सिंगटी हाइड्रोको मुख्य लगानीमा ६१ मोगावाटको नारखोला हाइड्रो इनर्जी जलविद्युत् आयोजना निर्माण कुमारी बैंकको अगुवाइमा वित्तीय ऋण लगानी सम्झौता भएको छ । सोमबार नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले हस्ताक्षर गरेका हुन् ।
मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट आयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो । उक्त आयोजनामा कुमारी बैंकसहित नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्नेछन् ।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ छ । जसमा बैंकको कर्जा नौ अर्ब ६३ करोड र स्वपुँजी तीन अर्ब २१ करोड रहेको छ । सिंगटी हाइड्रोको मुख्य लगानी रहने कम्पनीले जनाएको छ । आयोजनाले तीन वर्षभित्र विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ ।
आयोजनाको हेडरेस टनेल लगभग आठ किलोमिटर हुनेछ भने हेडवर्क्सका संरचना नार्पाभूमि गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत्गृहमा पानी पठाई बिजुली उत्पादन गरिने बताइएको छ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेसनमा जोडिनेछ ।