जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा, चारै टोलीको टुंगो लाग्यो

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण
जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा, चारै टोलीको टुंगो लाग्यो

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

तालिकाको पुछारमा रहेको जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा स्थान बनाएको छ। लुम्बिनी पहिलोपटक एनपिएलको प्लेअफमा पुगेको हो। डिफेन्डिङ च्याम्पियन जनकपुर भने समूह चरणबाट माथि बढ्न सकेन।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३३ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा लुम्बिनीले १९ ओभरमा ६ विकेट गुमाएर प्रतियोगितामा चौथो जित निकाल्दै प्लेअफ सुनिश्चित गर्याे।

योसँगै प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ। सुदूरपश्चिम ६ मा ६ खेल जित्दै शीर्ष स्थानमा रहेर क्वालिफायर वान खेल्ने भएको छ। क्वालिफायर्स वानमा सुदूरको प्रतिद्वन्द्वी काठमाडौं र विराटनगरमध्ये एक टोली हुनेछ। काठमाडौंको सात खेलबाट १० अंक छ। दोस्रो स्थानमा रहेको काठमाडौंभन्दा विराटनगर दुई अकंले पछि छ। विराटनगरले ठुलो अन्तरले जित निकाले मात्रै सुदूरसँगको भेट पक्का गर्नेछ। 

लुम्बिनी पनि आठ अंकसहित चौथो स्थानमा रह्यो। सुदूरबाहेक काठमाडौं, लुम्बिनी  र विराटनगरले पहिलोपटक प्लेअफमा स्थान बनाएका हुन्। लिग चरणको २५औँ खेलसँगै पोखरा, चितवन, कर्णाली र जनकपुर लिग चरणबाटै बाहिरिएका छन्। 

लुम्बिनीको यो लगातार तेस्रो जित हो। उसले छैटौँ खेलमा विराटनगरलाई पाँच तथा पाँचौँ खेलमा पोखरालाई तीन विकेटले पराजित गरेको थियो। पहिलो खेलमा भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको हो। यता, टोली दोस्रो खेलमा कर्णालीसँग नाै विकेटले पराजित भएपछि लय गुमायो। तेस्रो खेलमा काठमाडौंसँग २२ रन र चौथो खेलमा सुदूरपश्चिमसँग सात विकेटले पराजित भएको थियो। 

साबिक विजेता जनकपुर भने प्रतियोगितामा खराब प्रदर्शनबाट गुज्रिएको छ। पछिल्लो खेलमा चितवनविरुद्ध ६ विकेटको जित निकाल्दै प्रतियोगिताकै पहिलो जित निकालेको थियो। तर, फेरि टोली छैटौँ खेलमा पराजित भएको छ। अब, जनकपुरले कर्णालीसँग अन्तिम खेल खेल्नेछ। त्यसअघि जनकपुर पहिलो खेलमा काठमाडौंसँग पाँच विकेट, विराटनगरसँग नाै रन, पोखरासँग २५ रन तथा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो। 

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए। ३२ बलमा दुई चौका र एक छक्का हिर्काएका उनलाई मयन यादवले एलबिडब्लू धरापमा पारेका थिए। डार्सी सटले २४ बलमा ३० रन बनाए। जेजे स्मिथले १९ बलमा २१ रनको योगदान गरे। 

निरोसन डिकवेलले १७ रनको योगदान गरेका थिए। यसअघि ओपनर सुमित महर्जन र पाँचौँ नम्बर क्रिजमा आएका सन्दीप जोरा डकआउट भए। सुमितलाई संगिथ कोरी तथा सन्दीपलाई मयनले डक गरेका थिए। 

जनकपुरका लागि कोरीले सर्वाधिक तीन विकेट लिए। मयनले दुई विकेट लिँदा सञ्जय कृष्णमुर्थीको नाममा एक विकेट रह्यो। 

यसअघि लिग चरणको २५औँ खेलमा जनकपुरका लागि संगिथ कोरीले अविजित सर्वाधिक ४५ रन बनाए। ३० वर्षीय श्रीलंकन ब्याटरले ३८ बलमा दुई चौका र एक छक्का हिर्काएका हुन्। उनको एनपिएलमा यो दोस्रो खेल हो। मयन यादवले २३ बलमा अविजित २७ रन बनाए। 

१३.३ ओभरमा ६ विकेट गुमाउँदा जनकपुरले मात्र ८३ रन बनाएको थियो। त्यसपछि संगिथ र मयनले सातौँ विकेटको लागि ३९ बलमा ४९ रनको साझेदारी गर्दै टोलीलाई मध्यम योगफलतर्फ पुर्याएका थिए। 

ओपनर आसिफ शेखले २० रन जोडे। १७ बलमा दुई चौका र एक छक्का हिर्काएका उनलाई शेर मल्लले रुवेन ट्रम्पलमेनबाट क्याच गराएका हुन्। सञ्जय कृष्णमुर्थीले १४ तथा शुक कंसाकारले ११ रनको योगदान गरे। यसअघि पाकिस्तानी ओपनर माज सदाकातले ६ तथा तेस्रो नम्बरमा आएका क्रिजमा पूर्वकप्तान अनिलकुमार शाहले सात रन मात्रै बनाए। 

पहिलोपटक कप्तानी जिम्मेवारी पाएका जान निकोल इटन नै डकआउट भए। उनलाई लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले डकआउट गरे। इटन एलबिडब्लू धरापमा परेका थिए। जनकपुरले पाँच खेलमा तीन कप्तान चयन गरेको छ। पछिल्लो दुई खेलमा कप्तानी गरेका वायन पार्नलीलाई विश्राम दिइएको थियो। सुरुका दुई खेलमा अनिलले कप्तानी गरेका थिए। जनकपुरले लगातार खराब प्रदर्शनपछि ललित राजवंशीलाई दोस्रोपटक पनि बेन्चमै राखेको छ। 

लुम्बिनीका लागि कप्तान रोहित र शेर मल्लले समान दुई विकेट लिएका थिए। जेजे स्मिथ र रुवेनले समान एक विकेट लिँदा चार ओभर बलिङ गरेका रुवेन र तिलक भण्डारीले भने विकेट लिन सकेनन्।  

शनिबार प्रतियोगितामा दुई खेल हुनेछ। विराटनगर र सुदूरपश्चिमबिच बिहान सवा ११ बजे खेल हुँदा चितवन र पोखराबिच दिउँसो साढे ३ बजे खेल हुने तालिका छ।

सुझावित समाचार