस्थाहरूले एआईबाट बनाएको सामग्रीको ‘लेबल’ पनि गर्नुपर्नेछ । हालको उजुरी व्यवस्थापन प्रणालीलाई एआई प्रणालीमा आधारित बनाउन सक्ने व्यवस्था पनि गरिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल भन्छन्– 
अहिले विश्वका विभिन्न देशले एआईसम्बन्धी कानुन नै ल्याइसकेका छन् । नेपाल सरकारले पनि नियमावली ल्याएको अवस्था छ । नेपालमा एआईको प्रयोग बढ्दै गएको छ । त्यसलाई हामीले रोक्न हुँदैन । बैंकिङ क्षेत्रमा प्रयोग हुने एआईलाई नियमन गर्दै इथिकल बनाउन खोजेका छौँ । यसका लागि गाइडलाइनको मस्यौदा सार्वजनिक भइसकेको छ । त्यसमा प्राप्त हुने राय–सुझावका आधारमा गाइडलाइनलाई अन्तिम रूप दिनेछौँ ।

सुझावित समाचार