सुदूरपश्चिम र विराटनगर फेरि भिड्दै

लिग चरणमा प्रतिस्पर्धा गरेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले आज क्वालिफायरमा प्रतिस्पर्धा गर्दै

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को मंगलबार पहिलो क्वालिफायर खेल हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा लिग चरणको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्सबिच घमासान हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ । पराजित टोलीले पुन: फाइनल प्रवेशका लागि एक मौका पाउनेछ ।

तेस्रो स्थानको काठमाडौं गोर्खाज र चौथो लुम्बिनी लायन्सबिचको विजेताविरुद्ध पहिलो क्वालिफायरमा पराजित हुने टोलीले प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले पहिलो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ । यसैकारण पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनल स्थान पक्का गर्न दुईपटक मौका पाउनेछ । सुदूरपश्चिम र विराटनगरबिच अर्को बहुप्रतिक्षित खेलका रूपमा रहेको छ । किनभने यी दुवै टोलीले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । अंकतालिकाका शीर्ष दुई टोलीबिचको भिडन्त हेर्न लायक हुनेछ । सुदूरपश्चिमले गत शनिबार विराटनगरसँग व्यहोरेको नमिठो हारको बदला लिने अवसरका रूपमा लिएको छ । विराटनगरले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट रहेको सुदूरपश्चिममाथि दबाब कायम राख्ने योजनाका साथ प्रतिस्पर्धा गर्नेछ । 

सुदूरपश्चिम लगातार दोस्रो तथा पहिलोपटक विराटनगरको फाइनल पुग्ने लक्ष्य हो । गत वर्ष जनकपुर बोल्ट्ससँगको उपाधि भिडन्तमा सुदूरपश्चिम पाँच विकेटले पराजित भएको थियो । विराटनगर पहिलोपटक क्वालिफायरमा पुगेको हो । यो स्थानमा विराटनगरको तुलनामा सुदूरपश्चिम अनुभवी देखिन्छ । सुदूरपश्चिमसँग दबाबपूर्ण खेलमाथि नियन्त्रण गर्ने क्षमता छ । विराटनगरले योपटक स्वदेशी तथा विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनमा लिग चरणमा आफ्नो अन्तिम खेल खेल्नुअघि शीर्ष चार स्थान सुरक्षित गरेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मैदान प्रतिस्पर्धा गर्नुअघि दुई प्रमुख खेलाडी गुमाएका छन् । 

अस्ट्रेलियाका ओपनर जोस ब्राउन र क्रिस लिन घर फर्केका छन् । ब्राउन बिग बास खेल्न तथा लिन घाइते भएका कारण अस्ट्रेलिया फर्किएका हुन् । यी दुवै ब्याट्सम्यान पिच र विपक्षी बलरहरूको रणनीतिसँग भिजिसकेका थिए । उनीहरूको स्थानमा आएका पाकिस्तानी र भारतीय खेलाडीलाई पहिलो खेलमा सेट हुन समय लाग्न सक्छ । यद्यपि, कप्तान दीपेन्द्रसिंह ऐरी भने आफ्ना अनुभवी खेलाडीका साथ विराटनगरसँगको हाइभोल्टेज खेल खेल्न तयार छन् । 

सुदूरपश्चिमको तुलनामा विराटनगर बलियो स्थितिमा छ । दुई प्रमुख मार्टिनु गुप्तिल र फाफ डु प्लेसिसको उत्कृष्ट ब्याटिङको सहयोगमा विराटनगरले सुदूरपश्चिमको बलिङ तोड्ने योजनामा छ । यी दुवै खेलाडीका साथमा विराटनगर मनोबल उच्च छ । 

उच्च लयमा दुवै टोली
लिग चरणमा विराटनगरसँगको खेलबाहेक सुदूरपश्चिमले मैदानमा सबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको थियो । लगातार ६ वटा खेल जित्दा उसका ब्याट्सम्यान, बलर र फिल्डरले दमदार प्रदर्शन गरेका थिए । पहिलो क्वालिफायरमा अघिल्लो खेलमा गल्ती सच्याउँदै विराटनगरमाथि हाबी हुने योजना सुदूरपश्चिमको छ । अभिनाश बोहरा एनपिएलकै सर्वाधिक विकेट लिने बलरको दोस्रो स्थानमा छन् । विराटनगरले लगातार तीन खेलमा जित निकालेर सुरुदेखि नै शीर्ष स्थानमा रहेको सुदूरपश्चिमाथि दबाव राखेको थियो । पहिलो क्वालिफायर खेल्न सुदूरपश्चिमलाई हराउनुपर्ने थियो । साथै, उसलाई रनरेट पनि ठुलो चाहिने अवस्था थियो । त्यस्तो अवस्थामा विराटनगरले सुदूरपश्चिमाथि सानदार जित निकाली दोस्रो स्थान रक्षा गर्‍यो । 

प्लेयर्स टु वाच

सन्दीप लामिछाने (विराटनगर)
विराटनगर किंग्स पहिलोपटक एनपिएलको क्वालिफायर वानमा रहँदा कप्तान सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । त्रिविको पिचमा सन्दीपले जादुमयी बलिङ गरिरहेका छन् । उनी एनपिएलकै सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा छन् । उनले सात खेलमा १५ विकेट लिइसकेका छन् । लिग चरणकै अन्तिम खेलमा सन्दीपले सुदूरपश्चिमविरुद्ध कसिलो बलिङ गरेका थिए । पहिलो क्वालिफायर वानमा सन्दीप फेरि चिरपरिचित प्रतिद्वन्द्वी सुदूरपश्चिमविरुद्ध कसिलो बलिङ गर्ने योजनाका साथ प्रवेश गर्नेछन् । नियमित बलरले विकेट लिन नसकेको अवस्थामा उनी स्वयं आफूलाई अगाडि राख्छन् र टोलीलाई ब्रेक दिलाउँछन् । सुदूरपश्चिमले आफूमाथि हाबी हुन दियो भने खेलमा पछाडि पर्न सक्छ । 

फाफ डु प्लेसिस (विराटनगर)
दक्षिण अफ्रिकाका पूर्वकप्तान डु प्लेसिसले गत शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय खेलको अनुभव देखाए । डु प्लेसिसले आवश्यक रनरेटमा जित्नुपर्ने खेलमा विस्फोटक ब्याटिङ गर्दै विराटनगरलाई पहिलो क्वालिफायरमा स्थान सुरक्षित गराए । उनले केवल १९ बलमा ५० रनको अर्धशतकीय योगदान दिँदा विराटनगर राम्रो रनरेटका आधारमा दोस्रो स्थान रक्षा गर्‍यो । पहिलो एनपिएल अनुभवमै डु प्लेसिसले आफ्नो क्षमता देखाइसकेका छन् । फास्टबलर र स्पिनरविरुद्ध आकर्षक स्ट्रोक लगाउन सक्ने उनले फेरि सुदूरपश्चिमलाई समस्यामा पार्न सक्छन् । सुदूरपश्चिमले उनको आक्रामक ब्याटिङ रोक्नुपर्नेछ । डु प्लेसिसले सुरुदेखि नै स्ट्रोक लगाउँदा सुदूरपश्चिमका बलर दबाबमा आउनेछन् । 

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)
सुदूरपश्चिम एनपिएलको शीर्ष स्थानमा रहँदा कप्तान दीपेन्द्रसिंहले ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरेका छन् । विराटनगरसँगको अघिल्लो खेलमा बाहेक उनको रणनीति सफल भएको थियो । विराटनगरका विदेशी खेलाडीको उत्कृष्ट ब्याटिङ प्रदर्शनका कारण नै सुदूरपश्चिमले लिग चरणमा एक मात्र खेल गुमाएको हो । यद्यपि, ब्याटिङ गरेको इनिङ्सको योजना सफल भएको थियो । कर्णालीसँगको खेलमा उनले अलराउन्डर खेल देखाए । सो खेलमा उनले ३९ रन बनाउनुका साथै २३ रन खर्चेर चार विकेट हात पारेका थिए । मध्यक्रममा आउने दीपेन्द्रसिंहले आवश्यकता रनरेटअनुसार ब्याटिङ गर्छन् । विराटनगरले दीपेन्द्रसिंहको आक्रामक ब्याटिङ रोक्नुपर्छ । 

ईशान पाण्डे (सुदूरपश्चिम)
अस्ट्रेलियन ब्याट्सम्यान जोस ब्राउन घर फर्किँदा शीर्ष तथा मध्यक्रममा सुदूरपश्चिमका घरेलु खेलाडी ईशानमाथि दबाब हुनेछ । विराटनगरसँगको पहिलो क्वालिफायरअगाडि नै ब्राउन अस्ट्रेलिया फिर्ता भएका हुन् । उनको अनुपस्थितिमा ईशानले ओपनिङ वा दोस्रो विकेटका रूपमा क्रिज आउन सम्भावना छ । यस्तोमा उनले सुदूरपश्चिमलाई पावर प्लेदेखि १० ओभरसम्म उत्कृष्ट सुरुवात दिलाउनु पर्नेछ । बायाँहाते ब्याट्सम्यान ईशानले चालू एनपिएलमा जनकपुरविरुद्ध अर्धशतकीय इनिङ्स खलेका थिए । विराटनगरविरुद्ध उनले ३८ रन जोडे । फर्ममा आइरहेका ईशानले पुन: सुदूरपश्चिमको बलरमाथि आक्रामक बन्ने योजनामा छन् । बलिङ क्रममा उनले चितवनसँगको खेलमा सात रन खर्चेर एक विकेट हात पारेका थिए । 

See More On

सुझावित समाचार